अब मर्निङ वाक नगरौँ

भारतको राजधानी नयाँ दिल्ली कति प्रदुषित भएको छ भने त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले भनिसकेका छन्– दिल्ली ग्यास च्याम्बरजस्तो लागिरहेको छ।

दिल्लीमा प्रदुषण जति बढेको छ, त्यसले त्यहाँ आपतकालीन अवस्था आइसकेको छ । त्यहाँको सरकारले पब्लिक हेल्थ इमरजेन्सी लगाइसकेको छ । विद्यालयहरु बन्द भएका छन, सर्वसाधरणलाई सकेसम्म घरबाहिर नआउन अनुरोध गरिएको छ । सवारीलाई व्यवस्थापन गर्न जोर बिजोर प्रणाली लगाइएको छ । 

भारतमा प्रदुषण बढिरहने तर नेपाल अछुतो हुन्छ भन्ने हुँदैन । भारतमा बढेको प्रदुषणको असर नेपालमा पनि देखिन सक्ने वातावरणविद्हरुले बताइरहेका छन् । काठमाडौंमा धुँवा धुलो र वायु प्रदुषणको जोखिम त छँदै छ । काठमाडौंमा अहिले जस्तो अवस्था छ, त्यस्तै रहिरहने हो भने काठमाडौंको वायुमन्डल पनि दिल्लीको जस्तै प्रदुषित भइरहन्छ । यसका केही असर अहिले पनि देखिन थालिसकेका छन् । 

त्यसैले हामीले हाम्रो स्वास्थ्यका लागि यस विषयमा चिन्तित हुनु पर्ने समय आइसकेको छ । दीर्घकालीन रुपमा यस्ता समस्याको समाधान सरकारले खोज्नु पर्ने हुन्छ । वायु प्रदुषण वा प्रदुषण खासमा राजनीतिक मुद्दा नै हो । यसको राजनीतिसँग पनि प्रत्यक्ष असर हुन्छ । तर, तत्कालका लागि हामीले के गर्ने त ? 

यसका लागि केही उपाय तत्काल अवलम्बन गरिहाल्नु पर्ने हुन्छ । 

 



मर्निङ वाक बन्द गरौँ

वायु प्रदुषणका कारण विहानपख हामीले फेर्ने हावा झन् बढी विषालु हुन्छ । अनि विहानपख हाम्रो आँखाले नदेखिने धुँवा र धुलोको कण जमिनको सतहमा रहिरहेका हुन्छन् । त्यस्ता कणहरु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन् । त्यसैले अहिले मर्निङ वाकमा जानु आफूलाई झन् ठूलो समस्यामा घेर्नु हो । यसबाट बच्न हामीले सबैभन्दा पहिले अपनाउन सकिने उपाय भनेको मर्निङ वाक बन्द गर्नु हो । मर्निङ वाक तत्काल बन्द गरौँ ।



 

बच्चाहरुलाई बाहिर नलैजाऔँ

युवा वा वयस्कभन्दा वायु प्रदुषणका कारण सबैभन्दा बढी असर बच्चाहरुमा पर्छ । उनीहरुका संवेदनशील अंग मुटु, आँखा, नाक राम्रोसँग विकसित भइसकेका हुँदैनन् । अनि उनीहरुलाई प्रदुषणका कारण छिट्टै धेरै रोगले समात्न सक्छ । उनीहरुलाई इन्फेक्सन हुने समस्या पनि बढी हुन्छ । ती इन्फेक्सन निकै घातक हुन्छन् । त्यसैले बच्चाहरुलाई विहान वा बेलुका कुनै पनि समयमा बाहिर लैजानबाट रोक्नु पर्ने हुन्छ । 

 

मास्क प्रयोग गरौँ

हामीले नाङ्गो आँखाले हेर्दा हामीले फेरिरहेको हावमा कुनै धुँवा वा धुलोका कण नदेखौँला । हामीले ब्याक्टेरियाहरु पनि देख्न सक्दैनौँ । तर, हामीले फेरिरहेको हावा निकै विषालू हुनसक्छ । त्यसैले हामीले घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क प्रयोग गर्नु पर्ने हुन्छ । हो, मास्क लगाउँदैमा यस्तो प्रदुषण वा विषालू हावाबाट बच्न सकिँदैन तर यसको असर कम गर्न सकिन्छ । सरुवा रोगबाट बच्न पनि यसले सहयोग गर्न सक्छ । 

 

झ्याल ढोका बन्द गरेर बसौँ

वायु प्रदुषणबाट बच्न हामीले घरमा एयर प्युरिफायर पनि राख्न सक्छौँ । तर, यो अहिले नै सबैलाई सम्भव पनि हुँदैन । यसका लागि अब हामीले लिन मिल्ने सावधानी भनेको घर, भवन, स्कुल तथा अफिसका आवश्य पर्ने ढोका र झ्यालहरु मात्र खोल्नु हो । 

अर्को कुरा हामीले घर वरपर वा कतै पनि प्लास्टिक जलाउन छोड्नु पर्छ । प्लास्टिक जथभावी जलाउने हाम्रो बानीमा हामीले परिवर्तन ल्याउन जरुरी छ । 

 

सवारीसाधनको नियमित सर्भिसिङ गरौँ 

हाम्रो जीवनका ससाना कुराहरुले पनि हाम्रो वातावरणमा ठूलो असर परिरहेको हुन्छ । त्यसैले हामीले वातावरण प्रदुषण न्यूनिकरण गर्न के गर्नु पर्छ भन्ने कुरामा सचेत हुन जरुरी छ । आफूले प्रयोग गर्ने सवारीसाधनको नियमित सर्भिसिङ पनि यसको एउटा उदाहरण हुनसक्छ । सवारीसाधनलाई फिट राख्दा हाम्रो वातावरणमा प्रदुषण कम हुने भएकाले यसमा सचेत हुन जरुरी छ ।

(कुराकानीमा आधारित)
 

  • प्रकाशित मिति : कात्तिक २०, २०७६ बुधबार १३:५६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया