म्यानमारमा पाँच कविलाई जेल हालियो

एजेन्सी– म्यानमारमा एउटा व्यंग्य कविता समूहका पाँच सदस्यलाई जेलमा हालिएको छ  । उनीहरुले देशको सेनामाथि व्यंग्य गरेको आरोप लागेको छ । 

पिकक जेनेरेसन नामको यो ग्रुपका पाँच सदस्यलाई अप्रिलमा गिरफ्तार गरिएको थियो । उनीहरुलाई थाङ्ग्यातको आरोपमा पक्राउ गरिएको थियो । थाङ्ग्यात मनमारको कलाको एउटा पुरानो स्वरुप हो जसले शब्द, कविता, हाँस्यव्यंग्य र नाचलाई समेट्छ । 

यी पाँच कविले देशका सेनालाई व्यंग्य गरेको भन्दै एक वर्षे जेल सजाय सुनाइएको छ । तीनजनालाई त फेसबुकमा आफ्नो पर्फमेन्स लाइभ गरेको आरोप लगाउँदै थप सजाय सुनाइएको छ ।

के खिन तुन, जे यार ल्विन, पाइङ प्यो मिन, पाइङ ये थु र ज लिन ह्तुतलाई त्यहाँको संविधानको धारा ५०५ (ए) अनुसार सजाय सुनाइएको हो । यो धाराले त्यहाँ सार्वजनिक रुपमा बोल्न प्रतिबन्ध लगाएको छ ।

म्यानमारको पूरानो राजधानी र सबैभन्दा ठूलो सहर याङ्गुनमा यो सजाय एक अदालतले सुनाएको हो । 

उनीहरुले एक कार्यक्रममा त्यहाँको सैनिकले संसदमा शक्ति बाँडफाँड गरेको विषयमा व्यंग्य गरेका थिए । अनि उनीहरुले दर्शकलाई कुकुरले सैन्य पोशाक लगाएको तस्वीर देखाएका थिए ।



तर, पाँचै जनाले आफूहरुले गलत गरेको कुरा अस्वीकार गरेका छन् ।

पछिल्लो समय म्यानमार सरकारले आफ्नो आलोचना गर्नेहरुलाई जेल सजाय सुनाइरहेको छ । यसमा त्यहाँका पत्रकार, कलाकार तथा अन्य सामान्य व्यक्तिहरु पनि परेका छन् । 



नोबेल शान्ति पुरस्कार विजेता आङ सान सु कीले नेतृत्व गरिरहेको अहिलेको सरकारको आलोचना विश्वभर हुन थालेको छ । एम्नेस्टी इन्टरनेसनले त म्यानमारमा वाक स्वतन्त्रताको अवस्था निकै कमजोर रहेको रिपोर्ट प्रकाशन गर्न थालेको छ ।

  • प्रकाशित मिति : कात्तिक १३, २०७६ बुधबार २२:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया