Fri, 22 Nov, 2019


जो बाटोमा भेटिएको घाइते कुकुरलाई पनि आफ्नो बेडरुम पुर्याउँछन्
फरकधार / कात्तिक १५, २०७६

२०७२ साल वैशाखको भूकम्प । यो विनाशकारी भूकम्पले प्रत्येक नेपालीको मन हल्लायो, अहिले पनि भूकम्प आयो कि सबैले त्यो दिन सम्झिहाल्छन् ।



तर, दुर्गानाथ दाहाललाई त्यो दिन सम्झिन भूकम्प आउनु पर्दैन । किनकि उनको जीवनलाई यू टर्न गराइदिएको कुनै दिन छ भने त्यो त्यही वैशाख १२ गते हो । 

त्यो दिन दुर्गानाथ बौद्धमा आफ्नो घरको चौथो तलामा थिए । घर हल्लिन थाल्यो । दुर्गानाथलाई कहाँ जनो कसो गर्ने कुनै पत्तो भएन । उनी झट्ट आफ्नो घरको छतमा पुगे । 

अनि हेरे कापिरहेको काठमाडौं । 

‘ओहो, त्यो दिन सम्झिँदा अहिले पनि मन काप्छ,’ केही दिनअघि दुर्गानाथले बानेश्वरको एउटा भेटमा बताए । 

 

०००

खासमा दुर्गानाथ व्यापारी हुन् । काभ्रेको नालमा जन्मिएका दुर्गानाथले आफूलाई मात्र होइन, आफ्ना सन्ततीलाई पनि पुग्ने केही सम्पत्ति जोडिसकेका छन् । ‘त्यस्तो धेरै होइन,’ उनले भने, ‘मनको सन्तोक भयो भने थोरै पनि धेरै जस्तो लाग्दो रहेछ ।’

दुर्गानाथमा व्यापारको यो बिऊ सानैदेखि देखिएको हो । भनिन्छ नि, हुने बिरुवाको चिल्लो पात । दुर्गानाथ पनि सानैमा व्यापारमा लागे । उनी स्कुल पढ्न जाँदा बाटोमा एउटा पसल थियो । त्यहाँ चकलेट किन्थे दुर्गानाथ, अनि स्कुलमा लगेर बेच्थे, दुई चार सुका कमाउँथे । 

‘घरमा फलेका फलफूल पनि बाटोमा लैजाने र बेच्ने गर्थेँ,’ दुर्गानाथ फिसिक्क हाँसे, ‘सानै देखि पैसा चलाउन थालिसकेको थिएँ ।’

त्यही पैसा चलाउने ‘आदत’ पछिसम्म रह्यो दुर्गानाथमा । पछिसम्म अर्थात् २०७२ साल वैशाख १२ गतेसम्म । 

काभ्रेको नालाबाट काठमाडौं आएपछि त्यो १२ वैशाखसम्म दुर्गानाथले अनेक काम गरे । कहिले गाउँको तरकारी ल्याएर कालिमाटीमा बेचे, कहिले कालिमाटीबाट तरकारी किनेर ल्याएर बानेश्वरमा बेचे । फलफूलको व्यापार राम्रो देखेपछि कमलपोखरीमा फलफूल पसल चलाए, बौद्धमा कपडाको होलसेल चलाए । 

नालादेखि कालिमाटीसम्म बौद्धदेखि बानेश्वर, चावाहिलसम्म आफ्नो छुट्टै संसार बनाइसकेका थिए, दुर्गानाथले । अनि यही संसारलाई फराकिलो बनाउन उनी कहिले चीन पुगे त कहिले भारत ।

‘पैसाको कारोबार राम्रै हुन्थ्यो, दुई दुई महिनामा ५०÷६० लाख त विदेशीलाई मात्र बुझाउँथे,’ उनले विदेशबाट इम्पोर्टको काम गर्दाको क्षण सम्झिए, ‘लाखौँ कारोबार भइरहेको थियो । तर, त्यो भूकम्पले मलाई परिवर्तन गरिदियो ।’

खासमा भूकम्पले दुर्गानाथलाई परिवर्तन गरेको होइन । उनलाई त उनका बाबुको सपनाको स्मरण गराएको मात्र हो । ‘बुबा पैसा कमाउने भन्दा पनि समाजसेवामा ध्यान दिनु पर्छ भन्नुहुन्थ्यो, त्यो भूकम्पपछि मैले आफूलाई परिवर्तन गर्न पाएँ ।’

०००

कसैले दुर्गानाथलाई त्यो भूकम्पले एउटा छुट्टै सनक चढाइदिएको पनि भन्छन् । किनकि उनले आफ्नो व्यापार सबै छाडेर अब असाह्य मानिसहरु र जनावरको सेवा गर्ने धोको पालेका छन् । 

यो केही पहिलेको कुरा हो । ‘म न्युरोडबाट घर फर्किँदै थिएँ । बाटोमा रानीपोखरीको छेवैमा मान्छेहरु घुँइचो लगाएर भित्र हेरिरहेका थिए,’ दुर्गानाथले सम्झिए, ‘म पनि बाटो छेवैमा बाइक रोकेर ती मान्छेहरुको हुलमा मिसिएँ ।’

खासमा रानी पोखरीको पानी सुकिसकेको थियो । दुर्गानाथले अरुले जस्तै त्यो दिन रानीपोखरीमा मानिसहरुले माछा छटपटाइरहेको देखे । हिलोमा माछाहरु छटपटाएका मात्र थिएनन्, केही कुकुर र कागले पनि ती माछालाई झम्टिरहेका थिए । 

‘मेरो मन पग्लिहाल्यो,’ दुर्गानाथले भने, ‘म हिलोमा गएर छटपटाइरहेका माछा बचाउन चाहन्थेँ ।’

रानी पोखरी निर्माण कार्य भइरहेको थियो । दुर्गानाथले त्यति बेला नै त्यहाँ काम गरिरहेकाहरुलाई अफर गरे– दुई ट्याङ्कर पानी ल्याऔँ, माछालाई पानी हालौँ । 

तर, उनको आग्रह त्यहाँ मानिएन । घर जान हिँडेका दुर्गानाथले बाटो मोडे, काठमाडौं महानगरपालिकाको कार्यालय पुगे । रानी पोखरी निर्माण भइरहेकाले त्यहाँ पानी हाल्न महानगरका कर्मचारी पनि तयार भएनन् । बरु उल्टै त्यहाँ उनले जवाफ पाए, ‘अहिले यति धेरै मान्छे दिनदिनै मरिरहेका छन्, के माछाको चिन्ता लिएर यस्तो गर्नुभएको ?’

तर, एकपटक पग्लिसकेको दुर्गानाथको मनले मानेन । 

उनले नै नयाँ आइडिया निकाले, त्यहाँका माछा कमलपोखरी सार्ने । 

अनि यही आइडियाले काम गर्यो । दुर्गानाथको विशेष पहलमा रानीपोखरीका झन्डै २० हजार माछा कमलपोखरी सारियो । त्यसरी माछा सार्न पनि हिलोमा आफैं अगाडि सरे, दुर्गानाथ । 

‘जुन दिन माछा कमलपोखरी सारियो,’ दुर्गानाथले भने, ‘त्यो दिन म सन्तोकले सुतेँ ।’

०००

यो सहर निठुर छ । बाटोमा बसेर साँझ एक छाक खानका लागि हात फैलाइरहेकाहरुलाई अधिकांशले बेवास्ता गर्छन् । सहरको यो निठुरीपनालाई दुर्गानाथले राम्रोसँग बुझेका छन् । तर, उनी यसबाट अलग हुन चाहन्छन् । 

त्यसैले उनी जहाँ कुनै पशु समस्यामा परेको थाहा पाउँछन्, त्यहाँ पुगिहाल्छन् । 

त्यस्तै एउटा घटना उनको सम्झनामा पनि अहिले ताजै छ । घटना भक्तपुरको हो । एकजना कृषकले आफ्नो बाली एउटा साँढेले खाएको भन्दै रिसको झोँकमा खुट्टामा ‘बन्चरो’ प्रहार गरेछन् । 

दुर्गानाथलाई कसैले यो कुरा सुनायो । सुन्ने वित्तिकै उनी भक्तपुर पुगे । भेटनेरी डाक्टर लिएर साढेँको उपचारमा जुटेका दुर्गानाथले महसुस गरे, पशुमा पनि मान्छेको जस्तै मन हुन्छ । 

‘हामीले उपचार गर्दा त्यो साँढेले सहजै खुट्टा दियो, उपचार गरेर फर्किँदा हामी बाटो नमोडिएसम्म साँढे हामीलाई हेरिरहन्थ्यो,’ अनुहार उज्यालो बनाउँदै दुर्गानाथले सुनाए, ‘मानिसमा मात्र होइन, पशुमा पनि मन हुँदो रहेछ भन्ने त्यति बेला बुझेँ ।’ पछि यो साँढेलाई दुर्गानाथले पाशुपत क्षेत्रमा ल्याएर राखिदिए । त्यहाँ नन्दी सेवा आश्रमममा दुर्गानाथले साँढे दिएका थिए ।

त्यो साँढेको यस्तो ‘मानवीय’ रुप देखेका दुर्गानाथले बरु मानिसकै ‘अमानवीय’ रुप देखेका छन् । त्यो पनि यही काठमाडौं सहरमा । 

‘राष्ट्रपति भवनभन्दा ठ्याक्कै पछाडि,’ दुर्गानाथले भने, ‘दुई जना बच्चालाई हात खुट्टा बाँधेर राखिएको छ ।’ यो दुर्गानाथलाई आएको फोनमा भनिएको थियो ।

फोनमा यो कुरा सुनिसकेपछि दुर्गानाथको मन कटक्क खायो । उनी केही संस्थालाई खबर गरेर ती दुई बालक भएको ठाउँमा पुगे । त्यहाँ पुग्दा उनले जे देखे, त्यसले अहिले पनि उनको मन कटक्क खान्छ । 

त्यहाँ एक बच्चालाई घरनजिकैको रुखमा बाँधेर राखिएको थियो, अर्कोलाई पिजँडामा । 

घरमा कोही पनि थिएनन् । दुर्गानाथले प्रहरीलाई फोन गरे । प्रहरीले भोलिपल्ट ती दुई बालकको उद्धार गर्यो । 

खासमा ती दुई बालक अटिजम भएका रहेछन् । उनीहरुका बाबुआमा अर्काको घरमा काम गर्ने भएकाले उनीहरुलाई हुर्काउन समस्या परिरहेको रहेछ । 

‘ती बाबुआमाले उनीहरुलाई अटिजम भएका बालबालिका स्याहार्ने संस्थामा पनि लग्ने त रहेछन्,’ दुर्गानाथले भने, ‘तर, ती संस्थाले फर्काइदिने रहेछन् । हामीले पछि उनीहरुलाई मानव सेवा आश्रममा राख्यौँ ।’

आफ्नै बाबुआमाले यसरी दुई बालकलाई बाँधेको देखेका दुर्गानाथले चाहिँ आफूले उद्धार गरेको एउटा कागलाई कहिल्यै बिर्सिँदैनन् । 

‘नक्सालको बाटो हुँदै घर जाँदै थिएँ,’ उनले भने, ‘बाटोमा एउटा काग करेन्ट लागेर छटपटाइरहेको थियो । मानिसहरु कागलाई ओल्टाएर यता र उता छोडेर जाँदै थिए ।’

दुर्गानाथले त्यो कागलाई समातेर आफ्नो घर पुर्याए । आफूले उपचार गरिदिए । काग केही दिनमा ठिक भयो र उड्यो । तर, दुर्गानाथलाई भेट्न काग बारम्बार घर फर्किएर आउँथ्यो । ‘पछिसम्म पनि आइरह्यो,’ दुर्गानाथले भने, ‘मसँग खेल्न खोज्थ्यो, मेरो हातबाट नै केही खान खोज्थ्यो ।’

कागमात्र होइन, दुर्गानाथले बाटोमा भेटिएका कति कुकुरलाई घरसम्म लगेका छन्, आफ्नै बेडरुममा पुर्याएका छन् । अनि ती कुकुरको उपचार गरेका छन् ।

अहिले दुर्गानाथले आफ्नै आश्रम बनाएका छन्, नवजीवन परोपकार समाज । यो तिहारमा उनले आश्रमको कम्पाउन्डमा लगाएको फूल बेचेर मात्र ५० हजार कमाए । ‘त्यो संस्थाकै पैसा हो,’ दुर्गानाथले भने, ‘आसह्य वृद्धवृद्धालाई ल्याएर हामीले आश्रममा संरक्षण गरिरहेका छौँ ।’

दुर्गानाथ आजभोलि प्रत्येक दिन बौद्धमा घरको छतमा जब पुग्छन्, उनी परपर हेर्छन्, त्यही काग फर्किएर आउँछ कि भनेर । अनि चाहन्छन्, कागले सुसमाचार ल्याइदिओस्– यो संसारमा सबैको मनमा मानवीयता पलाइसक्यो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्