सार्वजनिक सुनुवाइमा विष्णु पौडेललाई प्रश्न : जनतासामु गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ?

रुपन्देही– चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेताज्यू ?  जनताले यस्तो प्रश्न सोध्दा प्राय : नेताहरुको बोली नै बन्द हुन्छ । कतिपय नेताको शिर निहुरिन्छ । केहीले असहज परिस्थितिलगायतका कारण देखाएर जनताका प्रश्न थामथुम गर्ने प्रयास गर्छन् । तर, रुपन्देहीमा भने त्यस्तो भएन ।

चुनावी प्रतिबद्धताको समीक्षासहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका प्रश्नको जवाफ दिन उपस्थित भएका यहाँका नेताले शिर ठाडो पारेर बोले । नेताहरुले चुनावी प्रतिबद्धताअनुरुप भइरहेका विकासे आयोजनाको फेहरिस्त जनतासामु राख्दा यहाँका सर्वसाधारण खुसी हुँदै ताली बजाए ।  

नमस्ते नेपाल नामक संस्थाले बुधबार साँझ शंकरनगरमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा रुपन्देही क्षेत्र नं– २ का सांसद विष्णु पौडेल, क्षेत्र नं २ का प्रदेशसभा सदस्य लीला गिरी र तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलाई निम्ता गरिएको थियो । 

कार्यक्रममा आयोजकले चुनावअघि जनतासामु गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ? भनेर प्रश्न गर्दा सांसद विष्णु पौडेलले आफूले सम्पन्न गरेका कामको लामो सूची प्रस्तुत गरे । गौतम बुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको प्रगतिदेखि भैरहवा बुटवल ६ लेन सडक, अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र, स्थायी प्रदर्शनी केन्द्र, सरकारी मेडिकल कलेज, तिनाउ नदीमा निर्माण भइरहेका पाँचवटा पक्की पुल, ४ लेन बन्दै गरेको बुटवलको कालीकापथ, मोतिपुर औद्योगिक क्षेत्र, बेलवास नुवाकोट तथा बेथरी बेलवास पर्यटन सडक, बुटवल र सैनामैनाका नगर परिक्रमा पथलगायतका ठूला–ठूला विकासे आयोजनाका प्रगतीका विषयमा जानकारी दिए । 

पौडेलले आफ्नो निर्वाचन क्षेत्रमात्रै होइन, सिंगाे रुपन्देहीलाई विकासको नमुना जिल्ला बनाउने प्रतिबद्धता गर्दा मतदाता खुसीले गदगद भए । कालीगण्डकी डाइभर्सन प्रक्रिया, मोतिपुर औद्योगिक क्षेत्र निर्माण, सैनामैनामा नमुना संग्रहालय निर्माणजस्ता महत्वपूर्ण आयोजना निर्माणको काम पूरा गर्न स्रोत पहिचान गरी बजेटको व्यवस्था गर्ने उनले बताए ।

महासचिव पौडेलले भैरहवा–लुम्बिनी सडक, लुम्बिनी–तौलिहवा सडक, बुटवल– बेथरी सडक, बुटवल– नारायणगढ सडक, बुटवल–कोहलपुर, बुटवल–पोखरा सडक निर्माण तथा स्तरोन्नतिपछि रुपन्देही उच्चस्तरको सडक सञ्जालले विभिन्न जिल्लासँग जोडिने बताए । 





  • प्रकाशित मिति : कात्तिक २८, २०७६ बिहीबार १५:२९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया