बालविवाह न्यूनीकरण गर्न पुरोहितलाई कानुनी प्रशिक्षण

सुर्खेत– प्रहरीले बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानुनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो ।
 
प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानूनीरूपमा सचेत गराए बालविवाह न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताए। 'विवाह गराउने मुख्य जिम्मेवारी पुरोहितहरुकै हो,' उनले भने, 'अभिभावक र बालबालिका तयार भए पनि पुरोहितले कान'नी व्यवस्थालाई देखाएर विवाह गर्न इन्कार गरे त्यो विवाह नै हुन सक्दैन ।' 

कानुनले बालविवाहलाई अपराधको रुपमा परिभाषित गरेको छ । मुलुकी फौजदारी संहिता, २०७४ मा बालविवाह गर्ने/गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ । प्रहरीले पुरोहितहरुलाई यही व्यवस्थाबारे जानकारी गराउन जिल्ला–जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
 
प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालू आर्थिक वर्ष २०७६–७७ मा सल्यानमा बालविवाहका तीन मुद्दा दर्ता भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सुर्खेत र दैलेखमा सात–सात, सल्यानमा तीन र जुम्लामा दुई गरी १९ मुद्दा दर्ता भएका थिए । त्यस्तै, प्रहरीले चालू आवको हालसम्मको अवधिमा बालविवाह गर्ने १७ जोडीलाई अभिभावकको जिम्मा लगाएको छ । अघिल्लो वर्ष प्रहरीले ५९ जोडीको उद्धार गरेको थियो ।
 
प्रदेश प्रहरी प्रमुख जोशीले झण्डै ५०० हिन्दू, बौद्ध, मुस्लिम र इसाईका धर्मगुरुलाई बोलाएर कानुनी प्रशिक्षण दिएको जानकारी दिए । प्रशिक्षणमा सुर्खेतमा १००, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१, सल्यानमा ९२, जाजरकोटमा ३२ र रुकुमपश्चिममा २३ पुरोहित सहभागी थिए ।





  • प्रकाशित मिति : कात्तिक २१, २०७६ बिहीबार १४:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया