बयानमा महराका सुरक्षा गार्डले के भने ?

बलात्कार प्रयास गरेको आरोपमा साढे सात वर्ष कैद माग दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्रसहित पेश गरिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध भएकाे थुनछेक बहस सकिएको छैन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन राज पाण्डेको इजलासमा आइतबार सरकार पक्षबाट ४ जना सरकारी वकिलले बहस गरेका थिए ।

महराको पक्षबाट वरिष्ठ अधिवक्ता लभ मैनाली र अधिवक्ता भोजराज आचार्यले बहस गरेका थिए । महराको पक्षबाट बहस गर्न ५ जना वरिष्ठ अधिवक्तासहित ३५ जनाले वकालत गरेका थिए । महराको पक्षबाट बहस बाँकी भएकाले सोमबार पनि थुनछेक बहस हुने छ । उनले संसद सचिवालयकी एक महिला कर्मचारी महिलामाथि बलात्कारकाे प्रयास गरेकाे प्रहरीमा जाहेरी परेकाे थियाे । बहस सकिएपछि मात्र महरालाई अदालतले साधारण तारिख, धरौटी वा थुनामा राख्ने आदेश दिनेछ ।

महरालाई प्रहरीले गत असाेज १९ गते सभामुखकाे सरकारी निवास बालुवाटारबाट पक्राउ गरेकाे थियाे । उनले गत असाेज १२ गते साँझ महिलामाथि बलात्कारकाे प्रयास गरेका थिए । साेही दिन महरासँग गएका सुरक्षा गार्ड प्रहरी हवाल्दार विष्णु बहादुर थापाले सरकारी वकिललाई दिएकाे बयान :

मिति २०७४।१२।२० गतेदेखि म निवर्तमान सभामुख प्रतिवादी कृष्ण बहादुर महराको अगुवा गाडीमा सुरक्षाको लागि कार्यरत छु । मिति २०७६।०६।१२ गतेका दिन बिहान अन्दाजी १०:०० बजे सभामुखसहित संसद भवन नयाँबानेश्वरमा गई त्यहाँको कार्यक्रममा पश्चात सिंहदरबार गएर अन्दाजी १६:०० (४) बजे तिर पुनः सभामुख निवासमा फिर्ता आएका हाैँ । त्यसपछि निवर्तमान सभामुख प्रतिवादी कृष्ण बहादुर महराले आज कही कतै जानु पर्ने छैन भनेकाले निजको व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा खटिनु भएका प्रहरी नायव निरीक्षक किशोर आचार्य त्यहाँबाट आफ्नो घर जानु भएको हो । सोही दिनको साँझ अन्दानी १८:३० बजे तिर प्रतिवादी कृष्ण बहादुर महराले एक छिन बाहिर जानु पर्ने भयो नेपाल प्रहरीबाट खटिएका एक जना र नेपाली सेनाबाट खटिएका एक जना सुरक्षाकर्मी मसँग हिड्नुहोस भनेकाले म, नेपाली सेनाका जमदार काजीमान राना मगर (९८६६...) र चालक स प्र ह श्यामहरि आचार्य (९८४१...) भई बा २ झ २८६३ नं. को सेतो कालो रंगको स्कारपियो गाडीमा प्रतिवादी कृष्ण बहादुर महरालाई लिई सभामुख निवासबाट बाहिर निस्केका हाैँ ।

त्यहाँबाट निस्कदा हामी सबै जना सादा पोशाकमा थियौँ । मैले र नेपाली सेनाको जमदारले पेस्तोल बोकेका थियौँ । गाडीमा बस्दा नेपाली सेनाको जमदार चालकको बायाँतर्फ रहेको अगाडिको सिटमा, निवर्तमान सभामुख प्रतिवादी कृष्ण बहादुर महरा निजभन्दा पछाडि र म निज प्रतिवादी बसेको सिटमा चालकभन्दा पछाडि बसेकाे थिएँ । निज प्रतिवादी कृष्ण बहादुर महरासँग के, कहाँ जाने भनी सोध्दा कोटेश्वर तिर जाने भन्नु भएकाे थियो । रातको समय भएकाले निजले कालो कोट लगाएको जस्तो देखिन्थ्यो । निजले कस्तो खालको जुत्ता लगाउनु भएको र चस्मा लगाए-नलगाएको सम्बन्धमा मैले याद गरिन । निजले मादक पदार्थ सेवन गरेको नगरेको र मादक पदार्थ रहेको बोत्तल बोकेको नबोकेको सम्बन्धमा मलाई याद भएन । 

हामीहरु सभामुख निवास बालुवाटारबाट हिडेको करिव आधा घण्टापछाडि काठमाडौंको तिनकुने चोकमा पुगी त्यहाँबाट दाहिनेतर्फको भित्री बाटो हुँदै भित्र तिर गएका हाैँ । भित्र गई सकेपछि केही पर पुगेपछि निज प्रतिवादी कृष्ण बहादुर महरा र नेपाली सेनाका जमदार गाडीबाट ओर्लेका थिए । म उक्त गाडीमा सोभन्दा अगाडि नचढेको हुँदा सो गाडीको ढोकाको लक खोल्दा नखोलिएकाले गाडीभित्रै थिएँ । त्यसपछि उक्त गाडी केही पर लगी फर्काएर निजहरु ओर्लेको स्थानमा आइपुग्दा नेपाली सेनाका जमदार काजीमान राना मगर सोही स्थानमा थिए । निजलाई सभामुख के कता जानु भयो ? भनी सोध्दा भित्र तिर जान भएको छ । आधा घण्टापछाडि आउछु भन्नु भएको छ भनी बताएका थिए । त्यसको करिब १ घण्टा २५ मिनेट पछाडि निज प्रतिवादी कृष्ण बहादुर महरा उक्त स्थानमा फर्की आई गाडीमा बसी हामीहरु त्यहाँबाट फर्केर सभामुख निवासमा आई पुगेका हौँ । 



हामीहरु फर्केर आइसकेपछि मैले निजको व्यक्तिगत सुरक्षा अधिकृतको रुपमा खटिएका प्रहरी नायव निरीक्षक डबल बहादुर बम र प्रहरी नायव निरीक्षक किशोर आचार्यलाई फोन गरी हामीहरु बाहिरबाट सभामुख निवास आइपुग्यौँ भनी रिपोर्ट गरेको हुँ । उक्त मितिभन्दा अगाडि म उक्त स्थानमा गएको थिइन । उल्लिखित मितिको राति ऐ अन्दाजी ८:३० बजेको समयमा निज प्रतिवादी जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.३२ तिनकुने सुविधानगरस्थित पीडितको कोठामा गई जवरजस्ती करणी गर्न खोजेको भन्ने कुरा मिति २०७६।०६।१३ गते बेलुका साँझतिर सभामुख निवासमा मान्छेहरुको धेरै भिडभाड भएपछि मात्र थाहा पाएको हुँ। पछि फेसबुक हेर्दा विभिन्न सामाजिक सन्जालमा उक्त कुराको समाचार आएको थियो । पीडित वृत नयाँबानेश्वर २६(३०), ०७६।०७७ लाई मैले संसद सचिवालय सिंहदरबारभित्रै देखेको हुँ । निज संसद सचिवालयभित्र रहने स्वास्थ्य शाखामा कार्यरत नर्स भन्ने कुरा पछि मात्र थाहा पाएका हुँ । निज प्रतिवादी वारदात मितिभन्दा अगावै पीडितको कोठामा जाने आउने गरेको सम्बन्धमा मलाई थाहा छैन ।




  • प्रकाशित मिति : कात्तिक १७, २०७६ आइतबार १८:५९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया