नेकपामा अध्यक्ष बहस
प्रचण्डजीको बढुवा भएको होइन, म सिनियर अध्यक्ष होः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष भनिए पनि आफू सिनियर अध्यक्ष भएको बताएका छन् ।

केहीअघि बसेको नेकपा सचिवालय बैठकले  नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो । ‘अध्यक्ष त कार्यकारी नै त हुन्छ,’ सोमबार साँझ कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम फायर साइडका लागि अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले भने, ‘उहाँलाई कार्यकारी अध्यक्ष भन्नुको अर्थ म कार्यकारी हुन्नँ भन्ने होइन ।’

उनले पार्टी एकीकरणको समयमा आफूहरुमा भएको उत्कट चाहनाले गर्दा दुवैले बराबरी गर्ने भन्ने सम्झौतामा हस्ताक्षर गरेको सम्झिएँ । ‘मेरो उत्कट चाहना थियो,’ उनले भने, ‘मैले हस्ताक्षर गरिदिएँ । उहाँले पनि गर्नुभयो ।’

तर, अहिले आएर बराबरीमा सरकारको नेतृत्व गर्ने भन्ने विषय सान्दर्भिक नभएको महसुस दुवै नेकपा अध्यक्षले गरेको उनले बताए । आफू सरकारका काममा बढी लाग्नु परेको र एकताले सरकारको स्थायित्व देखाउने भएकाले यो सम्झौता गरेको उनले बताए । 

‘प्रचण्डजीको बढुवा भएको होइन,’ ओलीले भने, ‘अब के चाहिँ स्पष्ट भयो भने पार्टीका बैठक उहाँले पनि अध्यक्षता गर्नुहुन्छ, मन लाग्यो भने म पनि गर्छु ।’

‘हामी दुई अध्यक्ष छौँ,’ उनले भने, ‘म कार्यकारी नहुने भन्ने होइन । मन लाग्यो भने म पनि अध्यक्षता गर्छु ।’



प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्ष भनिए पनि आफू सिनियर अध्यक्ष भएको बताए । ‘अलिकति भए पनि सिनियारिटीको कुरा आउँछ नि,’ उनले भने । 

पार्टी एकताको उत्कट अभिलाषाले आफूले बराबरी गर्ने सम्झौतामा हस्ताक्षर गरिदिएको बताउँदै ओलीले अहिले आफू बढी सरकारका काम गर्न प्रधानमन्त्रीका रुपमा केन्द्रित भएको अवस्थालाई हेर्दै प्रचण्डलाई कार्यकारी अध्यक्ष दिइएको बताए । 



‘तर, यसको अर्थ उहाँले एक्लै पार्टी चलाउने भन्ने पनि होइन,’ उनले भने, ‘पार्टीका काममा उहाँले मसँग परामर्श लिनुहुन्छ, मैले सरकारका काममा उहाँसँग पनि परामर्श लिनसक्छु ।’

बारम्बार बाहिर बराबरीको कुरा निकालेर इरिटेसन गर्ने विषय चाहिँ अब समाप्त भएको प्रधानमन्त्री ओलीको तर्क थियो । ‘म सिनियर अध्यक्ष हो,’ ओलीले भने, ‘उहाँ अर्को अध्यक्ष हो ।’

ओलीले सोही कार्यक्रममा आफूले मन्त्रिमण्डल पुनर्गठन गर्दा केही सम्झौता गरेको तर ती सम्झौता आफैंसँग गरेको पनि बताए ।

अन्तर्वार्तामा ओलीले सरकारको साझेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग आफ्नो बारम्बार छलफल भएको र स्वास्थ्य मन्त्रालयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल भएको समेत उल्लेख गरे । 

मन्त्रिमण्डल पुनर्गठन गर्दा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पुर्याएका ओलीले यादवसँग आफ्नो राम्रो समझदारी भएको बताए । 

त्यति मात्र होइन, प्रधानमन्त्री ओलीले कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि संसदमा मेरो सरकार भन्दै गरेको सम्बोधनको पक्षमा पनि आफ्ना तर्क राखे । ‘युट्युबमा त्यति कुरा छन्, विदेशका उदाहरण छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सेरोमोनियल राष्ट्रपति भएका देशमा पनि मेरो सरकार भन्छन्, फुर्सद निकालेर आलोचना गर्नेहरु किन युट्युब हेर्नुहुन्न ?’ 

  • प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार ०:१५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया