भारतमा सबैभन्दा विवादित मुद्दामा जसले भगवान रामलाई जित हासिल गर्न सहयोग गरे, उनी एक दशकभन्दा पनि बढी अदालतमा बसिरहे । र, त्यहाँ उनले भगवानको पक्षमा आफ्ना कुराहरु राखे ।
अदालतको कागजमा त्रिलोकी नाथ पान्डे शिशु भगवान रामका साथी थिए र उनी रामको प्रतिनिधित्व गरिरहेका थिए किनकि शिशु भएकाले रामले आफ्नो पक्षमा मत राख्न सक्षम थिएनन् ।
उनको विषयमा बिबिसीका लागि सौतिक विश्वसाले एउटा लामो आलेख लेखेका छन् । राम मन्दिर–बाबरी मस्जिदको मुद्दामा शिशु रामको पक्षमा रहेका यी व्यक्तिले पनि रामको पक्षमा त्यहाँको विवादित जग्गा ल्याउन ठूलो भूमिका खेलेको विश्वास गरिन्छ ।
७५ वर्षका त्रिलोकी नाथ पान्डेले सौतिकलाई भनेका छन्, ‘भगवानको प्रतिनिधित्व गर्नु एउटा महान काम हो । यो कामका लागि लाखौँ हिन्दुहरुले मलाई चुन्नु मेरा लागि गर्व तथा खुसीको कुरा हो ।’
भारती कानुनमा दशकौं देखि देवता वा भगवानलाई वा एक प्रतिमालाई एउटा व्यक्तिको जस्तो मानिन्छ । जसरी एउटा कम्पनीलाई एक व्यक्ति जस्तो मानिन्छ, भगवान पनि त्यहाँ एक व्यक्ति हुन् । यसैका कारण त्यहाँ कयौँ श्रद्धालुहरु धार्मिक स्थलमा बनेका प्रतिमाका लागि आफ्नो जग्गा वा सम्पत्ति दान गरिरहेका हुन्छन् । अनि त्यो दानलाई भगवानको सम्पत्ति मानिने गरिएको छ । पछिल्ला दिनमा त्यसको संरक्षण चाहिँ कुनै धार्मिक समूह वा ट्रष्टले गर्न थालेका छन् ।
यही विश्वास र कानुनी प्रावधानका कारण अयोध्याको त्यो विवादित जग्गामा भगवान राम वा उनको प्रतिमालाई एक साथीले प्रतिनिधित्व गरेका हुन् । यो भारतीय कानुन अनुसार नै हो ।
तर, भगवानको वास्तविक साथी कसलाई मानिन्छ वा त्यो व्यक्तिको चयन कसरी हुन्छ जसले भगवानको पक्षमा काम गरेको ठहरिन्छ ? त्यहाँको कानुनले फेरि भगवानको एक साथी राख्ने अधिकार पनि दिएको छ ।
१९९२ मा अयोध्यामा १६ औं शताब्दिमा बनेको बाबरी मस्जिदलाई ढालिएको थियो । त्यसपछि भारतका विभिन्न ठाउँमा दंगा फैलियो । केहीले ज्यान गुमाए पनि ।
खासमा हिन्दुहरुले के भनेका थिए भने जहाँ बाबरी मस्जिद बनेको हो, त्यहाँ भगवान रामको जन्म भएको थियो । त्यसैले उनीहरुले त्यहाँ रामको मन्दिर बनाउन चाहन्थे ।
शनिबार भारतको सर्वोच्च अदालतले हिन्दुहरुको यो चाहनालाई पूरा गरेको छ । अदालतले मुस्लिमहरुलाई मस्जिद बनाउन अन्य कुनै ठाउँ प्रयोग गर्न आदेश पनि दिएको छ ।
अनि त्रिलोकी नाथ पान्डेले यस्ता देवताको पक्षमा आफ्नो मत राखेका थिए जसलाई हिन्दुहरु न्यायप्रेमी मान्छन् । भगवान राम पौराणिक महाकाव्य रामायणका नायक हुन् र उनी त्याग तथा वीरताका प्रतीक पनि हुन् ।
अदालतमा भगवान रामको याचिकामा केही हिन्दु समूह र वकिलहरुले सावधानीपूर्वक पूजा, देवत्व, अवतार तथा परमात्माको विषय निकाल्दै लेखेका थिए । त्यो याचिकामा विवादित ठाउँमा भगवान रामको जन्म भएको र त्यहाँ भगवान रामको आत्मा रहने कुरा उल्लेख गरिएको थियो ।
अनि अब त्रिलोकी नाथ पान्डेको माध्यमबाट नै भगवान रामले अयोध्यामा आफ्नो जग्गा पाएको विश्वास भारतमा गर्न थालिएको छ ।
त्रिलोकी नाथ पाण्डे सन् १९८९ देखि अहिलेसम्म यो मुद्दामा भगवान रामका तेस्रा साथी हुन् । भगवान रामका पहिलेका दुई साथीको निधन भइसकेको छ ।
त्रिलोकी नाथ पान्डे उत्तर प्रदेशमा एक किसान परिवारमा जन्मिएका थिए । उनी चार भाइबहिनीमा सबैभन्दा जेठा हुन् । उनले स्थानीय स्कुल र कलेजमा अध्ययन गरेका हुन् । पछि उनले केही समय शिक्षक भएर पनि काम गरे ।
स्कुलमा पढ्दा नै उनले विश्व हिन्दु परिषदका लागि काम गर्न थालेका थिए । यही विश्व हिन्दु परिषदले नै बाबरी मस्जिद ढलाउन प्रमुख भूमिका खेलेको विश्वास गरिन्छ ।
‘मैले अदालतमा धेरै त बोलिनँ, मेरो पक्षबाट वकिलहरुले बोले,’ त्रिलोकी नाथ पान्डेले भनेका छन्, ‘म त्यहाँ भगवानको प्रतीकका रुपमा जान्थेँ । १० वर्षमा म सयौँ पटक अदालतमा गएको छु ।’ त्यसो त त्रिलोकी नाथ पान्डेले अदालतमा भगवान रामले गर्नु पर्ने हस्ताक्षर पनि गरेका छन् ।
अब अदालतले यो फैसा गरिसके पछि चाहिँ त्रिलोकी नाथ पान्डे भगवान रामका साथी रहिरहँदैनन् । तर, यसले उनलाई कुनै फरक परेको छैन ।
‘म त सधैं भगवान रामको साथमा छु,’ उनले भनेका छन्, ‘जब म उनको साथमा छ भने डराउनु पर्ने कुरा के नै छ र ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।