अन्तर्वार्ता
के अब अमर न्यौपानेबाट गम्भीर साहित्य लेखिँदैन ?

काठमाडौं– नेपालमा धेरै पढिने लेखकमध्ये एक हुन्, आख्यानकार अमर न्यौपाने । उनका चार पुस्तक प्रकाशन भइसकेका छन् । सेतो धरतीका लागि मदन पुरस्कार जितेका अमर न्यौपानेका पछिल्ला दुई आख्यान करोडौं कस्तुरी र गुलाबी उमेरले चाहिँ अपेक्षाअनुरुप साहित्य पाठकलाई सन्तुष्ट बनाउन सकेनन् । बरु न्यौपानेबारे टिकाटिप्पणी गरिन थालियो– अमर पनि ‘लाइट’ लिटरेचरतिर लागे । 

के साँच्चिकै उनले गम्भीर साहित्य लेख्न छाडेका हुन् त ? 

फरक धारका कमल विष्टले यही विषयमा अमर न्यौपानेसँग केही अघि कुराकानी गरेका थिए । त्यसको सम्पादित अंशः

 

अमर न्यौपानेलाई नेपाली साहित्य बजारमा हटकेक मानिन्छ । तर, यसपटक गुलाबी उमेर विमोचन भएको यतिको समयसम्म पनि केक डिफ्रिजबाट बाहिर नै निस्किएन कि भन्ने बढी चर्चा सुनिएको छ । तपाईं स्वयंलाई चाहिँ कस्तो लागिरहेको छ ?

मलाई त्यस्तो लाग्दैन । किताब विमोचन भए लगत्तै अर्को मुद्रणका लागि गइसकेको थियो । अनि हामीले सोचेभन्दा धेरै किताब बजारमा बिक्री भइसकेको छ । अहिले बजारमा किताब जुन र जस्तो रुपमा जान्छ त्यसलाई हेर्दा हामीले यति धेरै प्रति जाला भनेर आँकलन गरेका नै थिएनौँ । किताबबारे धेरै सकारात्मक प्रतिक्रिया पनि मैले पाइरहेको छु । त्यसमा पनि चिनेकाभन्दा मैले पहिले नचिनेका पाठकहरुबाट धेरै प्रतिक्रिया पाइरहेको छु ।



 

तपाईंले भन्न खोज्नु भएको, गुलाबी उमेर राम्रो बिक्री भएको छ । अर्थात्, पुस्तक सफल भए नभएको त्यसको विक्रीले निर्धारण गर्छ हो ? पुस्तकको गुणवेत्ताको मापन पनि बिक्री नै हो ?



गर्दैन । पुस्तकको गुणवेत्ताको मापन पनि बिक्री मात्र होइन । 

 

हुन त गुलाबी उमेर वा टिनएज एउटा गम्भीर उमेर हो । यस विषयमा पनि लेखिनु पर्छ । तर, तपाईंले आफ्नो उपन्यासमा चाहिँ आख्यान कम, न्यारेसन बढी गरेँ जस्तो लाग्दैन ? के तपाईं आफ्नो पुस्तक गुलाबी उमेरलाई पनि गम्भीर साहित्यकै कोटीमा राख्नुहुन्छ ?

त्यो मूल्यांकन गर्ने अधिकार त समालोचना गर्ने समालोचकहरुमा रहन्छ । तर, मलाई चाहिँ गम्भीर लाग्छ । गम्भिर लागेर नै लेखेको हुँ । एउटा लेखकले लेख्दाखेरि आफ्ना पाठक गम्भीर लागोस्, सोचमग्न पारोस् भनेर लेखेको हुन्छ । लेखकले सधैं एउटै कुरा रट्टा मारिरहने पनि हुँदैन । एउटा लेखकले आफ्ना पाठकलाई हरेक कृतिमा फरक फरक स्वाद दिन पाए हुन्थ्यो भन्ने सोच्छ । गुलाबी उमेर त्यही चाहनाको उपज हो । 

मैले यो पुस्तक विमोचनको दिनमा पनि भनेको थिएँ, जीवनको नदीलाई बाँध बाध्न उमेर हो, गुलाबी उमेर । यो सबैभन्दा कल्पनाशील उमेर हो र तरल पनि । जुन उमेर सबैभन्दा बढी तरल कल्पनाशील हुन्छ, त्यो उमेर शक्तिशाली हुन्छ । जीवनको नदीलाई बिजुली निकाल्ने उमेर त नभनौँ, बाँध बाँध्ने उमेर चाहिँ यही हो । किताबको भुमिकामा पनि लेखेको छु, भविष्यको अनिश्चित संसारलाई उज्यालो बनाउन र उज्यालो जीवनलाई हराबरा बनाउन उमेर यही हो । किशोर किशोरीहरु गम्भीर हुँदैनन्, तर यो निकै गम्भीर उमेर हो । 

अब मेरो पुस्तकको मूल्याङ्कन गर्ने चाहिँ पाठक तथा समालोचकको काम नै हो । यो स्वतन्त्र मूल्यांकनको विषय पनि हो ।

 

गुलाबी उमेरमा, यौन र भावना, मेकअप र प्रेम, वासना र गफमात्र बढी लेखेको एउटा पाठकले अनुभूत गर्छ । सेतो धरतीजस्तो समाज लेखिएको उपन्यास लेख्नु पर्ने तपाईं किन यता बहकिनु भयो ?

मलाई के लाग्छ भने साहित्य दुई तरिकाले लेख्न सकिन्छ । म यो कुरामा मात्र केन्द्रित भएर लेख्छु भनेर सोचेपछि उसले त्यसैमा लेख्ने हो । मैले पनि एउटी हँुर्कदो उमेरकी किशारीको कथा लेख्छु भनेपछि उसको मानसिक र शाररिक परिवर्तनको कुरामा केन्द्रित भएँ । मलाई एउटी हुर्कदो उमेरकको किशोरी कथा, मानसिक र शाररिक परिवर्तनको कथा लेख्नु थियो । मैले उसको शारीरिक र मानसिक परिवर्तनको कुरालाई सुक्ष्म अध्ययन गरेँ । मैले अन्य विषयहरु जस्तै सामाजिक, आर्थिक विषयमा आफ्नो लेखनीलाई केन्द्रित गरिनँ । त्यसैले म अन्य विषयतिर केन्द्रित भइनँ । 

यसलाई यसरी विश्लेषण गरौँ, एमबिबिएस पढ्दा सबै विषयहरु पढ्नु पर्छ । पछि एमडीमा पुगेपछि हामीले एउटा मात्र विषयलाई आफ्नो मुल विषय बनाउनु पर्छ । मुटुको पढ्यो भने मुटुको मात्रै पढिन्छ, आँखाको मात्रै पढ्यौ भने आँखाको मात्रै पढिन्छ, नशाको मात्र पढ्यौ भने नशाको मात्रै पढिन्छ । अब कसैले मुटुको मात्र पढ्दा किन तैँले मुटुको मात्रै पढेको, किन तैँले नशाको नपढेको भन्ने हँुदैन । जुन कुरामा म स्पेसियालिस्ट भएर लेख्दैछु, म त्यसैमा केन्द्रित हुने हो । 

फेरि नेपालमा नेपाली साहित्यमा सामाजिक, आर्थिक, राजनीतिक विषयमा अन्य धेरै लेखेकले लेखिसक्नु भएको छ । मैले हुँर्कदो उमेरको किशोरीको शारीरिक र मानसिक परिवर्तनको कुरालाई गहिरो रुपमा विश्लेषण गरुँ भनेर अन्य विषयलाई ध्यान ध्यान दिइनँ । 

 

यसको अर्थ अमर न्यौपाने एमडीमा फोकस हुनुभयो, हुँर्कदो उमेरको किशोरीमाथि उसको सामाजिक, आर्थिक, राजनीतिक, सांस्किृतिक विषयको प्रभावलाई बिर्सिनु भयो । न्युरोको डाक्टरले सामान्य ज्वरो आउँदा म न्युरोको डाक्टर हुँ, जनरल फिजिसियन होइन भने जस्तो ? 

त्यसो पनि होइन, पारिवारिक पाटोलाई त मैले पुस्तकमा समेटेको छु । राजनीतिक चाहिँ मैले पटक्कै छोएको छैन । आर्थिक विषय त्यति महत्वपूर्ण होइन । म यी विषयहरुमा किन केन्द्रित नभएको भने मेरा पुराना किताबहरुमा सबै कुरा समेटिएको थियो । मेरो पानीको घामको कुरा गरौं न, त्यसमा यति विषयहरु समेटिएका छन् कि मलाई आफैलाई लागेको थियो, अब म यस्तो किताब लेख्दिनँ । म अब एउटा मात्र विषयमा केन्द्रित भएर त्यो विषयमा सुक्ष्म अध्ययन गरेर लेख्छु भन्ने सोचेको थिएँ । मैले जुन विषयमा उठान गरेको हुन्छु, त्यसैमा मात्र केन्द्रित हुन्छु भन्ने थियो । 

 

करोडौं कस्तुरी, गुलाबी उमेरजस्ता पुस्तक आएपछि अब अमर न्यौपानेबाट गम्भीर साहित्य आउँदैन भन्ने पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?

त्यसको जवाफ त मैले लेखेरै दिनु पर्छ । बोलेर जवाफ दिनुको केही अर्थ छैन । 

 

पानीको घामले अमर न्यौपानेमा लेखन क्षमता छ भन्ने देखायो, सेतो धरतीले अमर न्यौपानेलाई लेखकका रुपमा स्थापित गरायो । त्यसपछिका करोडौं कस्तुरी र गुलाबी उमेरले चाहिँ अमर न्यौपानेको लेखनको अप्टिममा लेभल त्यही सेतो धरती हो रहेछ, अब राम्रो पुस्तक आउँदैन भन्नेहरु पनि भए । तपाईंलाई यसको जवाफ के दिनु छ ?

मलाई चाहिँ त्यस्तो लाग्दैन । तर, समालोचकहरुलाई त्यस्तो लाग्छ भने उहाँहरुलाई मैले यसको जवाफ लेखेरै दिनुको विकल्प छैन । यस अर्थमा उहाँहरुले यसको जवाफ पाउन कुर्नै पर्ने हुन्छ । 

फेरि कुनै पनि विषयमा मान्छेको आआफ्नो धारण हुन्छ । एउटा कुरा के पनि हो भने हामीले किताबबाट आफूले चाहेको कुरा लिन खोज्छौँ । यो किताब अलि धेरै किशोर किशोरीलाई लक्षित गरि लेखिएको हो । 

मलाई धेरै अभिभावकहरुबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छु । आफूले यो पुस्तकबाट बच्चाहरुसँग कसरी पेश हुने कसरी, कस्तो व्यवहार गर्नु पर्छ लगायतका धेरै कुरा सिक्न पाएको उहाँहरु बताउनुहुन्छ । 

 

तपाईंले भन्नु भयो यो पुस्तक किशोरी किशोरीहरुलाई लक्षित गरेर लेखिएको हो । यसले एउटा प्रश्न जन्मायो, साहित्य पनि कुनै समूहलाई लक्षित गरेर सिर्जना गरिन्छ र ? 

गरिँदैन । प्रकाशित गरिसकेपछि त्यो सबैका लागि हो । तैपनि कथा कसको हो, कसलाई लक्षित गरिएको हो भन्ने चाहिँ हुन्छ । 

 

लेखक, प्रकाशकहरु पछिल्लो समय पुस्तक विक्रीमा घट्यो भनिरहेका छन् । तपाईंलाई के लाग्छ ?

मलाई पनि त्यो आभाष भएको छ । सोसल मिडिया, नेटफ्लिक्स, युट्युबजस्ता माध्यमहरुले प्रभाव परेको जस्तो लाग्छ । तर यसको प्रभाव एकदमै अल्पकालिन समयका लागि हो ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७६ शनिबार १४:१२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया