सिरहा– सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका–२ बन्दीपुर सलहेस टोलस्थित आफ्नै घरको आँगनमा श्रीमतीको हत्या गरी फरार भएका ४५ वर्षीय रामबाबु पासवान करिब सात घन्टापछि रामनगर मिर्चैयाबाट पक्राउ परेका छन् ।
घरायसी विवादमा भनाभन हुँदा दाउरा चिरिरहेको बन्चरो प्रहार गरी ४० वर्षीया श्रीमती कविताको हत्यापछि पासवान फरार भएका थिए । स्थानीय छिमेकीको सहयोगमा व्यापक प्रहरी परिचालन गरी खोजी गर्ने क्रममा उनलाई छिमेकी मिर्चैया नगरपालिका– ६ मा पर्ने रामनगर मिर्चैयास्थित आफन्तको घरमा लुकेर बसिरहेको अवस्थामा बुधबार अपराह्न करिब ४ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले बताए ।
अत्यधिक मदिरा सेवन गरी लर्बराएका पासवानलाई लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको भए पनि अन्य कुरा नखुलेको डिएसपी बोहराको भनाइ छ । प्रहरीका अनुसार पासवानलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ ।
घरायसी विवादले लियो ज्यान
श्रीमती कविता बुधबार बिहान करिब ९ बजेतिर बन्दीपुर बजारबाट किनमेल गरेर फर्किँदा पासवान आफ्नै घरको आँगनमा दाउरा चिर्दै गरेको देखिएको छिमेकीहरू बताउँछन् । घरायसी विषयमा सामान्य भनाभन हुँदा मदिरा सेवन गरेका उनले श्रीमतीलाई एक्कासि बन्चरो प्रहार गरे ।
कविता घटनास्थलमै ढलेपछि पासवान फरार भएको स्थानीयलाई उद्धृत गर्दै कर्जन्हा– २ का वडाध्यक्ष गणेशकुमार अधिकारीले बताए । ‘घटनाको सूचना पाएलगत्तै तत्काल प्रहरीलाई खबर गरेँ,’ वडाध्यक्ष अधिकारीले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।