उपनिर्वाचनमा पनि बागलुङमा वाम तालमेल

बागलुङ– नेपाली कांग्रेससामु क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ । विसं २०७४ को चुनावमा पनि कांग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो ।

सो चुनावमा कांग्रेसका जितबहादुर शेरचनलाई तीन हजार २ सय ६० मतले पछि पार्दै गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए । घर्तीले ११ हजार ८ सय ८४ मत पाउँदा शेरचनको मत आठ हजार ६ सय ६४ थियो । उपचुनावमा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा राजमोका उम्मेदवार खिमविक्रम शाही चुनावी मैदानमा छन् । कांग्रेसले अघिल्लो चुनावमा पराजित शेरचनलाई पुनः उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजमोको गठबन्धनले सबै क्षेत्रमा एकलौटी जितेको थियो । विसं २०७० को संविधानसभा सदस्यको दोस्रो चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको कांग्रेस वाम तालमेलकै कारण पराजित भएको थियो ।

विसं २०७४ को चुनावपछि भने तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनिसकेको छ । त्यो वेलाको तीनदलीय वाम गठबन्धन उपचुनावसम्म आइपुग्दा दुईमा झरेको छ । नेकपा र राजमोको केन्द्रीय नेतृत्वबीच उपचुनावमा पनि वाम तालमेललाई निरन्तरता दिने सहमति भएपछि उक्त क्षेत्र राजमोले पाएको हो ।

यो चुनावमा पनि परिचित प्रतिद्वन्द्वी वाम गठबन्धन र नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । चुनाव जित्ने जिकिर भने दुवैतर्फका उम्मेदवार र नेताको छ । नेपाली कांग्रेसका सभापति दीपेन्द्रबहादुर थापा यसपालिको वाम तालमेललाई ‘आत्मीय’ नभएको रूपमा अर्थ्याउँछन् ।

‘पहिले वाम तालमेल गरेका हुनाले उपचुनावमा पनि बाध्यता पर्यो होला,’ सभापति थापाले भने, ‘उहाँहरुको एकता आत्मीय खालको छैन, एकतर्फीजस्तो छ ।’ कांग्रेसका उम्मेदवार शेरचन अघिल्लो चुनावपछि जनतामाझ घुलमिल भएकाले चुनाव जित्नेमा विश्वस्त रहेका छन् । ‘गएको चुनावमा केही मतको अन्तरले हारे पनि जनताको काम र सेवा गर्न छोडिनँ,’ उनले भने, ‘अहिले परिस्थितl फरक छ, हामी चुनाव जित्छौँ ।’



उनले पहिले चुनाव जितेका दल र उम्मदेवारले जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको आरोपसमेत लगाए । पहिले चुनाव हारेका कारण आफूले सद्भावको मत पनि बटुल्ने शेरचनको भनाइ छ । राजमाका जिल्ला अध्यक्ष अमर थापा भने अघिल्लो चुनावमा भन्दा बढी मतका साथ चुनाव जितिनेमा ढुक्क रहेका छन् । उनले  भने, ‘कांग्रेसले जितिरहेको ठाउँ हो, जनमत पनि राम्रो थियो, सरकार पनि कांग्रेसकै थियो’ उनले भने, ‘त्यो परिस्थितिमा त कांग्रेस ठूलो मतान्तरसहित चुनाव हार्यो, अहिले कसरी जित्छ ? जित्दैन ।’

तीनै तहमा बलियो कम्युनिस्ट सरकार भएको, जनतामा आशा जागेको, विकास, निर्माणदेखि राष्ट्रिय मुद्दामा दरिलो अडान लिएका कारण आफ्नो उम्मेदवारले झन् बढी मत लिएर जित्ने अध्यक्ष थापाको ठोकुवा छ । उनले उम्मेदवारीलाई लिएर छिटपुट असन्तुष्टि देखिए पनि त्यो समाधान हुने बताए ।



सो क्षेत्रमा नेकपाका नेता शेरमान घर्तीले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनलाई अप्ठ्यारो परेको छ । ‘उहाँ पुरानो हाम्रै पार्टीको साथी हो, जिम्मेवार व्यक्ति कम्तीमा अर्को दललाई चुनाव जिताउन लाग्नुहुन्छ भन्ने लागेको छैन,’ अध्यक्ष थापाले भने, ‘विश्वास छ, उहाँले उम्मेदवारी फिर्ता लिनुहुन्छ, त्यसमा नेकपाका साथीहरुले पहल गर्नुहुनेछ ।’

शेरमान तत्कालीन नेकपा (माआवोदी केन्द्र) मा आउनुपूर्व राष्ट्रिय जनमोर्चामा आबद्ध थिए । गएको स्थानीय तह चुनावमा उनी माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको प्रमुख पदमा चुनाव लडेका थिए। नेकपाका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत बिहीबार पोखरामा आयोजित एक कार्यक्रममा उनको उम्मेदवारी फिर्ता हुने बताएका थिए ।

राजमोका उम्मेदवार शाहीले वाम गठबन्धन नै आफ्नो जितको पहिलो आधार भएको बताए । ‘अहिलेको सरकार जनतामाझ लोकप्रिय हुँदै गएको छ, हाम्रो संगठन पनि विस्तार भएको छ’, उनले भने, ‘सजिलै चुनाव जितिनेमा म ढुक्क छु ।’ उनले चुनावी अभियानलाई पनि प्रभावकारी बनाइने उल्लेख गरे । अव्यावहारिक र महत्वाकांक्षी योजनाभन्दा पनि जनताका आधारभूत मुद्दा सम्बोधन गर्ने गरी अगाडि बढ्ने उनको भनाइ छ ।

  • प्रकाशित मिति : कात्तिक २२, २०७६ शुक्रबार १८:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया