काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भएको छ । यो बैठक सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका हुन् ।
नेपाल भारत सीमा विवाद, भारतीय पक्षबाट नेपालका भूमि अतिक्रमण भइरहेको विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो । बैठकमा प्रधानमन्त्रीसहित नेपाल कम्युनिस्ट पार्टीका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, मन्त्रीहरु, सीमाविद्हरु सहभागी छन् ।
भारतले केही दिनअघि जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी समावेश गरेपछि यसको जनस्तरबाट नै विवाद भएको छ । यसबारे छलफल गर्न प्रधानमन्त्रीले यो बैठक बोलाएका हुन् ।
भारतले जारी गरेको नयाँ नक्सा नेपाललाई स्वीकार्य नहुने सरकारले जनाइसकेको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भारतीय राजदूत मन्जीव पूरीलाई फोन गरेर नक्साबारे कुरा गरेको जनाएका थिए ।
भारतमा चाहिँ विदेश मन्त्रालयका प्रवक्ताले आफूहरुले नेपालको भूमि भारतीय नक्सामा समावेश नगरेको जनाएका थिए ।
यस विषयमा छलफल गरेपछि आजै प्रधानमन्त्री ओलीले नयाँ मन्त्रिमन्डल गठनबारे पनि नेकपा नेताहरुसँग छलफल गर्न सक्ने नेकपाको उच्च स्रोतले जनाएको छ । ‘उहाँ मन्त्रिमन्डल हेरफेर पनि छिटो गर्ने पक्षमा हुनुहुन्छ,’ नेकपाका एक शीर्ष नेताले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।