भ्रमण छोट्टयाएर फर्किए परराष्ट्रमन्त्री ज्ञवाली
फाइल तस्वीर ।

काठमाडौं– रुस र सर्वियाको भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवाली भ्रमण छोट्टयाएर फर्किएका छन् । शुक्रबार विहान त्रिभुवन विमानस्थलमा आइपुगेका ज्ञवाली यसअघि दुई दिनपछि अर्थात् सोमबार नेपाल फर्किने कार्यक्रम थियो । 

पूर्वनिर्धारित कार्यक्रअनुसार उनले आज सर्वियाका राष्ट्रपतिलाई भेट्ने कार्यक्रम थियो । 

भ्रमण छोट्टयाएर उनी किन फर्किए त ? 

शुक्रबार विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘देशभित्र विकसित घटनाक्रम र परिस्थितिका कारण म छिटो आएको हुँ ।’ तर, उनले यो परिस्थिति के थियो भन्नेबारे खुलाएनन् । ‘पछिल्ला राजनीतिक घटनाक्रम भन्न खोज्नुभएको होला,’ उनका प्रेस संयोजक सुदन ज्ञवालीले फरक धारसँग कुराकानी गर्दै भने, ‘यसबारे विहान पत्रकार सम्मेलनमा प्रश्न पनि उठेनन्, उहाँले खुलेर पनि भन्नु भएन । त्यसैले ठ्याक्कै यही घटनाका कारण भन्ने चाहिँ बुझ्न सकिएन ।’

शनिबार मस्को गएका मन्त्री ज्ञवालीले रुसमा समकक्षी सर्गेइ लाभ्रोभसँग भेटवार्ता गरेका थिए । यो भेटवार्तामा नेपाल र रुसको द्विपक्षीय सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो । 

त्यही भेटमा मन्त्री ज्ञवालीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको नेपाल भ्रमणको निम्तो पत्र पनि दिएका थिए । त्यस्तै, मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको रुसी समकक्षीलाई पठाएको नेपाल भ्रमणको निम्तो पनि सर्गेइ मार्फत् दिएका थिए ।



मन्त्री ज्ञवाली रुस जानुभन्दा पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रिमण्डल पुनर्गठन गरेकी थिइन् । मन्त्री ज्ञवाली रुस गएको तीन दिनपछि प्रधानमन्त्री ओली बिरामी परेर अस्पताल भर्ना भएका थिए । 

महाराजगन्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको एपेन्डिसाइटिसको अपरेसन गरिएको थियो । अहिले प्रधानमन्त्री ओलीको स्वास्थ्य धेरै सुधार भइसकेको छ । अहिले पनि उनी अस्पतालमा नै छन् । 



  • प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार ११:३८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया