काे हुन् बंगलादेशी राष्ट्रपति हमिद ?

काठमाडौं- छिमेकी मित्रराष्ट्र एवम् दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सक्रिय सदस्य राष्ट्र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार चारदिने नेपाल भ्रमणका लागि आइपुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा आएका उनी सन् २०१३ को अप्रिलदेखि बंगलादेशको १९औँ राष्ट्रपतिका रुपमा कार्यरत छन् । सन् १९४४ जनवरी १ मा जन्मिएका हमिद सन् २००९ देखि २०१३ को अप्रिलसम्म ब‌गलादेशको माथिल्लो सदन नेसनल पार्लियामेन्टको सभामुख थिए । 

कानुनका जानकार राष्ट्रपति हमिदले पटकपटक किशोरीगञ्ज बार एसाेसिएसनको सभापतिको रुपमा समेत आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । किशोरीगञ्ज जिल्लाको कमलपुरमा गाउँमा जन्मिएका राष्ट्रपति हमिदले स्नातकसम्म अध्ययन गरेका छन् । 

सन् १९५९ मा छात्र लिगबाट राजनीति सुरु गरेका राष्ट्रपति हमिदले सन् १९७० देखि निरन्तर निर्वाचित हुने अवसर पाउँदै आएका छन् । यसबाट नै उनको लोकप्रियताको पुष्टि हुन जान्छ । 

पूर्वी पाकिस्तानको रुपमा परिचित ब‌ंगलादेशको निर्वाचनमा सन् १९७० मा उनले युवा उमेरमा नै निर्वाचित हुने अवसर प्राप्त गरे। सन् १९७३, १९८६, १९९१, १९९६, २००१ र २००९ मा भएको संसदीय निर्वाचनमा उनले लगातार आफ्नो पक्षमा जित निकाले । 

अवामी लिगबाट पटकपटक निर्वाचित हमिदले पछिल्लोपटक किशोरीगञ्ज निर्वाचन क्षेत्र नं ५ विजयी भए । उनले सन् १९७१ मा भएको बंगलादेशको स्वतन्त्रता युद्धमा पनि सक्रिय सहभागिता जनाएका थिए । उनलाई बंगलादेश स्वतन्त्र भएको अवसरमा आयोजित विशेष समारोहमा सन् २०१३ मा स्वतन्त्रता दिवस सम्मानसमेत प्रदान गरिएको छ ।



तीन छोरा र एक छोरीका पिता हमिदले सन् १९६४ मा रसिदा हमिदसँग विवाह गरेका थिए । संसारकै अत्याधिक घना बस्ती भएको देशको रुपमा परिचित बंगलादेशलाई सुरुआती चरणमा पूर्वी पाकिस्तानको रुपमा चिनिन्थ्यो । करिब १६  कडोड जनसंख्या रहेको बंगलादेशमा इस्लाम, हिन्दू र बौद्ध धार्मिक समुदायको बसोबास छ । यहाँ ‘टाका’ नामक मुद्रा प्रचलनमा रहेको छ । 



  • प्रकाशित मिति : कात्तिक २६, २०७६ मंगलबार १५:१६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया