काठमाडौं– सन् २०१९ को शरद् ऋतुमा हिमाल आरोहणका लागि १ सय ६४ समूहका एक हजार २ सय आरोहीले आरोहण अनुमति लिएका छन् । सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृंखलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन् ।
आरोहण अनुमति लिएका अधिकांश आरोही गन्तव्यतर्फ लागेका छन् । यो याममा सगरमाथाको आरोहण हुन सकेन । शरद् ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा असफल भएको विभागले जनाएको छ ।
मनास्लु हिमाल आरोहण सकिएको छ भने अहिले अमादब्लम हिमालको आरोहण चलिरहेको विभागले जनाएको छ । कति संख्यामा आरोही गन्तव्यमा पुगे भन्नेबारे यकिन विवरण आइनसकेको विभागले जनाएको छ । ‘अटम सिजन’ नोभेम्बर महिनाभर हुने भएकाले अझै आरोहीको संख्या बढ्न सक्ने विभागकाे अनुमान छ । बताए ।
यो याममा विभिन्न हिमाल तथा हिमशृंखला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २ सय ६४ र अमादब्लम हिमाल आरोहणका लागि २६ समूहका ३ सय १ ले आरोहण अनुमति लिएका छन् । शरद् ऋतुको हिमाल आरोहणका लागि हालसम्म ६ करोड ३१ लाख ७१ हजार राजश्व संकलन भएको विभागले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।