अर्घाखाँचीमा बस दुर्घटना १९ को मृत्यु, १७ घाइते

सदरमुकाम सन्धिखर्कबाट बुटवलका लागि छुटेको बस बुधबार बेलुका सन्धिखर्क–६ नरपानीमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । १७ घाइते भएका छन् । लु.२ख २१४८ नम्बरको बस नरपानी बजारनजिकै उकालो घुम्तीबाट तीन सय मिटर तल खोंचमा बजारिएको हो । 

जिल्ला ट्राफिक प्रहरी प्रमुख सइ खिमानन्द काफ्लेले दुर्घटनाको अवस्था हेर्दा साँघुरो सडकको उकालो घुम्तीमा गाडी ब्रेक फेल भएको बताए । गोरुसिंगेसँग जोडिने यो सडकखण्ड कालोपत्रे भए पनि धेरै घुम्ती र साँघुरो छ । अधिकांश भागमा गाडीहरू दोहोरो पास हुन सक्दैनन् ।

बसबाट उछिट्टिएर भिरमा अड्किएका बालक चिच्याएपछि स्थानीयले दुर्घटनाबारे जानकारी पाएका थिए । त्यसलगत्तै खबर पाएपछि प्रहरी घटनास्थल पुगेको उद्धारमा खटिएका प्रहरी जवान विष्णु पुरीले बताए । एन्जल नाम बताउने करिब पाँच वर्षका बालक सकुशल छन् । उनलाई प्रहरीले आफूसँग राखेको छ । 

दुर्घटनामा १७ जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा ज्यान गएको छ । घाइते तथा मृतकको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले उद्धार गरेका थिए । घाइते १२ जनालाई उपचारका लागि बुटवल पठाइएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । ‘घाइते सबैजनालाई प्राथमिक उपचारपश्चात् बुटवल रिफर गरेका छौँ ।घाइतेका आफन्तको रोजाइअनुसारको अस्पतालमा उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर रहेको छ,’ उनले भने ।

दुर्घटनामा ज्यान गुमाएका आठजनाको मात्र सनाखत भएको छ । मृत्यु हुनेमा सनपा–७ निवासी शिवलाल भट्टराई, बलराम भट्टराई, माया पुरी, मोनिका खड्का, भुनपा–९ का शैलेस थापा, बुद्धभूमि नपाका ओबबहादुर थापा र सिनपा–२ का गाडीधनी सन्तोष बस्नेत रहेका छन् । ११ जनाको सनाखत हुन बाँकी छ । घाइते हुनेमा सपना कुँवर, लोकनाथ पाण्डे , विष्णु अधिकारी, नन्दबहादुर विक, कृष्ण विक र जीवन विकको मात्र पहिचान खुलेको छ । 

जिल्लामा १९ जनाको ज्यान जाने गरी भएको सडक दुर्घटना पहिलो हो । जिल्ला यतिवेला शोकमा डुबेको छ । मृतकको पोस्टमार्टम बिहीबार मात्र गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश विष्टले जानकारी दिए ।





  • प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार १०:३९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया