सागकाे राैनक : पाेखराका पर्यटन व्यवसायी उत्साहित

कास्की–  पोखरा यतिखेर आसन्न दक्षिण एसियाली खेलकुद(साग) को तीव्र प्रतिक्षामा छ । सागका लागि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी, अफिसियल तथा अन्य पर्यटकका लागि यहाँका हिमाल, तालतलैया स्वागतको पर्खाइमा छन् । देशको राजधानी काठमाडौंपछि पहिलोपटक पोखरामा सागका आठ खेल सञ्चालन हुने भएपछि स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका हुन् । 

साग सञ्चालनसँगै पोखरा खेल पर्यटनको पनि उत्तिकै सम्भावनायुक्त क्षेत्रका रुपमा स्थापित बन्ने र यस ठाउँमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन हुने गरी ‘माइस टुरिजम’को विकास गर्न सकिने भएको छ ।

पर्यटन परिषद्का पूर्वअध्यक्ष सोम थापा पोखरा प्राकृतिकरुपमा आफैँमा सुन्दर सहर भएकाले सागअन्तर्गतको केही खेल यहाँ सञ्चालन हुनु महत्वपूर्ण अवसर रहेको बताउँछन् । सागलाई लक्षित गरी आउने पर्यटकको स्वागतका लागि पोखरेली आतुर भएको बताउँदै उनले आफूहरूले यसलाई महत्वपूर्ण अवसरका रुपमा लिएको जनाए ।

सन् १९८४ मा नेपालबाट नै सागको सुरुआत भएको र सन् १९९९ मा तेस्रो संस्करणको साग नेपालमा भएको थियो । त्यसयता दुई दशकपछि १३ औँ संस्करणको साग आयोजना गर्ने अवसर यस पटक जुरेको हो । यस संस्करणको सागका केही खेल पहिलोपटक राजधानी बाहिर पनि खेलाउन लागिएको छ । कुल २६ खेलमध्ये आठवटा पोखरा र एउटा खेल जनकपुरमा हुँदैछ ।

प्रतियोगितामा सहभागिताका लागि दक्षिण एसियाली राष्ट्रबाट ठूलो संख्यामा खेलाडी, अफिसियल, विदेशी पाहुना तथा सञ्चारकर्मीसमेत आउने भएकाले यसबाट पोखराको पर्यटनको अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रवर्द्धन हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । यही मङ्सिर १५ गतेदेखि साग हुँदै छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७६ बुधबार १३:५७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया