किन राजीनामा दिए बोलिभियाका राष्ट्रपतिले, किन लिए मेक्सिकोमा शरण ?
याे इभाे माेरालेसले नै आफ्नाे ट्विटरमा राखेकाे तस्वीर हाे ।

एजेन्सी– बोलिभियाका राष्ट्रपति इभो मोरालेसले पदबाट राजीनामा दिएपछि छिमेकी देश मेक्सिकोमा शरण लिएका छन् । उनले आफ्नो ज्यानलाई खतरा भएको भन्दै मेक्सिकोमा शरण मागेका थिए ।

मोरालेसले निर्वाचनमा गडबढी गरेको आरोप लागेको थियो । यही कारण बोलिभियामा व्यापक ठूलो प्रदर्शन भयो । त्यही प्रदर्शनका कारण उनले राजीनामा दिएका थिए । 

माइक्रो ब्लगिङ साइट ट्विटरमा उनले बोलिभिया छोड्नु पर्दा अत्यन्त दुःख लागेको तर आफू थप तागत र ऊर्जा लिएर फर्किने बताएका छन् । उनले ट्विटरमा एउटा तस्वीर पनि हालेका छन् । त्यसमा उनी जमीनमा लामखुट्टेको झुल लगाएर पल्टिरहेको देखिन्छ ।

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एबरार्डले यो कुराको पुष्टि गरेका छन् कि मोरालेस मेक्सिको सरकारको विमानमा बोलिभियाबाट मेक्सिकोका लागि उडान भरेका थिए । मेक्सिकोमा वामपन्थी झुकाव भएको सरकारले मोरालेसको समर्थन गरेको थियो ।

एबरार्डले चाहिँ बोलिभियामा मोरालेसले राजीनामा दिनु परेको घटनालाई कूको संज्ञा दिएका छन् । उनले यसलाई सैनिक हस्तक्षेप भएको बताएका छन् । 

यसबीच बोलिभियाका सैन्य कमान्डरले सेनालाई प्रहरीलाई सहयोग गर्न आदेश दिएका छन् । मोरालेसका समर्थकसँग प्रहरीको झडप हुँदा कम्तिमा पनि २० प्रहरी घाइते भएका छन् । ती प्रहरीलाई सेनाले सहयोग गर्नु पर्ने मोरालेसले बताएका छन् ।



सन् २००६ मा पहिलो पटक राष्ट्रपति चुनिएका मोरालेस बोलिभियाका लोकप्रिय नेता हुन् । उनको गरिबीसँग लड्ने नीति तथा अर्थतन्त्रमा सुधार ल्याउने विषयको बारम्बार प्रशंसा भइरहेको थियो । 

तर, अक्टोबरमा भएको निर्वाचनमा उनले उम्मेदवारी दिने भएपछि यसको विरोध हुन थालेको थियो । खासमा त्यहाँको संविधानले मोरालेसलाई चौथो पटक निर्वाचन लड्न दिँदैनथ्यो । त्यसपछि निर्वाचनमा व्यापक अनियमितता भएको आरोप लाग्न थाल्यो । 



राष्ट्रपति निर्वाचनमा मोरालेसले जिते । तर, उनलाई पद छाड्न र राजीनामा दिन बारम्बार दबाब बढ्दै गयो ।

अमेरिकी एक रिपोर्टले पनि अक्टोबरमा भएको निर्वाचनमा व्यापक धाँधली भएको जनायो । मोरालेसले अर्को निर्वाचन गर्ने तयारी पनि गरिसकेका थिए । तर, उनका प्रमुख प्रतिद्वन्द्वी कार्लोस मेसाले मोरालेस चुनावमा लड्न नपाउने सर्त राख्न थाले । 

यही विषयमा त्यहाँका सेना प्रमुख जनरल विलियम्स कलिमनले हस्तक्षेप गरे र मोरालेसलाई राजीनामा दिन अपिल गर्न थाले । मोरालेसले आफ्नो दल र अन्य साथीहरुलाई नधम्क्याइयोस् भनेर आफूले राजीनामा दिने निर्णय लिएको बताए । 

अब फेरि अर्जेन्टिना र बोलिभियामा उनको राजीनामाको विरोधमा पनि प्रदर्शन सुरु भएको छ ।

  • प्रकाशित मिति : कात्तिक २७, २०७६ बुधबार ११:२०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया