प्रधानमन्त्री ओलीको अपरेसन सकियो, २/४ दिन अस्पतालमा नै बस्नुपर्ने
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अपरेसन गरिएको छ । महाराजगन्जस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको अपरेसन गरिएको थियो । 

अत्यधिक पेट दुखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विहान ९ः३० बजे अस्पताल पुर्याइएको थियो । 

उनको अपरेसन सफल भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

अस्पताल स्रोतका अनुसार अपरेसन सकिएकाले प्रधानमन्त्री केपी शर्मा ओली अब केही दिन अस्पतालमा नै भर्ना भएर बस्नु पर्ने हुन्छ । ‘कम्तिमा दुई चार दिन बस्नु पर्ने हुन्छ,’ अस्पतालका एक चिकित्सकले बताए, ‘यो अपरेसनमात्र भन्दा पनि स्वास्थ्यमा कस्तो सुधार आउँछ भन्ने हेर्न नै बाँकी छ, त्यसैले ठ्याक्कै यति दिन भर्ना हुनुपर्छ भन्ने निश्ति छैन ।’

१२ वर्षअघि दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले एक महिनायतामात्र चार पटक डायलाइसिस गराइसकेका छन् । 

तर, मिर्गौला र एपेन्डिसाइटिसबीच कुनै सम्बन्ध नरहेको डा। अरुणा उप्रेती बताउँछिन् ।



‘एपेन्डिसाइटिस जसलाई पनि हुन सक्छ । यो बच्चालाई पनि हुन सक्छ, वृद्धलाई पनि,’ उनले भनिन्, ‘बिहानसम्म शारीरिक रुपमा स्वस्थ मान्छेलाई पनि हुन सक्छ ।’

‘एपेन्डिक्स’ ठुलो आन्द्रासँग गाँसिएर बसेको एक अंग हो । कहिलेकाहीँ एपेन्डिक्समा ब्याक्टेरिया वा अन्य कुनै कारणले संक्रमण हुन सक्छ । त्यसरी ब्याक्टेरियाका कारण संक्रमण भयो भने त्यो सुन्निने र पिप जम्ने हुन सक्छ । समयमौ यसको उपचार नभएको खण्डमा त्यो फुट्ने र यसभित्र रहेको फोहोर पोटमा पोखिने सम्भवना हुन्छ । त्यसैले ‘एपेन्डिक्स’ फुट्नुअगाडि नै यसको शल्यक्रिया गर्नु पर्छ । यो फुटेर पेटमा पोखिएको खण्डमा बिरामीको ज्यान पनि जानसक्छ । 



  • प्रकाशित मिति : मंसिर १०, २०७६ मंगलबार १३:३०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया