काभ्रेमा मृत दम्पत्तिकाे शव फेला

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ८ तल्लो हटियामा एक दम्पती घरभित्र मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार नमोबुद्ध नगरपालिका वडा नं. ८ तल्लो हटियामा ५५ वर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० वर्षकी रुकुमाया श्रेष्ठको घरभित्र नै शव फेला परेको हो ।

मंगलवार राती भएको घटना आज बिहान थाहा पाएपछि अहिले प्रहरीले सो घरमा कसैलाई पस्न दिएको छैन । घटनास्थलमा बियरको बोतल फुटेको अवस्थामा भेटिएको र मृतकको शरीरमा धारितो हतियार प्रहार भएको जस्तो देखिएको प्रहरी प्रमुख सापकोटाले जानकारी दिए ।  अनुसन्धान गर्न माथिबाट तालिम प्राप्त कुकुर मगाएको उनले बताए । 

घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने सापकोटाको भनाइ छ ।  सिरकले छोपेको अवस्थामा क्षतबिक्षत शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा बियरका बोतल, गाँजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घरमा नै किराना पसल सञ्चालन गर्दै आएका दम्पतीले मदिरा समेत बिक्रि गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख सापकोटाले बताए । 





  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार १३:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया