भेरी–बबई प्रभावितलाई मुआब्जा वितरण सुरु

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्ददेश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गर्न थालिएको छ । प्रभावितसँग सहमति नगरी मुआब्जा वितरण हुन थालेपछि स्थानीय बासिन्दाले विरोध जनाएका छन् । 

आयोजना प्रभावित क्षेत्रमा बसोवास गर्ने अधिकांशसँग लालपुर्जा छैन । आयोजनाले लालपुर्जा भएका परिवारलाई मात्रै मुआब्जा वितरण गर्न थालेको छ । जसले गर्दा स्थानीय बासिन्दा विरोधमा उत्रिएका हुन् । उनीहरू मुआब्जा र पीडितलाई पुनस्र्थापनाको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन् ।

आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जाका लागि मूल्यांकन समितिले गरेको सिफारिसका आधारमा वितरण गर्न लागेको हो । डुबान क्षेत्रमा अधिकतम प्रतिरोपनी दश लाख रुपैयाँसम्म मुआब्जा उपलब्ध गराउने गरी मूल्यांकन समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको थियो । ऐलानी, दर्ता जग्गा र सडकको पहुँच भए–नभएको आधारमा मूल्यांकन गरिएको आयोजनाले जनाएको छ । 

आयोजनाले स्थानीय बासिन्दाको माग सम्बोधन नगरी मुआब्जा वितरण सुरु गरेको हो । सबै माग सम्बोधन गर्ने गरी आयोजनाले मुआब्जा वितरण थालेको आयोजनाका इन्जिनियर शम्भुराज पण्डितले बताए । आयोजनाले लेकबेँसी नगरपालिकाको लेखफर्सामा र गुर्भाकोट नगरपालिकाको गुमीमा पहिलो चरणको मुआब्जा वितरण गरेको उनले बताए । मुआब्जा दिन आयोजनाले ८५ करोडभन्दा बढी बजेट खर्च गरिसकेको छ ।  





  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार ०:३४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया