एजेन्सी– हङकङमा प्रतिपक्ष प्रजातन्त्र पक्षधरको समर्थनमा व्यापक ठूलो जनलहर देखिएको छ । त्यहाँको डिस्ट्रिक्ट काउन्सिल निर्वाचनमा उनीहरुले जित दर्ज गरेका छन् ।
पछिल्लो समय आएका तथ्याङ्कका अनुसार प्रजातन्त्र पक्षधर उम्मेदवारहरुले हङकङमा २७८ सिटहरु आफ्नो पोल्टामा पारेका छन् । बेइजिङ समर्थकहरु चाहिँ ४२ सिटमा खुम्चिएका छन् ।
यसअघि निकै लामो समयसम्म त्यहाँ आन्दोलन चलेकाले यो निर्वाचनमा समस्याहरु होलान् भन्ने अनुमान गरिएको थियो । तर, त्यहाँको मतदान शान्तिपूर्ण नै रह्यो ।
त्यहाँको सरकार र बेइजिङले अहिले पनि निर्वाचनमा उनीहरुको नै बहुमत आउने अनुमान गरेका थिए । तर, निर्वाचनमा बेइजिङ समर्थक केही प्रभावशाली उम्मेदवारहरुले पनि हार व्यहोरेका छन् ।
‘स्वर्ग र पृथ्वी उल्टिएको छ,’ एक पराजित उम्मेदवारले प्रतिक्रिया दिएका छन् ।
त्यसो त हङकङका डिस्ट्रिक्ट काउन्सिलरहरुको राजनीतिक शक्ति खासै उल्लेख्य हुँदैन । उनीहरुले स्थानीय समस्याहरुबारे मात्र काम गर्न पाउँछन् ।
तर, केही महिनाअघि त्यहाँ सुपुर्दगी विधेयकविरुद्ध सुरु भएको आन्दोलनपछि भएको यो पहिलो निर्वाचन हो र यसलाई विशेष महत्वका साथ हेरिएको छ । यसपटक त्यहाँ कम्तिमा पनि ४१ लाख मानिसले मतदान गरेका थिए । यो हङकङको निर्वाचनमा रेकर्ड हो ।
४ सय ५२ सिटका लागि भएको मतदानबाट चुनिएका ११७ जना डिस्ट्रिक्ट काउन्सिलरहरु १२ सय सदस्इ भएको एक कमिटीमा समावेश हुन्छन् जसले हङकङका लागि मुख्य नेताको चयन गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।