भक्तपुर प्रदेशसभाका दुईजनाको उम्मेदवारी खारेज

भक्तपुर– आगामी मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनका लागि नाम दर्ता गराएका दुईजनाको उम्मेदवारी खारेज गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको छानबिनका क्रममा प्रदेश निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा भएकाले पनि उम्मेदवारी दिएको पाएपछि उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत जगतनारायण श्रेष्ठले जानकारी दिए ।

उम्मेदवारी खारेज हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का उम्मेदवार रामशरण लामिछाने र आमूल परिवर्तन पार्टीका उम्मेदवार डिल्लीप्रसाद चौलागाईं रहेका उनले जानकारी दिए । अघिल्लो निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा नाम भएकाले उपनिर्वाचनमा उम्मेदवारी दिन नपाउने व्यवस्था रहेकाले उम्मेदवारी खारेज गरिएको उनको भनाइ थियो ।

दुईको उम्मेदवारी बदर भएपछि नौ दलका नौ र स्वतन्त्र १० गरी १९ को उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । निर्वाचन कार्यक्रम तालिकाअनुसार आज उम्मेदवारविरुद्ध दाबी उजुरी दिने, शनिबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ हुनुका साथै त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 

त्यस्तै, यही कात्तिक २४ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिने, सोही दिन दिउँसो ३ः०० देखि ५ः०० बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । उम्मेदवारलाई कात्तिक २५ गते निर्वाचन चिह्न प्रदान गरिनेछ ।





  • प्रकाशित मिति : कात्तिक २२, २०७६ शुक्रबार १७:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया