पठाओ, टुटल सबैलाई धमाधम कारबाही गर्छौं : ट्राफिक प्रहरी

काठमाडौं– आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ट्राफिक प्रहरीले कारबाही गरेको चिट भन्दै एउटा पहेँलो पुर्जी व्यापक मात्रामा सेयर भयाे । यो पुर्जी राइड सेयरिङ एप पठाओबाट ग्राहक लिन पुगेका मोटरसाइकल चालक विकास तामाङको नाममा काटिएको छ ।

बा७७प ८१९९ नम्बरको उनको मोटरसाइकलमा उनी एक यात्रु लिन पुगेका थिए । उनी यात्रु लिन पुगेको थाहा पाएपछि उनी पुगेको ठाउँमा रहेका केही ट्याक्सी चालकले उनलाई घेराउ गरे, प्रहरीलाई खबर गरे । लगत्तै पुगेको ट्राफिक प्रहरीले उनीमाथि कारबाही गर्यो । 

ट्राफिक प्रहरीले उनलाई एक हजार जरिवाना गरी चिट काट्यो । उनलाई ‘प्रयोजनविपरीत सवारी चलाएको’ उल्लेख गरी कारबाही गरिएको छ । 

गत पुसमा ट्राफिक प्रहरीले पठाओ र टुटलजस्ता राइड सेयरिङ एप प्रयोग गरेर मोटरसाइकल चलाउने चालकलाई कारबाही गर्ने बताएको थियो । तर, त्यतिवेला व्यापक विरोध भएपछि यो विषयमा स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राखेर टुटल र पठाओलाई निर्बाध रूपमा सेवा सञ्चालन गर्न दिन मौखिक आदेश दिएका थिए । 
 
तर, टुटल र पठाओका कारण ट्याक्सी प्रयोगकर्तामा कमी आएका कारण सो व्यवसाय नै अवैध रहेको आरोप लगाउँदै ट्याक्सी सञ्चालकहरुले विरोध जनाउँदै आएका थिए । 

११ महिनापछि फेरि यातायात मन्त्रालयले केही दिनअघि टुटल र पठाओलाई कारबाही गरिने बेहोराको परिपत्र जारी गरेको थियो । सो सूचना जारी भएपछि ट्राफिक प्रहरीले आइतबार पहिलोपटक पठाओ प्रयोगकर्तालाई कारबाही गरेको हो ।
 
‘गैरकानुनी रुपमा सवारी चलाउने र यात्रुलाई ओसारपसार गर्ने सबैलाई हामी कारबाही गर्छौं,’ महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता रविकुमार पौडेलले भने, ‘त्यो जोसुकै होस्, पठाओ होस् कि टुटल ।’



उनले निजी प्रयोजनका लागि नम्बर प्लेट लिने सवारीसाधनले पैसा लिएर यात्रु ओसारपसार गर्न नपाउने कानुनी व्यवस्था स्मरण गराउँदै उनले भने, ‘यातायात व्यवस्था विभागले पनि यसबारे सूचना निकालिसकेको छ । त्यहीअनुसार हामी कारबाहीमा अघि बढिरहेका छौँ ।’

यसरी कारबाही गर्दा सबै मोटरसाइकललाई रोक्दै चेक गर्दै कारबाही नगरेको, तर उजुरी आएकामाथि कारबाही भइरहेको उनले बताए । नियमित चेकिङमा पनि यसबारे चेकिङ गर्ने गरेको उनको भनाइ छ ।  



सवारी तथा यातायात व्यवस्था ऐन २०४९ले नेपालमा निजी सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था गरेको छ ।

तर, पछिल्लो समय नाइजेरिया, बंगलादेशदेखि लिएर नेपालमा पनि राइड सेयरिङ एपबाट यसरी यात्रुलाई सेवा सुविधा दिने सवारीसाधनको संख्या बढ्दो छ । 

  • प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार १७:१८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया