फिल्म किन पढ्ने ?

काठमाडौं– मलामी, सुनगाभा जस्ता चर्चित फिल्म निर्देशन गरेका निर्देशक सुवर्ण थापाले फिल्म अध्ययनकै लागि फ्रान्समा झन्डै १७ वर्ष बिताए । अहिले उनी नेपाल फर्किएर आएका छन्, यहाँ नै केही गर्ने सोच बोकेर । 

अनि पछिल्लो समय उनी कान्तिपुर फिल्म एकेडेमीमा एकेडेमिक डाइरेक्टरको भूमिकामा छन् । र, त्यहाँ उनले फिल्म अध्यापन गराउन थालेका छन् । लामो समय फिल्म अध्ययन गरेका सुवर्ण थापालाई विश्वास लाग्छ, फिल्म जति सेटमा वा सुटिङमा पर्दामा उतारिने विषय हो, त्यहाँभन्दा बढी कक्षामा सिक्ने विषय हो । 

तर, नेपाली समाज यो कुरा मान्न हत्तपत्त तयार हुँदैन । ‘हो, फिल्म पनि पढ्ने विषय हो र भन्ने लाग्न सक्छ,’ सुवर्णले आफ्नो निधार खुम्च्याउँदै भने, ‘तर, जसरी डाक्टर बन्न पढ्नु पर्छ, इन्जिनियर बन्न पढ्नु पर्छ, शिक्षक बन्न पढ्नु पर्छ, त्यसरी नै फिल्ममा अभिनय गर्न होस् या फिल्मकै अन्य क्षेत्रमा काम गर्न किन नहोस्, पढ्नै पर्छ ।’

‘पढ्नै पर्छ,’ सुवर्णले अझ फोकस गरे, ‘अभिनय गर्न जो कोहीलाई आउन सक्छ, तर त्यसलाई पनि पढ्ने हो भने सुनमा सुगन्ध थपिन्छ ।’

कुरा गर्दागर्दै सुवर्ण उदाहरण दिए, हरिवंश आचार्यको । हरिवंश आचार्यको अभिनय अन्य नेपालीहरुलाई मन परेजस्तै सुवर्णलाई पनि मन पर्छ । अझ उनी फ्रान्स जानुभन्दा पहिले हरिवंश आचार्यको अभिनयको बढी प्रशंसक थिए । जब उनी फ्रान्स पुगे, अभिनय र फिल्मको टेक्निकल विषयमा ज्ञान लिएर आए, त्यसपछि उनलाई लाग्न थाल्यो– हरिवंश दाइको अभिनयलाई प्राविधिक रुपमा परिस्कृत गर्ने ठाउँ मनग्य छन् । 

‘अभिनय नपढी त उहाँहरुले त्यति राम्रो गर्नुहुन्छ,’ सुवर्णले भने, ‘अभिनय नै पढ्न पाएको भए उहाँहरुले अझ कति राम्रो गर्नु हुँदो हो ?’



उनी कक्षामा गएर एकेडिमक रुपमै फिल्म पढ्दा खासमा एउटा युवा वा मानिसमा आगोको झिल्को जोडिनेमा विश्वास गर्छन् । ‘अभिनय र फिल्म मेकिङ वा फिल्मकै भोको भएको मानिस खासमा एउटा कोइला हो,’ सुवर्णले भने, ‘त्यो कोइलामा आगोको झिल्को जोडिँदिँदा वरपर उज्यालो हुन्छ । यसले फिल्ममा इन्ट्रेस्ट भएको व्यक्तिको करिअर अनि बल्ल उज्ज्वल हुन्छ ।’



अनि बल्ल नेपाली फिल्म अन्तर्राष्ट्रिय एरिनामा पुग्ने विश्वास सुवर्णको छ । 

‘नत्र ओस्करमा नेपाली फिल्म किन पुगेन भनेर हल्ला गरिरहनु,’ सुवर्णले भने, ‘अरु देशका सानातिना प्लेटफर्ममा फिल्म पुग्यो भनेर हौसिनु वा त्यसलाई प्रचार गरेर अगाडि बढ्न खोज्नुको कुनै तुक हुँदैन ।’

यी सब भ्रमहरुबाट मुक्त हुन, सुवर्ण भन्छन्, ‘फिल्म पढ्नै पर्छ ।’

तर, कसले पढ्ने फिल्म ? अर्थात्, भर्खर स्कुल सकेको वा कलेजमा भर्ना हुन खोजिरहेको एउटा युवाले कसरी थाहा पाउने कि उसले फिल्म पढ्ने ?

‘यसमा कुनै त्यस्तो ठोस नियम छैन,’ उनले भने, ‘सुरुमा त आफू के हुने भन्ने हामीलाई पनि थाहा हुँदैन, आफ्नो बच्चालाई के पढाउने भन्ने अभिभावकलाई पनि थाहा हुँदैन ।’ तर, समयक्रमसँगै एउटा युवा वा एउटा विद्यार्थीले आफ्नो रुचि बुझ्न थाल्ने र त्यसलाई अनुसरण गर्ने हो भन्ने मान्यतामा विश्वास गर्छन् सुवर्ण । अर्थात्, स्कुलमा सामाजिक शिक्षा, विज्ञान र गणित पढेको व्यक्तिले नै जसरी डाक्टरी पढ्छ, जसरी इन्जिनियरिङ पढ्छ, त्यसरी नै उसले फिल्म पनि पढ्न सक्छ । 

‘तर, कन्फ्युजन कहाँनेर हटाउनु पर्छ भने,’ सुवर्णले भने, ‘फिल्म पढ्नु भनेको अभिनेता वा अभिनेत्री बन्नकै लागि मात्र पढ्नु होइन, यसका पनि अनेक हाँगा छन्, धेरै विधा छन् । फिल्म मेकिङका प्राविधिक पक्ष, भिडियो सम्पादन, स्क्रिप्ट राइटिङ, निर्देशन, लाइटिङ, क्यामेरालगायत अनेक विषयमाथि दक्षता हासिल गरेका विद्यार्थीले बनाएका फिल्म पक्कै पनि अरुभन्दा राम्रा हुन्छन् ।’

सुवर्ण फिल्म अध्ययन गरेपछि बन्ने फिल्म ‘सक्सेसफुल’ हुन्छ भन्ने मान्छन् ।

तर, उनले भनेको जस्तो सिनारियो नेपाली फिल्ममा देखिएको छैन । अर्थात्, अहिले पनि नेपाली फिल्महरु पहिलेको जस्तो बन्न नसकेको समीक्षा वा गुनासो, आलोचना वा सुझाव बारम्बार सुन्न सकिन्छ । 

‘त्यसैले त अहिले पनि नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरमा कम्पिटिसन गर्न सक्ने ल्याकतका हुँदैनन्,’ सुवर्णले भने, ‘किनकि अहिले पनि हामी निकै कमजोर छौँ, प्राविधिक रुपमा ।’

र, यसमा हाम्रो फिल्म अध्ययनको करिकुलमलाई दोषी देख्छन् सुवर्ण । 

‘अहिले पनि हामीकहाँ युरोप, अमेरिकाको करिकुलम पछ्याइएको छ,’ उनले भने, ‘अभिनय, निर्देशन, क्यामेरा जे पढाए पनि हामीले अहिले पनि भारत, अमेरिका, युरोपकै सिको गरिरहेका छौँ, त्यहाँकै भूगोल, समाज अनुसार पढाइरहेका छौँ । अब हामीलाई नेपाली करिकुलमको आवश्यकता परिसकेको छ ।’

उनी यसलाई एक वाक्यमा समअप गर्छन्, ‘खासमा हामी अनावश्यक फड्को मारिरहेका छौँ । पहिले हामी हवाइजहाजको कुरा गरिरहेका छौँ, अनि बस र अनि बल्ल साइकलको ।’

अहिले नेपालमा भइरहेको फिल्मको अध्ययन पनि यस्तै भइरहेको उनलाई लाग्छ । 

‘फिल्म त पढ्नै पर्छ,’ उनले भने, ‘तर, अब सुल्टो गरि, आफ्नै करिकुलम बनाएर ।’

  • प्रकाशित मिति : कात्तिक २०, २०७६ बुधबार २०:२९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया