कार्यकारी अध्यक्ष प्रचण्डः कति शक्तिशाली बने ? के हुन् चुनौती ?

काठमाडौं– पार्टी एकीकरण भएको १७ महिनापछि गत बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले दुई अध्यक्षको कार्यविभाजन गर्यो । 

पार्टी एकताको घोषणा गर्दा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– हामी दुई एउटै विमानका दुई पाइलट हौँ । अब कार्यविभाजनपछि ओलीले सरकारको नेतृत्व गर्नेछन् । पार्टीको नेतृत्व गर्नका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाइएको छ । 

नेकपा सचिवालयको यो निर्णयलाई पूर्वमाओवादी नेता तथा कार्यकर्ताले खुसीका साथ स्वागत गरेका छन् । सामाजिक सन्जाल तथा सार्वजनिक कार्यक्रम र एकअर्कासँग उनीहरुले खुलेर यसलाई स्वागत गरेका छन् । किनकि उनीहरुले बिफ्रिङ गर्न थालेका छन्– अब पार्टीमा प्रचण्ड बलिया भए । 

के साँच्चै पार्टीमा अर्का अध्यक्ष केपी शर्मा ओलीभन्दा प्रचण्ड बलियो भएका हुन् त ? के उनले अब नेकपाको लगाम सम्हाल्नेछन् ? 

‘कसैले पद दिँदैमा त्यो व्यक्ति शक्तिशाली भइहाल्छ भन्ने छैन,’ राजनीतिक विश्लेषक हरि राेका नेकपामा प्रचण्ड शक्तिशाली भएका हुन् भन्ने विश्वास गर्दैनन् । उनी थप्छन्, ‘पार्टीमा शक्तिशाली हुन त अरुले पद दिएर वा शक्ति सुम्पिएर सम्भव छैन, त्यसमा अरु आयामहरुले प्रभाव पार्छन् ।’

रोकाको विचारसँग सहमत छन्, नेकपामा केपी ओली निकट मानिने एक नेता । उनले भने, ‘प्रचण्ड कमरेले पार्टीलाई शक्तिशाली बनाउने हो, अझ बलियो बनाउँदै लैजाने हो, कार्यकारी पदमा हुनु भनेको उहाँ शक्तिशाली भएको भन्ने चाहिँ होइन ।’ उनले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाए पनि पार्टीमा अझै दुई अध्यक्ष रहेको सबैले सम्झनु पर्ने बताए । 



‘पार्टी नेतृत्वमा शक्तिशाली हुनका लागि त संगठनमा पकड, सोचमा पकड हुन जरुरी छ,’ रोकाले भने, ‘अब अहिलेको अवस्थामा हिजोका एमालेहरु प्रचण्डसँग कति खुसी छन्, उनलाई नेता मान्न कति तयार भएका छन् भन्ने कुरा पनि मुख्य हुन्छ ।’

यतिमात्र नभएर उनलाई पूर्वमाओवादीहरुबाट आएका नेता तथा कार्यकर्ताले पनि कति नेता मान्छन् भन्ने कुरा महत्वपूर्ण हुने उनले बताए । ‘छोडेर जाने त गइहाले,’ उनले भने, ‘अहिले सँगै भएका पूर्वमाओवादीहरु पनि उनलाई कति विश्वास गर्छन् भन्ने कुराले पार्टीमा उनको शक्ति निर्धारण गर्छ ।’



कार्यकारी अध्यक्ष प्रचण्ड बनाइएपछि अब उनले नेकपाको बैठक अध्यक्षता गर्न पाउनेछन् । त्यस्तै, उनले पार्टीको वैचारिक नेतृत्व गर्ने, समीक्षा र निष्कर्ष दिने, संगठनात्मक नेतृत्व गर्ने र सरकारलाई मार्गनिर्देशन गर्नेमा पनि उनको मुख्य भूमिका हुनेछ ।

‘पार्टीमा कार्यकारी अध्यक्ष भन्ने पदको त्यस्तो ठूलो भूमिका हुने नै देखिँदैन किनकि अर्कोतिरबाट अर्का अध्यक्षले त्यसलाई चेक एन्ड ब्यालेन्स गर्ने कुरा रहिरहन्छ,’ ओलीनिटक ती नेताले भने, ‘यो खासमा अहिले पार्टीमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न सहज होस् भनेर मात्र दिइएको एउटा पोजिसन हो । यसले त्यति ठूलो तात्विक भिन्नता पार्दैन ।’

 

के हुन् त प्रचण्डका चुनौति ?

पार्टी एकता भएको १७ महिनापछि प्रचण्डले कार्यकारी अध्यक्षको पद त पाए । तर, उनलाई यो भूमिका यो समयमा निर्वाह गर्न सहज छैन । पछिल्लो समय सरकारका कामकारवाहीबारे नेपाल कम्युनिस्ट पार्टीमाथि नै प्रश्न उठ्न थालेका छन् । जनस्तरमा सरकारको आलोचना बढ्दै जाँदा त्यसलाई डिफेन्ड प्रचण्ड स्वयंले गर्नु पर्ने देखिन्छ । किन पनि भने पार्टीका विभिन्न कार्यक्रममा अब नै उनी काठमाडौं र बाहिर बढी पुग्नेछन् । 

केही दिनअघि दाङमा प्रदेशसभा निर्वाचनको र्यालीलाई सम्बोधन गर्न पुगेका प्रचण्डले भनेका थिए, ‘पहिलो पटक सरकारमा जाँदा हामीले गल्ती गरेकै हौँ ।’ त्यही कार्यक्रममा उनले पहिले माओवादीलाई नेतृत्व गर्दा पनि आफूहरु निर्वाचित भएपछि के गर्ने भन्ने विषयमा आफैंलाई थाहा नभएको बताएका थिए । 

त्यसैले, यसपटक पनि उनीसामु यो चुनौति छ । पछिल्लो समय उनी विगतको समीक्षा गर्दै त्यसमा आफ्नो कार्यक्षमतामा कमजोरी रहेको बताउँदै आएका छन् । र, यही समयमा उनी पार्टीको नेतृत्वमा बढी प्रभावकारी हुनसक्ने हैसियतमा पुगेका छन् । त्यसैले यसपटक प्रचण्डलाई त्यो गल्ती दोहोर्याउने मौका हुनेछैन । र, यो नै उनका लागि सबैभन्दा ठूलो चुनौति पनि हो । 

त्यस्तै, पार्टीमा रहेको गुटबन्दीलाई म्यानेज गर्दै अगाडि बढ्नु पनि प्रचण्डलाई अर्को चुनौति हो । केही समय यता नेकपाका नेता माधव कुमार नेपाल र वामदेव गौतमले ओलीलाई भन्दा प्रचण्डलाई आफ्नो प्राथमिकतामा राखिरहेका छन् । माधव नेपाल र वामदेवसँग प्रचण्ड नजिकिएर ओलीलाई एक्लो बनाउने प्रयास गरेका थिए । तर, यही समीकरणलाई सन्तुलित बनाइ राख्नु पनि प्रचण्डका लागि अर्को चुनौति हुनेछ । अर्थात्, नेकपामा मौलाएको गुटबन्दीलाई उनले कसरी ट्याकल गर्नेछन् भन्ने हेर्न बाँकी छ ।

पार्टीको आधिकारिक विचार निर्माणमा पनि प्रचण्डले आफ्नो प्रभाव छोड्नु अर्को चुनौति हुनेछ । किनकि जब जब नेकपामा महाधिवेशन नजिकिन्छ, तबतब नेताहरुबीच एकअर्कालाई गर्ने कटाक्ष बढ्दै जान्छ । अझै पनि १० वर्षे लामो सशस्त्र युद्धको धङधङी प्रचण्ड र माओवादी नेताहरुमा छँदै छ तर यसलाई पूर्वएमाले नेताहरुले सहज स्वीकार गरेका छैनन् । त्यसैले प्रचण्डले अब नेकपामा वैचारिक स्पष्टतालाई अगाडि बढाउँदै लैजानु पर्ने हुन्छ । 

पार्टीमा कार्यकारी अध्यक्ष भएपछि अब प्रचण्डका लागि अर्को चुनौति पनि थपिएको छ– पार्टीको महाधिवेशन । दुई पार्टी एकता हुँदा दुई पार्टीले एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेका थिए । तर, दुई वर्ष हुँदासम्म अझै पनि पार्टी एकीकरणका सम्पूर्ण कामहरु सकिएका छैनन् । त्यसैले अब नेकपाले कहिले महाधिवेशन गर्ने भन्ने पनि विशेष चासोका साथ उठ्ने निश्चित छ । यस्तो अवस्थामा प्रचण्डले ओली र नेपाल, रामबहादुर थापा र वामदेव गौतमसहित आफूलाई पनि महाधिवेशनका लागि कसरी तयार पार्छन् भन्ने महत्वपूर्ण हुनेछ । र, यो नै उनका लागि अर्को चुनौति पनि हो ।

  • प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार १२:१५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया