Sat, 07 Dec, 2019


गर्नु गर्यौ लक्ष्मण भैंसी पालेर...
फरकधार / कात्तिक २५, २०७६

काठमाडौं– लक्ष्मणले जुन बाटो रोज्छन् भन्ने सबैको कल्पना थियो, उनले त्यो बाटो रोजेनन् ।



ललितपुरमा जन्मिए लक्ष्मण घिमिरे । पढाइ सकिएपछि उनीसँग दुई दाइकै पदचाप पछ्याउने विकल्प बाँकी नै थिए; उनका जेठा दाइ गोविन्द कोरिया गएका थिए; उनका माइला दाइ रामहरि मलेसिया गएका थिए । 

लक्ष्मणले दाइहरुको अनुसरण गर्नु त कहाँ हो कहाँ, मलेसियामा रोजगारीका लागि पुगेका माइला दाइलाई पनि नेपाल फर्काइदिए । र, अहिले यी दुई दाजुभाइ मिलेर जौबारीमा आफ्नै कृषि फार्म सन्चालन गरेका छन्; ३६ गाई–भैंसी पालेका छन् । अनि उनीहरुलाई सहयोग गरेका छन्, परिवारकै अन्य सदस्यले । 

केही दिनअघि । काठमाडौंमा प्रवेश गरिसकेको चिसोले ललितपुरलाई चाहिँ पूरै छोपिसकेको छ, त्यो पनि जौबारी क्षेत्रमा त सवेरै विहान हात ठिहिर्याउने चिसो हुन थालिसकेको छ । यो चिसोको पूरै बेवास्ता गर्दै लक्ष्मण चाहिँ दूध दुहिरहेका थिए । अलिक पल्तिर उनकी आमा भैंसीलाई खोले पकाउन अँगेनामा मुडा जोड्दै थिइन् ।

‘सत्रवटा गाइ, उन्नाइस वटा भैंसी,’ लक्ष्मणले सुरु गरेको फार्ममा अहिले यी गाइवस्तुले दूध दिन्छन् । त्यसैले लक्ष्मणलाई दूध दुहुनकै लागि कम्तिमा पनि डेढ घन्टा लाग्छ । ‘हामीले अहिलेसम्म मेसिन प्रयोग गरेका छैनौँ,’ लक्ष्मणले भनेका छन्, ‘आफैं गरौँ भन्ने छ । फेरि दुहुने मेसिन राख्न पनि यहाँ ठाउँ नपुग्ने भयो ।’

लक्ष्मण दूध दुहुन नै व्यस्त भए । अर्कोतिर उनका दाजु रामहरि पनि दूध नै दोहिरहेका थिए । कुराकानीका लागि लक्ष्मणकी आमा दिलकुमारी अग्रसर भइन् । ‘अब त पाँच वर्ष भयो,’ उनले भनिन्, ‘यो फार्म सुरु गरेको । तर, यसरी फार्म बनाएर सुरु गर्नुभन्दा पहिले नै हामीले १०–१२ वटा भैंसी त पालिरहेका नै थियौँ ।’

तै अहिलेभन्दा त्यति बेला गाह्रो हुन्थ्यो दिलकुमारीलाई । छोराछोरी सम्हाल, गाइवस्तुको सबैथोक प्रबन्ध मिलाउन उनी खटिनु पथ्र्यो । अहिले तीन गुणा गाइवस्तु एक्लै सम्हाल्छु भन्ने आत्मविश्वास बढेको छ, दिलकुमारीको । तर, त्यति बेला १० वटा भैंसी नै पनि पाल्न नपरेजस्तो हुन्थ्यो । 

‘अहिलेको जस्तो सजिलो कहाँ थियो र ?’ मुसुक्क हाँसेर दिलकुमारीले भनिन्, ‘अहिले त धेरै व्यवस्थित छ नि, त्यति बेला अहिलेको जस्तो पराल, चोकर हुँदैनथ्यो ।’

अनि दिलकुमारीले खुइय सास फेरिन्, भनिन्, ‘खोले बनाउनै महाभारत हुन्थ्यो त्यति बेला । अहिले त टुँडमा पानी हाल्यो, त्यसमा ढुटो, पिना घोलेर दियो, चोकर दियो, पराल दियो । सकियो ।’

दिलकुमारीले कुरा गर्दागर्दै लक्ष्मण र रामहरिले दूध दोहोर सके । 

त्यसपछि उनीहरु पनि गफिन तयार भए । ललितपुरको सातदोबाटोबाट जम्मा ३५ किलोमिटरको दूरीमा छ, जौबारी, जहाँ फार्म बनाएर गाउँलेका लागि उदाहरण बनेका छन्, लक्ष्मण । त्यहाँ पुग्ने बाटोका खाल्डाखुल्डी र धुलोले त्यसैले उनलाई कुनै ‘इम्प्याक्ट’ पारेको छैन । हुन पनि लक्ष्मण विहान देखि अबेर रातसम्म आफ्नै फार्ममा व्यस्त हुन्छन् । 

लक्ष्मणले गाउँमा कृषि पेशालाई पनि व्यवासायीकरण गर्न सकिन्छ भन्ने उदाहरण मात्र दिएनन्, उनले युवाहरुले गाउँमै बसेर केही गर्न सक्छन् भन्ने सन्देश पनि दिएका छन् । पाँच वर्षअघि उनले सुरु गरेको यस्तै फार्मको अब देखासिकी गर्नेहरु बढेका छन् । उनलाई आफ्ना प्रतिस्पर्धी बढेको चिन्ताभन्दा पनि एउटा खुसीले छोएको छ– गाउँका युवा अब बाहिरिने भएनन् । 

नत्र त जौबारीमा युवाहरु हातका औंलामा गन्न मिल्ने मात्र थिए । जसरी लक्ष्मणले आफ्ना दाइलाई मलेसिया देखि फर्काए, गाउँमा पनि अवसर छ है भन्ने चेतले अरु युवा पनि फर्किने क्रम बढ्दै जानसक्छ । 

अनि लक्ष्मणको यही सुरुवातले माइलो छोरा पनि नेपाल फर्किएको खुसीले पुलकित भएकी छिन्, दिलकुमारी । ‘कान्छोले सुरु गर्यो,’ उनले भनिन्, ‘माइलो पनि आयो, यसले परिवार एकै ठाउँमा पनि हुन पाइएको छ ।’

दिलकुमारीलाई जेठो छोरो पनि फर्किए हुन्थ्यो जस्तो लाग्छ । ‘जेठो त ओशोको सन्यासी भएको छ,’ दिलकुमारीले निन्याउरो मुख लगाइन्, ‘ऊ आउँदैन होला ।’

दिलकुमारी अब अघि बालिरहेको आगोतिर गइन् । 

अब लक्ष्मणले आफ्नो व्यवसायको बेलिविस्तार लगाउन थाले । ‘बैंकबाट ऋण लिएर सुरु गरेको हुँ,’ उनले भने, ‘सुरुमा २० भैंसी ल्याएको थिएँ । तर, यस्तो फार्ममा भैंसी मात्र पाल्नु हुँदो रहेनछ, त्यसैले अहिले गाईहरु पनि थप्दै छु ।’

‘अहिले भैंसी, गाइ र पाडापाडी गरेर ५५ वटा वस्तु छन्,’ उनले थपे, ‘अनि दिन त यसै बितिहाल्छ नि ।’ लक्ष्मण कुराकानी गर्दागर्दै पछाडि गोठबाट एउटा भैंसी करायो । उनी फर्किएर हेरे । 

के लक्ष्मणले यी भैंसी र गाइहरुलाई चिन्नका लागि नाम पनि दिएका छन् त ? 

लक्ष्मणले गोठतिर देखाए । अनि छेउमा रहेको भैंसी देखाउँदै भने, ‘त्यो एउटाको नाम चाहिँ उँट हो, झट्ट हेर्दा उँट जस्तै लाग्यो, त्यही नाम राखिदिएँ । तर, अरु भैंसीको वा गाइको नाम राखेको छैन ।’ एक वर्षमात्र भैंसी पाल्ने र दूध दिन छाडेपछि तिनीहरुलाई बेच्नु पर्ने भएकाले लक्ष्मणले नाम नराखेको पनि बताए ।

त्यसपछि लक्ष्मणले यी पाँच वर्षमा सिकेको अनुभव सेयर गर्ने मनासय देखाए । ‘भैंसी मात्र पाल्दा फ्याट अत्यधिक धेरै हुने,’ उनले भने, ‘गाइ र भैंसीको दूध मिसाउने हो भने फ्याट कम हुँदो रहेछ अनि दूधको मूल्य पनि बढी आउँछ ।’ गोठमा गाइको संख्या बढाउँदै लैजानुमा अर्को पनि कारण छ, लक्ष्मणसँग । ‘गाइ पाल्दा अलिक लामो समय दूध दुहुन पाइने रहेछ,’ लक्ष्मणले भने, ‘भैंसीले दूध दियो भने एक वर्ष देला, तर गाइको अलिक लामो समयसम्म दूध दुहुन पाइन्छ, त्यसैले पनि गाइ थप्नु पर्ने निष्कर्षमा पुगेको हुँ ।’

दूधमात्र होइन, लक्ष्मणले यी गाई–भैंसी पाल्न थालेपछि घर वरपरको खेतबारीमा अग्र्यानिक खेतीपाती गर्न पाएका छन् । किनकि उनको गोठबाट गाईभैंसीको मल सोझै बारीमा पुग्छ । त्यही मल पुग्ने बारीमा लक्ष्मणहरुले गाईभैंसीलाई नै खुवाउन जै छरेका छन् । जै अर्थात् गाईभैंसीलाई दिइने घाँस । पहिले मकै मात्र हुने यो बारीमा अहिले घाँस छरेर लक्ष्मणहरुले वर्षेनी ६ लटसम्म घाँस काट्छन् ।

‘तर, त्यो घाँसले मात्र यतिका गाईभैंसीलाई कहाँ पुग्नु,’ लक्ष्मणले भने, ‘अहिले त दिनहुँ ६० किलो ढुटो, २० किलो चोकर र पिना चाहिन्छ ।’

यी सब हुँदा पनि लक्ष्मणलाई दिग्दारी चाहिँ लाग्दैन । ‘काम नै यही भयो,’ उनी हाँसे, ‘दिनमै भकारो ५ पटक सोहर्छौ तर दिग्दारी चाहिँ लाग्दैन ।’

लागोस् पनि किन, दैनिक २ सय लिटरभन्दा धेरै दूध उनीहरु आफ्नो गोठको आँगनबाटै बेचिरहेका छन् । त्यसका लागि त्यहाँ नै दूध चिस्यान मेसिन जोडेका छन् । त्यही चिस्यान मेसिनबाट दूध सोझै दूध किन्ने गाडीको ट्याङ्कीमा जान्छ । रामहरि र लक्ष्मण दैनिक दूध कति भयो, कति फ्याट आयो भन्नेमा ध्यान दिन्छन् । अनि त्यही अनुसार त्यो दिनका लागि गाइभैंसीको चोकर र घाँसमा ध्यान दिन्छन् । 

यतिका वर्ष भैंसी पालनमा लागेपछि लक्ष्मणसँग अब कस्तो ठाउँमा भैंसी वा गाइ पाल्ने भन्नेबारे पूर्ण ज्ञान भइसकेको छ । त्यसैले भैंसी पाल्दा केही कुरामा निकै ध्यान दिनुपर्छ, उनले भने, ‘ओसिलो ठाउँमा फार्म चलाउन सकिँदैन ।’

उनले सिकेको दोस्रो बुँदा हो– गाईभैंसीलाई चोकर र ढुटोको भरमा होइन, हरियो घाँस नै खुवाएर पाल्छु भन्ने सोच्नु पर्छ । लक्ष्मण गाई भैंसी पाल्नेलाई फराकिलो ठाउँ र सुधारिएको गोठ निर्माण गर्न पनि सुझाउँछन् । ‘गाई–भैंसी पनि लोकल होइनन्,’ उनले भने, ‘उन्नत जातका पाल्दा पैसा अलिक बढी कमाउन सकिन्छ ।’

महिनाको अन्त्यमा हिसाबकिताब गर्छन्, दुई दाजुभाइ मिलेर । 
 

‘महिनामा ६ लाखको दूध बेच्छौँ हामी,’ उनले भने ।

अनि उनले थपे, ‘खासमा काम भनेको स्मार्ट तरिकाले गर्ने हो नि त ! स्मार्ट तरिकाबाट काम गर्ने हो भने गाउँमै व्यवसाय गरे पनि सफल हुन सकिन्छ ।’


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्