‘युवा खेलाडीलाई स्थान दिँदा नेपाली क्रिकेटको स्तर खस्कियाे'

कुनै समय थियो, जतिबेला नेपाली दायाँ हाते ब्याट्सम्यान तथा विकेट किपर सुवास खकुरेललाई भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीसँग तुलना गरिन्थ्यो । यो तुलना उनले ब्याटिङ र विकेट किपिङमा देखाएको कौशलका कारण सम्भव भएको थियो । 

सन् २०१० देखि डिभिजन पाँचबाट नेपाली टिममा डेब्यु गरेका सुवासले सन् २०१८ अगस्ट ३ मा नेदरल्यान्ड्सविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरे । त्यही वर्ष अगस्ट ३० मा उनले संयुक्त अरब इमिरेट्सविरुद्ध नेपालका लागि अन्तिम एक दिवसीय खेले ।

खकुरेलले टी २० मा अन्तर्राष्ट्रिय खेल १६ मार्च २०१४ मा हङकङविरुद्ध खेले । हङकङविरुद्ध नै उनले १५ जुलाई २०१५ मा अन्तिम टी २० खेलेका थिए । खकुरेल टी २० विश्वकपमा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली हुन् । 

दुई वर्षअघि मोटरसाइकल दुर्घटनामा परेर खकुरेलले क्रिकेटबाट आराम लिए । त्यसयता उनी खासै क्रिजमा देखिएका छैनन् । अहिले च्यातिएको लिगामेन्टमा सुधार हुँदैछ । मोटरसाइकल दुर्घटनामा परेर भाँचिएको हातमा फेरि समस्या देखिएको छ । त्यसैले उनी पछिल्लो समय नेपाली क्रिकेट टिममा परेका छैनन् ।

तर, नेपाली क्रिकेटले सुवासले दिएको योगदान कहिल्यै बिर्सन सक्दैन । पछिल्लो समय मैदानबाहिर रहेर खकुरेलले कसरी नेपाली क्रिकेटलाई हेरिरहेका छन् त ? यही विषयमा उनीसँग फरक धारका योगेश भट्टराईले कुराकानी गरेका छन् । त्यही कुराकानीको सम्पादित अंशः  

 



केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ससर्त नेपाल क्रिकेट संघमाथिको निलम्बन फुकुवा गरेको छ । तपाईंलाई लाग्छ यो फुकुवाले नेपाली क्रिकेटलाई थप उज्यालो गन्तव्यतिर डोर्याउने छ ? 

जतिबेला क्यान निलम्बनमा परेको थियो, नेपाली क्रिकेटको सबै निर्णय आइसिसीले नै गर्दै आएको थियो । त्यसैले अब क्यानमाथि निलम्बन फुकुवा हुनु भनेको विकासका लागि एउटा राम्रो सुरुवात हुनु हो ।



क्यान निलम्बनमा पर्दा घरेलु लिगहरुको जुन विकास हुनुपथ्र्यो, त्यो हुन सकेको थिएन । अन्तर्राष्ट्रिय खेलका लागि पनि आइसिसीको अनुमति लिनु पर्ने हुन्थ्यो । अहिले पनि आइसिसीसँग अनुमति त लिन पर्ला तर यहाँ नै क्रिकेटको गभर्निङ बडी हुँदा सहज पक्कै हुनेछ । 

अब क्यानको सक्रियता बढेसँगै खेलाडीहरुलाई ३–४ महािनको क्लोज क्याम्पमा राखिएला । पहिले आइसिसी मात्रै हुँदा यस्ता क्याम्पहरु अधिकतम १ महिनाका मात्र हुन्थे । यसले पनि अब क्रिकेटमा सुधार देखाउने निश्चित छ । 

 

तर, क्यानमाथिको निलम्बन फुकुवा भयो, कप्तान पारस खड्काले चाहिँ राजीनामा दिए । यसले नेपाली क्रिकेटको विकासमा असर नगर्ला र ? 

पारस खड्काको पालामा नेपालले धेरै उपलब्धि हासिल गर्न पायो । नेपाल डिभिजन ५ देखि विश्वकपसम्म पुग्यो, एक दिवसीय मान्यता पायो । त्यसैले उहाँले अहिले कप्तानबाट राजीनामा दिनु एक हिसाबमा नरमाइलो लाग्न सक्छ । तर, के बिर्सनु हुँदैन भने उहाँले अब क्रिकेट धेरै खेले त्यस्तै ४ वर्षजति खेल्नु हुन्छ होला । त्यति बेला कप्तानी छोड्नु भन्दा अहिले नै उहाँले छोडेको चाहिँ यो अर्थमा राम्रो हो ।

एकातिर हिजोका दिन हेर्दा उहाँले राजीनामा दिनु नराम्रो लाग्न सक्छ, अर्कोतिर उहाँले राजीनामा दिएकैले नेपाली क्रिकेट टिमले नयाँ कप्तान पाएको छ । दिपेन्द्र सिंह ऐरीजस्ता युवाले नेपाली टिमको उपकप्तानको भूमिका निर्वाह गर्न पाएका छन् । यसले टिमको विकासका लागि थप सहयोग पुगेको छ । अब युवाहरुको हातमा टिमको नेतृत्व आउनु भनेको नेपाली क्रिकेट टिमकै लागि फाइदा हो, टिमको क्षमता वृद्धिमा यसले ठूलो सहयोग पुर्याउनेमा हामी ढुक्क हुन सक्छौँ । 

 

तर, नयाँ कप्तान पाएर वा क्यान निलम्बन फुकुवा भएर के गर्नु, नेपाली खेलाडीहरु सधैं आफूलाई राज्यले बेवास्ता गरेको गुनासो गर्छन् नि ?

यो त साँचो हो नि, नेपालमा अझै पनि खेलेरै खाने वातावरण छैन । राज्यले जे गर्नु पर्ने हो, त्यो गरेको छैन । खेलाडीहरुको भविष्य सुरक्षित गर्नबाट राज्य चुकिरहेको छ । नयाँ र राम्रा नीतिहरुको विकास हुन सकेको छैन । नेपालले अहिले खेलकुदमा जुन उपलब्धि हासिल गरेको छ, त्यसमा नितान्त खेलाडीको मात्र हात छ । 

अब अहिलेसम्म नेपालमा क्रिकेटकै लागि एउटा पनि राम्रो मैदान नहुनु, खेलाडीले पाउनु पर्ने सेवा र सुविधा यथेष्ट नहुनुले पनि नेपाली क्रिकेटको विकास सोचेजस्तो हुनसकेको छैन । खेलाडीहरुले खेल खेल्न त पाएका हुनसक्छन् तर आफ्नो भविष्यबारे उनीहरु चिन्ता नगरी बस्ने अवस्था आइसकेको छैन ।

 

केही अघिसम्म नेपाली क्रिकेटको वाहवाही देखिन्थ्यो । हुन पनि नेपाली क्रिकेटले एक दिवसीय मान्यता पायो, टी २० विश्वकपसम्म खेल्यो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय मैदानमा नेपाली खेल खासै सन्तोषजनक हुन सकेको छैन नि ?

हो, पछिल्लो समय नेपाली क्रिकेट फेरि केही खस्किएको हो कि भन्ने महसुस क्रिकेट प्रेमीले गरेका हुनसक्छन् । तर, यस्तो कमजोरी लामो समय नजाला । किनकि यो व्यवस्थापकीय कमजोरीका कारण प्रदर्शन फितलो भएको हुनसक्ने अनुमान गरिएका छन् । अर्कोतिर, नेपाली खेलाडीले यथेष्ठ मात्रामा तयारी गर्न नपाएकाले पनि यस्तो भएको हुनसक्छ । युवा खेलाडीहरुबाट अलिक बढी अपेक्षा गरिएकाले पनि निराश भइएको हुनसक्छ । 

तर, यी सुधार हुनसक्ने कुराहरु हुन् । यसका लागि त सबैभन्दा पहिले नेपालमा ग्राउन्ड लेभलबाट नै सुधारको सुरुवात गर्नुपर्छ । खेलाडीहरुले खेल्ने वातावरण पाउनु पर्छ, घरेलु प्रतियोगिताहरु धेरै हुनुपर्छ, खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाउनु पर्छ, गर्भनिङ बडी र खेलाडीबीचको सम्बन्ध राम्रो हुनुपर्छ ।

त्यस्तै, नेपालमा २–४ वटा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान हुनुपर्छ, क्यानले राम्रा नीति तथा नियमहरु ल्याउनु पर्छ, खेलाडी छनोटमा अझ प्रभावकारी रुपमा काम गर्नुपर्छ । यी सब भएमा नेपाली क्रिकेट टिमबाट नेपाली क्रिकेट प्रशंसकहरु निराश हुनै पर्दैन । 

तस्वीर: विवेक कुँवर/ फरक धार

अब नेपालले नयाँ कप्तान पाएको छ– ज्ञानेन्द्र मल्ल । तपाईंलाई लाग्छ, ज्ञानेन्द्रले पारसको लिगेसी धान्न सक्लान् ? 

हो, समयक्रम सँगै खेल्ने तौरतरिकामा परिवर्तन आउँछ, सुधार हुँदै जान्छ । अनि समय अनुसार क्रिकेट टिमले पनि नयाँ नयाँ कप्तान पाउँदै जान्छन् । 

अब अहिले नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालिरहेका छन् । मलाई त ज्ञानेन्द्र पनि सक्षम कप्तान हुन् भन्ने लाग्छ । मैले यु २१ नेपाली टिममा डेब्यु गर्दा ज्ञानेन्द्र मल्ल नै कप्तान थिए । त्यसैले मलाई उनको कप्तानीबारे थाहा छ र उनी सक्षम छन् भन्ने पनि थाहा छ । 

हो, फरक चाहिँ के हुनसक्छ भने कप्तानी गर्ने तरिका । ज्ञानेन्द्र मल्लले गर्ने कप्तानी फरक हुनसक्छ । यसले केही फरक पार्न सक्छ । अब नेपालमा घरेलू लिगहरु पनि हुन थालेका छन्, नेपाली टिमको स्तर र पोजिसन पनि एउटा विशेष तहमा पुगेको छ । यसले ज्ञानेन्द्र मल्ललाई चुनौति त हुनसक्छ । तर, मलाई विश्वास छ, उनले राम्रो गर्नेछन् ।

 

अहिले तपाईं मैदानबाहिर हुनुहुन्छ । यसबीचमा तपाईंले नेपाली क्रिकेटलाई कसरी मूल्यांकन गरिरहनु भएको छ ?

मैले अहिले बाहिर रहेर नोटिस गरेको कुरा के हो भने नेपाली टिममा धेरै युवाहरुले स्थान पाएका छन् । युवाहरुले स्थान पाउनुलाई राम्रो त मानिएला तर मलाई यो छनोट प्रक्रिया खासै चित्त बुझ्दो लागेको छैन । जो युवाहरुले अहिले टिममा स्थान पाएका छन्, उनीहरुले राम्रो प्रदर्शन चाहिँ गर्न सकेका छैनन् । अपवादमा एक दुई जनाले राम्रो गरिरहेका होलान्, तर यसलाई नै आधार बनाएर सबै युवा खेलाडीलाई स्थान दिइरहनु राम्रो होइन । 

एक दुई वटा खेलमा राम्रो गर्ने वित्तिकै खेलाडीहरुलाई स्थान दिनुले नेपाली क्रिकेटको स्तर खस्किएको हो । खासमा त युवाहरुलाई केही वर्ष अझै जुनियर टिममा नै खेलाउनु पर्ने थियो । त्यसपछि उनीहरुको स्तर अझ राम्रो हुने थियो । अनि बल्ल उनीहरुलाई राष्ट्रिय सिनियर टिममा ल्याउनु पर्ने थियो । यसो गर्दा उनीहरु निखारिने समय पाउँथे । जसले नेपाली टिमलाई अझ बलियो बनाउँदै लैजान्थ्यो । समग्रमा हेर्दा नेपाली टिममा युवाहरुलाई बढी स्थान दिनु राम्रो होइन भन्ने निष्कर्षमा म पुगेको छु ।

 

तपाईं पहिले जुन मैदानमा खेल्नुहुन्थ्यो, अहिले त्यहाँ तपाईंका साथीहरु खेलिरहेका हुन्छन् । तपाईं बाहिर बसेर हेरिरहनु हुन्छ । तपाईंलाई अहिले के लाग्छ, मैदानभित्र खेल्दा गाह्रो हुँदो रहेछ कि मैदानबाहिर रहेर खेल हेर्दा ?

मलाई अहिले महसुस भएको छ, खेल्नुभन्दा बाहिर प्याराफिटमा बसेर वा टिभीमा आफ्नै साथीहरु खेलिरहेको हेर्नु निकै गाह्रो हुँदो रहेछ । मैले लामो समय देशका लागि खेल्दा बाहिर बसेर खेलहरु हेर्ने अवसर पाउने कुरै भएन । त्यसैले यो फिलिङबारे खासै महसुस गर्न पाएको पनि थिइनँ । 

अहिले आफूसँगका साथीहरु खेलिरहँदा म सोच्छु– म पनि त्यहाँ भएको भए यसरी खेल्ने थिएँ । अनि मनमा पनि कहिले टिममा फर्किन्छु होला भन्ने भावना उब्जिन्छ । 

 

 

त्यही त, कहिले फर्किनुुहुन्छ टिममा ? 

पछिल्लो पटक प्रधानमन्त्री कपको तयारीको समयमा मेरो लिगामेन्ट टियर भयो । त्यही कारणले अहिले म क्रिकेट मैदानबाट बाहिर भएको हुँ । अझै पनि म पूर्ण रुपमा ठिक भइसकेको छैन । सायद, अब एक वा दुई महिनामा पूर्ण रुपमा रिकभर गर्छु होला । फिट भएपछि त म मैदानमा देखिने नै छु । मेरो कामना छ, पोखरा प्रिमियर लिगबाट कमब्याक गर्न सकूँ । 

  • प्रकाशित मिति : कात्तिक २१, २०७६ बिहीबार १३:२४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया