काठमाडौं– तीन वर्षपहिले विद्युत्भार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आमउपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ ।
प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्सन) चुल्हो प्रयोगका लागि आग्रह गर्न लागेको हो । प्राधिकरण आफैँले प्रक्षेपण गरेको योजनाअनुसार नै वार्षिक १० प्रतिशतको दरमा विद्युत्को माग बढ्नुपर्ने थियो । तर, पछिल्ला दिनमा प्राधिकरणको अपेक्षाअनुसार विद्युत् माग बढ्न सकेको छैन ।
प्राधिकरणले उपभोक्ताले चाहे जति विद्युत् प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्ममा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्दै विद्युत् खपतको रणनीतिक योजना अगाडि सारेको हो । यस्तै, वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तररूपमा अगाडि बढाउने लक्ष्यका साथ काम सुरु गरिएको छ ।
हाल प्राधिकरणको प्रणालीमा आफ्नै आयोजनाबाट १० हजार ६ सय ४२ मेगावाट, निजी क्षेत्रबाट नौ हजार ३ सय २१ मेगावाट विद्युत् उपलब्ध छ । चालू आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा उपलब्ध हुने विद्युत्को मात्रा हाल उपलब्ध भएको भन्दा बढी हुनेछ । त्यस आधारमा पनि विद्युत् खपत बढाउनुपर्ने बाध्यतामा प्राधिकरण पुगेको छ ।
सोही अवस्थालाई मध्यनजर गरेर प्राधिकरणले वितरण केन्द्रलाई आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण ट्रान्सफर्मरमा विद्युत्को लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी ट्रान्सफर्मर थप गर्न स्तरोन्नतिको कामलाई अगाडि बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उत्पादित विद्युत् खेर जान नदिई खपत बढाउनका लागि वितरण प्रणालीको सुदृढीकरण गर्नु आजको प्रमुख चुनौती रहेकाले तत्कालै काम सुरु गर्नु जरुरी भइसकेको बताए ।
‘विद्युत् खपत बढाउन घरघरमा इन्डक्सन चुलोको प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टेसन खोल्ने गरी अगाडि बढिरहेका छौँ, इन्डक्सन चुल्हो र चार्जिङ स्टेसनको लोड धान्ने गरी संरचनागत व्यवस्था गर्नु जरुरी भइसकेको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।
प्राधिकरणले विशेषगरी काठमाडौं उपत्यकामा रहेका ट्रान्सफर्मरको लोड ५० प्रतिशतभन्दा तल रहने गरी ट्रान्सफर्मरको सुदृढीकरण गर्ने तयारी थालेको र कार्यान्वयनका लागि पनि सम्बन्धित वितरण केन्द्रले उत्तिकै ध्यान दिनु जरुरी भइसकेको उनको भनाइ छ ।
उपभोक्ताले चाहिए जति विद्युत् खपत गर्ने वातावरण बनाउन पनि वितरण प्रणाली विश्वसनीय र भरपर्दो बनाउनुपर्नेछ । कार्यकारी निर्देशक घिसिङले वितरण प्रणालीको सुदृढीकरणका लागि आवश्यक बजेट अभाव हुन नदिने बताए । उनका अनुसार उपभोक्ताको घरघरमा विद्युत् पुर्याउन प्राधिकरणले ५०, १००, २००, ३०० र ५०० केभिए क्षमताका वितरण ट्रान्सफर्मर प्रयोग गर्दै आएको छ ।
प्राधिकरणले तीन वर्षमा नयाँ निर्माण तथा स्तरोन्नति गरी ७ सय ६५ एमभिए क्षमताका वितरण सबस्टेशन प्रणालीमा थप गरेको छ । करिब १० हजार वितरण ट्रान्सफर्मर थप जडान गरी करिब एक हजार मेगावाट बराबरको वितरण क्षमता बढाइएको छ । यसलाई अझै बढाउनुपर्ने अवस्था रहेको छ ।
चालू आर्थिक वर्षमा निर्माणाधीन माथिल्लो तामाकोशी (४५६ मेगावाट) लगायतका जलविद्युत् आयोजनाहरुको निर्माण सम्पन्न भई करिब एक हजार ३ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने प्रक्षेपण छ ।
सरकारले विद्युत्को पहुँच र खपत बढाउन तीन वर्षभित्रमा मुलुकभर शत्प्रतिशत विद्युतीकरण गर्ने योजना अगाडि सारेको छ । प्राधिकरणले यसलाई कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण भएको जिल्लाका रूपमा घोषणा गर्ने तयारी गरेको छ ।
उत्पादित विद्युत्लाई खेर जान नदिन खपत बढाउनु नै अहिलेको मुख्य चुनौती र समस्या रहेको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले भने, ‘समस्या समाधानका लागि माग बढाउन बढीभन्दा बढी मिटर वितरण गर्ने, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्ने र उद्योगलाई विद्युत् आपूर्ति दिन सहजीकरण गर्नुपर्छ ।’
विद्युत् खपत बढाउने लक्ष्यका साथ प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनमा लाग्दै आएको थप शुल्कसमेत घटाएको छ । त्यसबाट उद्योगीले थप विद्युत् खपत गर्ने वातावरण तयार हुने विश्वासमा प्राधिकरण छ ।
यस्तै उपभोक्तालाई मिटर लिन प्रोत्साहित गर्ने, जग्गाधनी पुर्जा नभएका भूमिहीन तथा सुकुम्वासीलाई पनि मिटर सहज रूपमा दिने, स्थानीय तहको सिफारिसविना नै मिटर जडान गर्ने, अति विपन्नलाई निःशुल्क मिटर वितरण दिने काम पनि प्राधिकरणले गरिरहेको छ । यसबाट विद्युत् खपत बढ्ने प्राधिकरणको अपेक्षा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।