काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताएका छन् । आइतबार कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि कांग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उनको भनाइ थियो । पार्टीभित्रको आन्तरिक कलहका विषयमा कार्यकर्ताको जिज्ञासापछि सभापति देउवाले भने,‘उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।’
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र कांग्रेस दुईटा पार्टीजस्तो भएका कारण हार बेहोर्नुपरेको भन्दै उनले उपनिर्वाचनमा यस्तो भए कारबाही गरिने चेतावनी दिए । अहिलेको निर्वाचनमा सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नुपर्ने समयमा कांग्रेसभित्र गुट–उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको देउवाकाे भनाइ थियाे ।
स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको बताउँदै उनले संघ र प्रदेशमा हुने निर्वाचनका लागि आइतबार साँझ बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुंगाे लगाउने बताए । उम्मेदवार छान्दा जनतामाझ लोकप्रिय नेतालाई उम्मेदवार बनाउने उनको जिकिर थियो ।
कांग्रेसको जनमत अहिले पनि नघटेको बताउँदै उनले जनमतको कदर हुने गरी काम गरिने विश्वास व्यक्त गरे । भ्रातृ संगठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने सो अवसरमा उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।