मेडिकल कलेज सन्चालकले चाबी दिए, बुझ्न तयार छौँः प्रधानमन्त्री ओली

काठमाडौं– विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरुले शुल्क समायोजन गर्न र बढी लिएको शुल्क फिर्ता गर्न तयार भएका छन् । सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि शिक्षा मन्त्रालयमा भएको औपचारिक बैठकपछि निजी मेडिकल कलेज संचालकहरुले शुल्क समायोजन गर्न तयार भएका हुन् ।

तर, यसमा मेडिकल कलेज संचालकहरुले आफ्ना सर्त राखेका छन् । उनीहरुले आन्तरिक छलफल गर्ने र लिखित प्रतिबद्धता जनाउन सरकारसँग २४ घन्टे अल्टिमेटम मागेका थिए ।

उनीहरुले समयमा सरकारको अल्टिमेटम नमाने सरकारले जस्तोसुकै कारवाही गर्न पछाडि नपर्ने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । 

तर, मेडिकल कलेज सन्चालकले चाहिँ सरकारले ल्याएका सबै नियम र सर्त मानेको खण्डमा आफूहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई नै कलेजको चाबी बुझाउने चेतावनी पनि दिँदै आएका छन् । 

यही विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुख खोलेका छन् । सोमबार साँझ कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा प्रधानमन्त्री ओलीले भने, ‘सन्चालकहरुले साँचो बुझाउने हो भने हामी साँचो बुझ्न तयार छौँ ।’ उनले त्यसपछि एउटा व्यवस्था गरिने तर साँचो बुझाउँछु भनेर मेडिकल कलेजका सन्चालकले धम्की दिन नहुने बताएका छन् । 

अहिले मेडिकल कलेजका सन्चालकहरुले बढी पैसा लिएको पुष्टि भइसकेको र बढी लिएको रकम उनीहरुले फिर्ता गर्नुको विकल्प नरहेको प्रधानमन्त्री ओलीले बताएका हुन् । योसँगै यो सरकारप्रति विद्यार्थीको अपेक्षा भएकाले पनि उनीहरु आन्दोलनमा उत्रिएको उनले बताए । ‘अहिलेको सरकार थितिको सरकार हो भन्ने विद्यार्थीमा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले आफूहरुलाई सहयोग गर्ने विश्वास लिएकाले अहिले विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्, अहिले आन्दोलनमा उत्रिनु बेकार हुनेछैन भन्ने उनीहरुले बुझेका छन् ।’



‘निजी कलेज सन्चालकहरुले सहमतिभन्दा बढी पैसा लिन पाउनुहुन्न,’ ओलीले भने, ‘अरु केही नभनी उहाँहरुले पैसा फिर्ता गर्नुपर्छ । नत्र सरकारले तोकेको समयमा उहाँहरुले किन असहमति जनाउनु भएन ?’ उनले यसमा सरकारले अब सुन्न केही बाँकी नरहेको भन्दै खुसुक्क विद्यार्थीलाई अप्ठ्यारोमा पारेका निजी मेडिकल कलेजका सन्चालकलाई कारवाही गर्न पनि सरकार पछाडि नहट्ने बताएका छन् ।



  • प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार १३:१९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया