दीपक श्रेष्ठका कराते ब्लूज

काठमाडौं– नेपाली करातेको स्वर्णिम युगको कुरा गर्दा छुटाउनै नहुने नाम हो– दीपक श्रेष्ठ । सन् १९९९ मा काठमाडौँ भएको आठौँ तथा सन् २००४ मा इस्लामावादमा भएको नवौँ सागमा दीपकले नेपाललाई स्वर्ण जिताए । 

दुई पटक नेपाललाई स्वर्ण जिताएका दीपक चाहिँ सानोमा फुटबलर हुन चाहन्थे । यसका लागि उनले थ्रिस्टारमा प्रशिक्षण लिन पनि थालेका थिए । तर, त्यति बेला देखिएको टाइफाइडले उनको फुटबल सपना तुहायो । त्यसपछि सिनियरहरुको संगतमा परेर दीपकले कराते सिक्न थाले । उनले २०५१ सालमा पोखरामा भएको राष्ट्रिय खेलकुदमा पहिलो पटक कास्य पदक जिते । अनि त उनले करातेलाई छोड्ने सोच्नै सकेनन् ।

काठमाडौंमा भएको सागमा सन् १९९९ मा पहिलो पटक कराते पनि समावेश भयो । प्रतिस्पर्धामा उत्रिएका दीपकले राम्रो गरे । उनले स्वर्ण जिते । ‘तत्कालीन राजकुमार दीपेन्द्रले हाम्रो प्रशंसा गरेको सुन्दा खुसी लाग्यो,’ केही दिनअघि दशरथ रंगशालामा भेटिएका दीपकले भने, ‘सन् २००४ इस्लामावादमा पनि स्वर्ण जितेपछि त अत्यन्त खुसी भइयो ।’ सन् २००४ मा नेपालका लागि स्वर्ण जित्ने पहिलो खेलाडी बने, दीपक ।

दीपकलाई चाहिँ सन् २००४ मा इस्लामावादमा भएको साग गेम्सभन्दा काठमाडौंको सन् १९९९ को प्रतियोगिता नै बढी महत्वपूर्ण छ जस्तो लाग्छ । ‘खासमा यो सागले हाम्रो होप बढाएको थियो,’ उनले सम्झिए, ‘त्यसपछिका सागमा हामी जसरी समावेश भयौँ, त्यसमा त्यति बेलाको जोशले पनि काम गरेको थियो ।’

इस्लामावादमा भएको सागमा पनि नेपालका लागि सबैभन्दा पहिले स्वर्ण जितेका थिए, दीपकले । नेपालका लागि करातेमा एकमात्र स्वर्ण पनि दीपकको नाममा दर्ज भएको थियो । खासमा यो करातेमा हुने नेपालको प्रदर्शनमा अत्यन्त कमजोर थियो । किनकि यसअघि आठौं सागमा नेपालले करातेमा मात्र १४ स्वर्ण जितेको थियो । इस्लामावाद खेल्न पुगेको नेपालले नवौंमा एक स्वर्णमा चित्त बुझाउनु पर्यो । 

‘मैले करातेमा इज्जत बचाएँ भन्ने लाग्छ,’ दीपक हाँसे, ‘त्यही उपलब्धिले नै मलाई जीवनमा आइपर्ने अरु दुःखहरु भुल्न सहयोग गर्छ ।’



त्यही इस्लामावादको साफ गेम्ससँग जोडिएका नमीठा पलहरु पनि अहिले दीपकको सम्झानामा छन् । ‘त्यहाँ हामी खेलाडीलाई रेलमा पठाइएको थियो,’ उनले भने, ‘अफिसियलहरु चाहिँ प्लेनमा गएका थिए ।’ २४ घन्टा लामो रेल यात्रा गरेपछि दीपकहरु खेल हुने ठाउँमा पुगेका थिए ।

सन् २००६ मा कोलम्बोमा दसौं साफ गेम्स आयोजना गरियो । यसमा पनि नेपालको टोलीबाट दीपक खेल्न पुगे । तर, यसमा उनले सोचेजस्तो राम्रो गर्न सकेनन् । उनी पराजित भए । त्यसपछि दीपकले कराते खेल्न नै छोडे । 



‘त्यो पीडादायी क्षण थियो,’ दीपकले भने, ‘म त्यहाँ मेरो खेलका कारण होइन, रेफ्रीका कारण पराजित भएको थिएँ ।’ त्यति बेला दीपकले यसको विरोध पनि गरेका थिए ।

राम्रो खेल खेल्दाखेल्दै पराजित भएपछि दीपकले जुन अभिव्यक्ति दिए र जसरी त्यो खेलको विरोध गरे, त्यसलाई नेपाली अधिकारीहरुले पनि साथ दिएनन् । उल्टै दीपकलाई कारवाही गरियो, अनुशासनमा नरहेको आरोप लगाइयो । 

‘मैले जायज कुरा गरेको थिएँ,’ दीपकले भने, ‘तर, ममाथि जुन कारवाही भयो, त्यसले मेरो खेल जीवनमा नै ठूलो ब्रेक लगायो ।’

१३ औं सागको पूर्वसन्ध्यामा दीपक ती दिन सम्झँदा पनि नमीठो मान्छन् । ‘त्यो खेलमा पराजित हुनुमात्र थिएन,’ दीपकले भने, ‘ममाथि जुन व्यवहार गरिएको थियो, त्यसले मलाई मानसिक पीडा पनि दिएको थियो ।’ आफूलाई धाँधलीको शिकार बनाइएको र त्यसका कारण आफ्नो खेलमा पनि असर गरेको उनी मान्छन् । ‘त्यो धाँधली गरिएको हुन्नथ्यो भने,’ दीपकले भने, ‘सागमा मैले करातेमा ह्याट्रिक गर्ने थिएँ, इतिहास हुने थियो ।’

उनले भनेजस्तै त्यो सागमा पनि उनले स्वर्ण जितेको भए उनको नाम दीपक विष्ट र वैकुण्ठ मानन्धरको नामसँगै जोडिन्थ्यो जसले लगातार तीन सागमा स्वर्ण जितेका छन् ।

यही १० औं सागको विवादका कारण ११ औं सागको मुखैमा दीपकले सन्न्यासको घोषणा गरे । 

‘कराते पदाधिकारीहरुले हामी खेलाडीका कुरा सुनेका थिएनन्,’ उनले त्यति बेला सन्न्यास लिनु पर्ने कारण बताए, ‘बिना तयारी सागमा प्रतिस्पर्धामा जानु भनेको हार व्यहोर्नु हो भन्ने लाग्यो अनि सन्न्यास लिएँ ।’

खेलबाट सन्न्यास लिए पनि दीपकले कराते छाडेका चाहिँ छैनन् । उनी अहिले नेपाली करातेका सहायक प्रशिक्षक हुन् । 

‘अब त विश्वमा करातेमा पनि विभिन्न सुधार आइसकेका छन्,’ दीपकले भने, ‘तर, नेपालमा हामीले सोचेजस्तो प्रगति हुन सकेको छैन ।’

दीपक यसको एउटै कारण मान्छन्– राज्यले करातेलाई बेवास्ता गर्नु । 

‘सरकारले यसमा ध्यान नै दिएको छैन,’ दीपकले भने, ‘सरकारले यसलाई आफ्नो ध्यानमा राख्ने हो भने हामीले करातेलाई पहिलेकै अवस्थामा पुर्याउन सक्छौँ ।’

राज्यको बेवास्ता एकातिर भए पनि आफूहरुले चाहिँ करातेलाई विशेष प्राथमिकतामा नै राखेको र यसपटक नेपालले करातेमा इतिहास दोहोर्याउनेमा दीपक विश्वस्त छन् । १२ सागमा आन्तरिक विवादका कारण भारतमा कराते समावेश गरिएन । 

‘दुई वर्ष पछि कराते सागमा फेरि भित्रिएको छ,’ दीपकले भने, ‘यसपटक पनि राज्यले खासमा करातेलाई खासै वास्ता गरेको छैन, तर हामीले केही गरेर देखाउने प्रण गरेका छौँ ।’

‘करातेको साख फिर्ता ल्याउँछौँ,’ दीपकले भने, ‘यसपटक हाम्रा लागि सबैभन्दा ठूलो प्रतिस्पर्धी भनेको पाकिस्तान हो, भारत करातेमा खेल्दै छैन । त्यसैले पनि हामीले राम्रो गर्न सक्छौँ भन्ने विश्वास छ ।’

सागको मात्र होइन, दीपक करातेको भविष्यलाई लिएर नै चिन्तित छन् । ‘विस्तारै युवाहरु करातेबाट बाहिर जान खोजिरहेका छन्,’ उनले भने, ‘करातेको क्रेज घट्न थालेको हो कि भन्ने आभास भएको छ ।’

तर, राज्यले अन्य खेलहरुसँगै करातेलाई विशेष प्राथमिकतामा राख्ने हो भने यसप्रति फेरि आकर्षण बढ्ने दीपकको बुझाइ छ ।

किनकि दीपकले राम्रोसँग बुझेका छन्– नेपालका लागि सागमा अहिलेसम्म सबैभन्दा धेरै स्वर्ण जिताएका खेलमा कराते दोस्रो नम्बरमा छ ।

नेपालले सागमा अहिलेसम्म ७८ वटा स्वर्ण जितेको छ । तीमध्ये तेक्वान्दोबाट २४ स्वर्ण नेपाल भित्रिएका छन् भने करातेबाट २० स्वर्ण । 

  • प्रकाशित मिति : मंसिर ९, २०७६ साेमबार १०:२१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया