महोत्तरी– यसअघिको प्रतिनिधिसभा निर्वाचनअगाडि मधेशसँग आफ्नो लभ परेको अभिव्यक्ति दिएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि सोही कुरा दोहोर्याएका छन् । उनले आफ्नो मधेशसँगको लभ निरन्तर रहिरहेको बताएका हुन् ।
यतिमात्र होइन, छठ पर्वको अवसरमा आयोजिक कार्यक्रममा पुगेका प्रचण्डले मधेशको विकासका लागि आफू स्वयं आन्दोलन गर्न तयार रहेको बताएका छन् ।
‘जनकपुर(पिपरा(जलेश्वर(भित्तामोडको बाटोको विषयमा भौतिक पूर्वाधार मन्त्रीसँग आजै मैले कुरा गरेको छु’ प्रचण्डले कार्यक्रममा भने, ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भए पनि मधेशमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु ।’
खासमा प्रचण्डको यो भाषणको अभिव्यक्ति अब हुने उपनिर्वाचन केन्द्रित थियो । उनले यो सडकका लागि आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा एक अर्ब रुपैयाँ विनियोजन गरेको पनि कार्यक्रममा सुनाए । ‘ठाडो आदेशमा त्यति बेला एक अर्ब विनियोजन गरेको थिएँ,’ उनले भने, ‘तर, अहिलेसम्म काम अगाडि बढेको रहेनछ । अब यो सडकको टेन्डर प्रक्रिया ढिला नहोस् भनेर म आफैं अनसन बस्न नपरोस् ।’
यो कार्यक्रम भएको ठाउँ पिपरामा गाउँपालिका अध्यक्षका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । उनले यसलाई नै केन्द्रित गरेर कार्यक्रममा भने, ‘यसअघि पनि मैले मधेशसँग लभ परेको छ भनेको थिएँ, यो कुरा अहिले पनि दोहोर्याउँछु, अझै पनि मेरो मधेशसँगको त्यो प्रेम जारी छ ।’
कार्यक्रममा अन्य नेकपा नेताहरुले पनि आफ्नो पार्टीलाई मतदान गर्न अनुरोध गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।