Sat, 07 Dec, 2019


सारङ्‌गीमा कस्तो क्रान्ति गर्न खोज्दै छन् किरण नेपाली ?
फरकधार / कात्तिक २७, २०७६

किरण नेपालीका हजुरबाले सारङ्गी बजाएर जीविकोपार्जन गरे ।



किरण नेपालीका बाबु हरिशरण नेपालीले सारङ्गी बजाएरै जीविकोपार्जन गरे । 

आफ्ना हजुर बाले पनि सारङ्गी नै बजाउने गरेको हरिशरण छोरा किरणलाई सुनाउँथे । त्यसअघि पनि किरण नेपालीका पुर्खाहरु सारङ्गी नै बजाउँथे, आफ्नो पेशा नै त्यही बनाएका थिए । 

यही एउटा कारणले बाबु हरिशरणले किरणलाई भने– तँ सारङ्गी छुँदै नछुनू । अनि किरणलाई २० वर्षको हुँदासम्म हरिशरणले सारङ्गी छुनै दिएनन् । उल्टै गितार किनेर ल्याइदिए र किरणलाई दिए ।

किरणले चाहिँ बाबुले ल्याइदिएका ती गितारका कर्डलाई मनमा राख्न सकेनन्, सारङ्गीतिरै लोभिए उनी । 

‘सारङ्गी बजाउने हो भन्दा सम्मान होइन, यो समाजबाट अपमान मिल्थ्यो,’ किरणले बाबुले सारङ्गी बजाउन नदिनुको कारण खुलाए, ‘त्यसैले बुबा मलाई गितार बजाओस्, मोर्डन होस् र समाजबाट पनि सम्मान पाओस् भन्ने चाहनुहुन्थ्यो ।’

यो त्यही समय थियो, जतिबेला काठमाडौंमा गितार कल्चर हुँर्किदो थियो । काठमाडौंमा हिप्पीहरुले गितारलाई झन् पपुलर बनाइदिएका थिए । किरण पनि बाबुले थमाइदिएको गितार बोकेर हिँड्न थाले, सहरका कुनाकुनामा पुग्न थाले । 

किरण नेपालीकाे कार्यालय ।

किरणले गितार झुन्ड्याएर हिँडिरहेका थिए । संगीतमा लागिरहेको छु भनेर उनको मन खुसी भइरहेको थियो । ‘केही चाहिँ छुटाएको छु जस्तो पनि लागिरहेको थियो,’ किरण २० वर्षे उमेरमा फर्किन्छन्, ‘संगीतको धोको पूरा त गरिरहेको थिएँ, मनमा चाहिँ केही पछाडि छुटिरहेको जस्तो लागिरहेको हुन्थ्यो ।’

किरण कीर्तिपुरस्थित आफ्नो घरको एउटा कोठामा गितारका तारहरुमा औंला डुलाइरहेका हुन्थे । अर्को कोठामा किरणका बाबु सारङ्गी बजाउन एक हुल ‘केटा’हरुलाई सिकाइरहेका हुन्थे । औंलाहरुले गितारको स्ट्रिङबाट निकालिरहेका आवाजले किरणको कानलाई सन्तुष्ट त बनाइरहेको हुन्थ्यो, उनको मनलाई चाहिँ लोभ्याउन सकिरहेको थिएन । 

‘अनि म कोठाको झ्यालबाट बुबाले सिकाइरहेको ठाउँमा हेर्थेँ,’ किरणले भने, ‘त्यसरी चोरी चोरी हेरेर नै मैले सारङ्गी सिकेँ, बुबाले मलाई औपचारिक रुपमा कहिल्यै सिकाउनु भएन ।’

बाबुले अरुलाई सिकाउँदा किरणले हेरेर नै सारङ्गी बजाउन सक्छु भन्ने सोच्न थाले, उनले बाबुसँग सारङ्गी माग्ने हिम्मत जुटाए । यतिबेला किरण २० वर्षका भइसकेका थिए । उनी एक दिन कस्सिएर बाबु भएको ठाउँसम्म पनि पुगे । तर, मुखबाट खोल्न चाहिँ सकेनन्– मलाई सारङ्गी चाहियो । 

बाबुलाई भन्न नसकेपछि किरणले अर्को उपाय रोजे– आमालाई भन्ने । आमाले उनलाई खुसुक्क एउटा सारङ्गी ल्याएर दिइन् । 

खासमा किरणले यो उमेरसम्म सारङ्गी बजाएका मात्र थिएनन्, पढ्न चाहिँ सारङ्गीबारे जति चाहिन्छ, त्यति पढिसकेका थिए । 

‘सारङ्गीको जुन इतिहास छ, त्यसले नै मलाई सारङ्गीप्रति लोभ्याएको हो,’ किरणले भने, ‘सारङ्गी त स्वर्गमा पनि बजाइने साधन हो । हिन्दू ग्रन्थहरुमा स्वर्गमा गन्धर्वहरुले सारङ्गी बजाउने गरेको र अप्सराहरु नाचेको उल्लेख गरिएको छ ।’ 

स्वर्गमा पनि बजाइने यही धुनले किरणलाई लालायित बनायो, उनले सारङ्गीमा नै जीवन बिताउने सपना बनाउन थाले । 

अहिले किरणले आफ्नो अफिसमा पनि सारङ्गी स्वरुपमा सजावटका सामग्रीहरु तयार पारेका छन् । उनको किरिङ सारङ्गी नै हो, उनको टेबलमा पनि सारङ्गी आकारकै पेपरवेट छ, उनको भित्तामा पनि सारङ्गी टासिएको छ । 

अनि यही सारङ्गीमा क्रान्ति गर्न चाहिरहेका छन्, किरण । तर, कस्तो क्रान्ति ? 

‘सारङ्गीको यो मौलिक धुन संसारभर संगीतमा इन्ट्री गराउन मन छ,’ किरणले भने, ‘हामी नेपाली त सारङ्गीको धुनमा नाचिहाल्छौँ, विश्वभरका अरु देशमा पनि सारङ्गी धुन सुनेपछि नाच्ने मुड क्रिएट गर्न मन छ ।’

हिपहप होस् या रक, र्याप होस् या मेटल, आरएन्डबी होस् या ब्लूज, सबैलाई सारङ्गीको धुन फिट हुन्छ भन्ने सोच्छन्, किरण । किरणसँग यो आत्मविश्वास छ । सँगसँगै उनले नेपालमा नै सारङ्गी त्यति लोकिप्रय नहुनुको कारण पनि फेला पारेका छन्, ‘नेपालमा संगीतमा क्रान्ति हुन सकेन, सारङ्गीको काम नै सन्देश दिने गाइनेले मात्र बजाउने हो भन्ने सोचियो । यो सोचमा परिवर्तन ल्याउने हो भने हाम्रो मौलिक धुनले विश्वमा तहल्का मच्चाउन सक्छ ।’

सहरमा युवाहरु बाइक मोडिफाइ गरेर चलाउन अभ्यस्त छन् । यही मोडिफिकेसनको सुरलाई किरणले सारङ्गीमा एडप्ट गरेका छन् । उनले सारङ्गीमा नयाँ प्रविधिमा काम गर्ने जमर्को गरेका छन्; सारङ्गीलाई स्ट्यान्डमा राखेर बजाउने प्राक्टिस गरेका छन्; सारङ्गीलाई लाउड स्पिकरमा जोड्ने प्रयास गरेका छन्; प्रविधिसँग अगाडि बढ्न अझ थप के गर्न सकिन्छ भन्ने अध्ययन गरेका छन् । 

अनि युवाहरुलाई सारङ्गीमा आकर्षित गर्न पछिल्लो समय विश्वमा सबैभन्दा चर्चित गीत देसपासितोमा पनि सारङ्गीको धुन मिसाएर सुनाएका छन्, रेशम फिरिरि र अरु गीतहरुमा पनि सारङ्गीको धुन दिएका छन् । ‘पछिल्लो समय चलेका गीतमा पनि सारङ्गको धुन मिसाउन सकिन्छ भन्ने थाहा पाउँदा युवाहरु यसमा अझ बढी आकर्षित हुँदा रहेछन्,’ किरणले भने, ‘यसले त सारङ्गीलाई फेरि नेपाली संगीतको दुनियाँमा स्थापित गराउन सहयोग पुग्छ भन्ने लागेको छ ।’

यतिमात्र होइन, सारङ्गी बोकेर किरण नेपालका स्कुलस्कुलमा पुगेका छन् । ‘स्कुले बालबालिका चाहिँ पहिले सारङ्गीमा चर्चित गीत बजाउन सकिँदैन भन्ने सोच्ने रहेछन्,’ किरणले अनुभव सँगालेका छन्, ‘जब हामी नयाँ गीतहरुमा पनि सारङ्गीको धुन भरिदिन्छौँ, उनीहरु यसप्रति आकर्षित भइहाल्छन् ।’ 

सारङ्गीको धुनमा जादू छ, जसले यो जादूलाई बुझ्न सक्छ, यसको सारङ्गीको मोह कहिल्यै सकिँदैन । विहान उठ्दादेखि राति अबेर सुत्दासम्म बाबुले बजाएको सारङ्गीको धुन सुन्ने गरेका किरण स्वयं यसका उदाहरण हुन् । 

त्यही धुनमा अहिले किरणले नेपालका मात्र होइन, अष्ट्रेलिया र युरोपका बालबालिकालाई लोभ्याइदिएका छन्, त्यहाँका संगीतप्रेमीलाई सारङ्गीका तारसँग खेल्ने बनाइदिएका छन् । 

यहाँसम्म आइपुग्न किरणले एउटा लामो यात्रा गरेका छन् । 

 

सारङ्‌गी बजाउने प्रिन्सकाे कथा पनि नछुटाउनुहाेस्:

 

 

यो यात्राको सुरुवाती क्षण हो, कुटुम्ब ब्यान्डमा समावेश भएर उनले सारङ्गी बजाउँदाको । यो सन् २००८ को कुरा हो । किरणले त्यति बेला सारङ्गी बजाउन थालिसकेका थिए । एक दिन उनलाई कुटुम्ब ब्यान्डबाट अप्रोच गरियो । 

‘मैले मानेँ,’ उनले भने, ‘त्यति बेलासम्म मलाई खासै कसैले पनि चिन्दैनथ्यो, तर कुटुम्बबाट अफर आयो । मैले स्वीकारेँ ।’

त्यसको केही समयपछि उनीहरु जनकपुरमा कन्सर्टका लागि जाने भए । त्यही कन्सर्टमा पहिलो पटक किरणले सयौँ दर्शकको अगाडि सारङ्गी बजाए । 

‘अहिले त सारङ्गी बजाएर विश्वका विभन्न देश पुगिसकेको छु,’ उनले भने, ‘जनकपुरमा त्यतिका मान्छेका अगाडि पहिलो पटक सारङ्गी बजाउँदा मैले सारङ्गीकै कारण विश्वका अनेक देश घुम्छु भन्ने सोचेको पनि थिइनँ ।’ विदेश घुम्दाको प्रसंग आउँदा किरण फ्रान्समा सारङ्गी बजाएको कहिल्यै बिर्सन सक्दैनन् । 

यो पनि त्यही वर्षको कुरा हो । सारङ्गी बजाउन फ्रान्स पुगेका थिए, किरण । ‘त्यहाँ समुद्री किनारमा सारङ्गी रेटिरहेको थिएँ,’ उनले भने, ‘अचानक मेरो बो झर्यो । टिप्न गएँ ।’

बो टिपेर फर्किएका किरणको आँखा एकैछिन अगाडि राखेर गएको सारङ्गीमा पर्यो । ‘सारङ्गी देख्नेवित्तिकै मैले सम्झिएँ– यसले मलाई यति ठूलो अवसर दिएको छ, मैले यसलाई केही दिन सकेको छैन,’ किरणले सम्झिए, ‘त्यही ठाउँबाट मैले प्रण गरेँ– सारङ्गीका लागि मैले केही गर्नै पर्छ ।’

त्यो सपनालाई साकार पार्न उनी नेपाल फर्किए लगत्तै काम गर्न थाले ।

उनको पहिलो काम थियो– सारङ्गी बनाउने ठाउँहरु खोज्ने । उनी काठमाडौंका केही ठाउँहरु पुगे जहाँ उनका बाबुले सारङ्गी बनाइन्छ भन्ने जानकारी दिएका थिए । विडम्बना ! उनी जहाँ पुगे, त्यहाँ सारङ्गी होइन, अरु नै फर्निचर बनाउन थालिएको थियो । 

‘त्यसपछि मैले दाइहरुको सहयोग मागेँ,’ किरणले भने, ‘दाइले भन्नुभयो– २० वर्षअगाडि त मैले आफैंले सारङ्गी बनाएको थिएँ ।’

त्यसपछि दाइलाई नै नयाँ नयाँ सारङ्गी बनाउन लगाए किरणले । ती नयाँ सारङ्गीमा मोडिफिकेसन पनि उनले सुरु गरे । 

यो खासमा किरणको प्रोजेक्ट सारङ्गी नामबाट सुरु भएको अभियान थियो । यही नामबाट उनले केही मानिसहरुलाई सारङ्गी बजाउन सिकाउन पनि थाले । ‘२०१२ मा सुरु भएको प्रोजेक्ट सारङ्गीले केही व्यक्तिहरुलाई सारङ्गी बजाउन पनि सिकायो,’ किरणले भने, ‘तर, अब सारङ्गी कहाँ बजाउने भन्ने अर्को प्रश्न जन्मियो ।’

यसअघिसम्म पनि सारङ्गी गाइनेले नै बजाउने हो र त्यसले विरक्त वा शोकका कुरालाई बढी प्राथमिकता दिन्छ भन्ने कुरा नै यथावत् समाजमा रहिरहेको थियो । त्यसलाई परिवर्तन गर्ने मुडमा फ्रान्समा हुँदा नै किरण पुगिसकेका थिए । 

हाम्रो सआयोजना गरेमाजको त्यही सोचलाई परिवर्तन गर्न किरणले एउटा कार्यक्रम , गहनापोखरीमा । त्यहाँ बाइस जना सारङ्गीवादक आए । त्यही कार्यक्रममा उनका बाबु हरिशरण नेपाली पनि आए । ‘बुबाको त्यो उपस्थितिले छुट्टै ऊर्जा मिल्यो,’ किरणले भने, ‘यो सारङ्गीप्रतिको धारणा परिवर्तन गर्ने मेरो कोशिस थियो, त्यसैले कार्यक्रमको नाम पनि मैले जमर्को राखेको थिएँ ।’

सारङ्गीले आफूलाई दिएको अवसर र पहिचानको गुण तिर्न किरणले सक्लान् वा नसक्लान्, त्यही कार्यक्रमका कारण चाहिँ उनले सारङ्गीमा लागेर पनि राम्रो गरेछु भन्ने आभास चाहिँ गर्न पाए । ‘मलाई सारङ्गी नछो भन्ने मेरो बुबा नै कार्यक्रममा सारङ्गी बजाउन आउनु भएको थियो,’ किरणले लामो सास ताने, मुसुक्क हासे, कुपन्डोल अरुण थापा चोकमा रहेको अफिसको भित्तामा झुन्ड्याइएका सारङ्गीतिर एक छिन हेरे र भने, ‘मैले जीवनमा पाएको सबैभन्दा ठूलो सफलता नै त्यही हो ।’

यही जमर्को कार्यक्रमलाई त्यसपछि निरन्तर गरिरहेका छन्, किरणले । २०१७ र २०१८ मा उनले यो कार्यक्रम पाटनमा गरे । प्रत्येक वर्ष उनको कार्यक्रममा सहभागी हुने मानिसहरुको संख्या बढिरहेको छ । ‘त्यो त सारङ्गीप्रतिको माया र मोह पो बढेको हो,’ उनी भन्छन्, ‘अहिले जमर्को कार्यक्रम कति ठूलो भइसकेका छ भने सारङ्गीको धुन सुन्न आउने दर्शकहरुको व्यवस्थापन गर्न नै गाह्रो हुन थालिसकेको छ ।’ त्यसैले किरणले अब जमर्को नाममा थप अर्को एउटा शब्द पनि थपेका छन्– जमर्को मेला । अनि यो मेलामा अरु नेपालका वाद्यवादनका साधनहरुको प्रस्तुती हुने भएको छ । 

सन् २०१९ का लागि उनले आउँदो शनिबार (३० कार्तिक) यो कार्यक्रम गर्दैछन् । 

त्यही सफलतालाई उनी आफ्नो जीवनको सुनौलो क्षण मान्छन् । त्यो सूनमा उनले सुगन्ध थप्ने प्रयास गरे– प्रोजेक्ट सारङ्गीको कार्यालय नै स्थापना गरे जहाँ उनले त्रैमासिक रुपमा सारङ्गी भेला आयोजना गर्छन्; जहाँबाट उनले सारङ्गी बेच्छन्; जहाँ उनले सारङ्गी पनि सिकाउँछन् ।

यही प्रोजेक्ट सारङ्गीले मार्च महिनालाई सारङ्गी महिनाका रुपमा पनि मनाउन थालेको छ । यो महिनाभर किरण आफैं सारङ्गीवादकहरुलाई रेस्टुरेन्टहरुमा सारङ्गी बजाएर पर्फम गर्ने अवसर जुटाउन अग्रसर हुन्छन् ।

किरणले यो बीचमा अनुभव गरेका छन्, सहरमा सारङ्गी प्रतिको नजर फेरिँदै छ । 

‘अब यसलाई गाइनेको बाजा मात्रै चाहिँ भन्दैनन् भन्ने लागेको छ,’ किरण हासे, ‘यो त अब नेपालीको बाजा भइसकेको छ, ठूलाठूला स्टेजमा पनि सारङ्गी सुन्न थालिएको छ ।’

त्यही सारङ्गीको धुनले अब विस्तारै आफ्नो छुट्टै साम्राज्य बनाउँदै छ, जुन उनका हजुरबाले बजाए । 

जुन उनका बाबुले बजाए । 

जुन उनका बाबुले उनको हातमा नहोस् भन्ने चाहे । 

अब त किरणको हातमा सारङ्गीमा देख्दा सबैभन्दा बढी खुसी कोही हुन्छ भने, हुन्छन् उनकै बुबा हरिशरण नेपाली । 

तिनै हरिशरण नेपाली जसले कुनै समय किरणलाई भनेका थिए– तँ सारङ्गी छुँदै नछुनू ।

‘अब त बुबाले तँ सारङ्गी छोड्दै नछोड्नू भन्नुहुन्छ,’ किरणले लामो मुस्कान दिए ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्