सरकार हिंसात्मक गतिविधि राेक्न सफल : गृहमन्त्री थापा

बुटवल– गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताएका छन् । 

गृह मन्त्रालय र प्रदेश नंं. ५, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूल रुपमा समाधान गरिसकिएको बताए । 

गृहमन्त्री थापाले भने, 'देशमा शान्ति सुव्यवस्था र आर्थिक प्रगतिको अवस्था सकारात्मक रुपमा अघि बढेको छ ।' 

पछिल्लो समय कान'न र संघीयता कार्यान्वयनका सन्दर्भमा सरकारले महत्वपूर्ण रुपमा ठोस कदम उठाएको उल्लेख गर्दै उनले नेपाल प्रहरीको संरचनालाई संघीय संरचनाअनुरुप लैजाने कार्यमा सरकारले छिट्टै नै कानुनी प्रक्रिया पूरा गरेर प्रदेशमा प्रदेश प्रहरीको संरचना स्थापना गर्ने गृहकार्य गरिरहेको जानकारी दिए । 

गृहमन्त्री थापाले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउँदै लगेको बताउँदै चिनियाँ राष्ट्रपतिको झण्डै दुई दशकपछिको नेपाल भ्रमणले नेपालको विकास र समृद्धिका लागि कोसेढुंगा साबित हुने विश्वास व्यक्त गरे । 

दुई देशबीच धेरै विषयमा सहकार्य र सम्झौता भएको उल्लेख गर्दै उनले यसबाट नेपालको विकास र समृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए । गृहमन्त्री थापाले मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख रहेको बताउँदै सरकारले अगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ८ प्रतिशत भन्दामाथि पुर्याउने लक्ष्य राखेको उल्लेख गरे । 



आगामी चार वर्षभित्रमा दुई अंकको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नेतर्फ सरकार सकारात्मक दिशामा अघि बढिरहेको पनि उनले बताए । 

सोमबारदेखि सुरु भएको प्रदेशस्तरीय गोष्ठीमा आज गृहमन्त्री थापासहित मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखलगायत सहभागी भएका छन् ।



यस्तै गाष्ठीमा प्रदेश नंं. ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता छ । 

  • प्रकाशित मिति : कात्तिक १९, २०७६ मंगलबार १६:९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया