Sat, 07 Dec, 2019


३१ वर्षदेखि खुत्रुके बनाइरहेका सूर्यमान
फरकधार / मंसिर १, २०७६

काठमाडाैं– बाजेले खुत्रुके बनाउने काम गरे । 



बाले खुत्रुके बनाउने काम गरे । 

अनि अहिले सूर्यमान प्रजापती पनि खुत्रुके नै बनाइरहेका छन् । 

त्यसैले उनलाई आफूले कहिलेदेखि खुत्रुके बनाउन माटो मुछेको हो भन्ने ठ्याक्कै सम्झना छैन । ‘बाजेदेखि गरेको यो काम कसरी थाहा हुनु,’ खुत्रुके बनाउन माटोलाई मेसिनमा हालेर सेप दिइरहेका सूर्यमानले भने, ‘मैले त खुत्रुकेसँगै खेलेँ, खेल्ने उमेर पनि मेरो खुत्रुके बनाएरै गयो ।’

अहिले ४४ वर्षका भए सूर्यमान । भक्तपुरको तालाकुमा उनी प्रत्येक दिन माटोसँग खेलिरहेका हुन्छन्, जसलाई विभिन्न भाँडाकुँडाको आकार दिन्छन्, उनी । 

‘विहानै आउँछु,’ उनले भने, ‘फर्किँदा त राति आठ बजिसकेको हुन्छ ।’

शनिबार उनको खुत्रुके फ्याक्ट्रीमा पुग्दा उनी श्रीमती रन्जना प्रजापतीसहित खुत्रुके नै बनाइरहेका थिए । उनले मेसिनमा बनाएका खुत्रुके निकाल्दै अर्को एकजनालाई दिइरहेका थिए, जो खुत्रुकेमा पैसा खसाल्ने प्वाल बनाइरहेकी थिइन् । 

‘मलाई यो काममा श्रीमतीले सघाएकाले निकै सहज भइरहेको छ,’ सूर्यमानले पुलुक्क रन्जनालाई हेरे, हाँसे अनि भने, ‘उसले माटो मुछिदिएपछि यो काम गर्न अलिक सजिलो हुन्छ ।’

सूर्यमानसँग कुराकानी गर्न थालेपछि छेवैमा आइपुगेकी रन्जनाले पनि यसमा समर्थन जनाइन् । टाउको हल्लाएर उनले भनिन्, ‘बच्चाबच्ची स्कुल पठाएपछि यहाँ सहयोग गर्न आउँछु । अब आफ्नो श्रीमान् नै खुत्रुके बनाउने भएपछि माटो मुछिदिन गाह्रो मान्नु पनि भएन नि !’

गाउँघर होस् या सहरबजार नेपालमा खुत्रुकेको चलन आएको निकै भइसकेको छ । यो खुत्रुकेले कतिसम्म मार्केट लिएको छ भने नेपालका ठूला वाणिज्य बैंकहरुले पनि बेलाबेला खुत्रुके बचत भन्दै विभिन्न सेभिङ योजना ल्याइरहेका हुन्छन् । घरघरमा ससाना नानीहरु खुत्रुकेमा पैसा हालेर भरिएपछि केही विशेष कुरा किन्न लालायित हुन्छन् ।

तर, कतिलाई थाहा होला, हाम्रो पैसा बचाइदिने यो खुत्रुके बनाउन कति पैसा लाग्दो हो ? 

खुत्रुके बनाएर ३१ वर्ष बिताएका सूर्यमानलाई पनि यसरी ठ्याक्कै एउटा खुत्रुके बन्न कति पैसा लाग्छ भन्ने चाहिँ थाहा छैन । ‘अब सबै काम होलसेलमा हुन्छ,’ उनले भने, ‘एउटा खुत्रुकेलाई नै कति पर्छ भन्ने हिसाब त निकालेको छैन ।’

खासमा सूर्यमानले खुत्रुके बनाउनका लागि ठेकेदारहरुसँग माटो किन्छन् । यो माटो उनी टिप्परको हिसाबमा लिन्छन् । ‘एक टिप्पर माटोलाई सात देखि आठ हजारसम्म पर्छ,’ उनले भने, ‘ठेकेदारहरुसँग लिने हो, कहाँबाट ल्याउँछन् थाहा छैन ।’ त्यो माटो उनी एक ठाउँमा प्रिजभ गरेर राख्छन्, त्यसलाई मुछेपछि उनी खुत्रुके बनाउन सुरु गर्छन् । 

उनले बनाइसकेको खुत्रुकेमा पैसा छिराउने प्वाल चाहिँ मायादेवीले बनाउँछिन् । मायादेवीले यसरी खुत्रुकेमा प्वाल बनाउन थालेको अब त १५ वर्ष भइसकेको छ । ‘पाँच जना छोराछोरीलाई यही काम गरेर हुर्काएकी छु, नर्सिङसमेत पढाएकी छु,’ मायादेवीले भनिन् । 

यी १५ वर्षमा मायादेवीले खुत्रुकेमा बनाउने अधिकांश प्वाल ठ्याक्कै उही आकारको हुने अनुमान गरेकी छिन् । ‘थोरै सानो वा ठूलो होला कुनैकुनैमा,’ नेवारी लवज मिसाउँदै उनले भनिन्, ‘नत्र त एउटै आकारका प्वाल बन्छन् ।’

रन्जनाले मुछेको माटोलाई खुत्रुकेको आकारमा सूर्यमानले ढालेपछि मायादेवीले प्वाल बनाउँछिन् र त्यसलाई घाममा सुकाउन लैजान्छिन् । 

‘त्यसपछि रङ लगाइन्छ,’ सूर्यमानले भने, ‘१०–१२ दिन सुकाउने अनि रङ लगाउने हो । १५ दिनमा एउटा खुत्रुके पूर्णरुपमा तयार भइसक्छ ।’

तर, खुत्रुके बनाउन धेरै समय चाहिँ लाग्दैन । सबै सामानको जोहो गरिसकेपछि र सबै चाँजोपाँजो मिलाएपछि सूर्यमानले एकै दिनमा २ सयभन्दा धेरै खुत्रुके बनाउँछन् । 

‘अनि तयार भइसकेपछि हामी २५ रुपैयाँमा एउटा खुत्रुके बेच्छौँ,’ उनले भने, ‘यो त होलसेल रेट हो । सानो ठूलो भन्ने हुँदैन, सबै खुत्रुकेलाई हामीले २५ रुपैयाँमा नै बेच्छौँ ।’ सूर्यमानलाई पनि थाहा छ, आफूले २५ रुपैयाँमा बेचेको खुत्रुके बाहिर बजारमा चाहिँ ८० रुपैयाँमा बेचिएको हुन्छ । 

सूर्यमानसँग काठमाडौं वा भक्तपुरका मात्र होइन, पोखरा, जनकपुर र लुम्बिनीका होलसेलरहरु पनि खुत्रुके किन्न आइरहेका हुन्छन् । ‘आजभोलि त विदेशीले पनि किनेर लैजान्छन्,’ उनले भने, ‘मैले बनाएको खुत्रुके विदेशसम्म पुगेको छ ।’

खुत्रुके विदेश पुगे पनि सूर्यमानलाई नेपालीहरु काम गर्न विदेश गएको चाहिँ रत्तिभर मन परेको छैन । ‘यहीँ काम गरे अवसर छ नि,’ उनले भने, ‘काम गर्नकै लागि किन विदेश जानु पर्छ र ?’

सूर्यमानले यसरी खुत्रुके बनाएर नै मासिक एक लाखसम्म आम्दानी गरिरहेका हुन्छन् ।

‘यति भए परिवार पाल्न पुगिहाल्छ,’ सूर्यमानले भने ।
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्