काठमाडाैं– भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भू–भाग समेटिएकोमा आपत्ति जनाउँदै नेवि संघले भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ । निवर्तमान केन्द्रीय सदस्यहरु प्रेमबहादुर शाही, गीता गुरुङ, पदम भट्टराईलगायत नेवि संघसम्बद्ध विद्यार्थीहरुको प्रतिनिधिमण्डलले आज लैनचौरस्थित भारतीय दूतावास पुगेर ज्ञापन पत्र बुझाएकाे हाे ।
ज्ञापन पत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अखण्ड भू–भाग रहेको भन्दै ती क्षेत्र भारततर्फ पारेर गरिएको सीमांकनलाई नेवि संघले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको आक्रमणको रुपमा लिएको उल्लेख छ । यो गम्भीर भुललाई तत्काल सच्याउन दूतावासमार्फत भारत सरकारलाई आग्रह गरिएको छ ।
फरकधारसँगको संक्षिप्त कुराकानीमा प्रतिनिधिमण्डलका एक अगुवा नेवि संघ नेता प्रेमबहादुर शाहीले नेपाली सार्वभौमसत्तामाथि हुने कुनै पनि खाले प्रहार आफूहरुलाई सह्य नहुने प्रतिक्रिया दिए ।
‘लिपुलेक, कालापानीबारे नेपाल सरकार मौन बस्न सक्छ होला, तर हामी कदापि सक्दैनौँ,’ उनले भने । सीमा अतिक्रमणजस्तो गम्भीर समस्याको समाधानमा सरकारले खुट्टा कमाउन नहुने भन्दै उनले अतिक्रमणविरुद्ध सिंगो राष्ट्र डटेर लाग्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।