काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा व्यापक सुधार आएको छ । तर, उनी अझै कम्तिमा पनि एक साता अस्पतालमा नै बस्नु पर्ने उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार विहान पत्रकार सम्मेलन गर्दै उनको उपचारमा संलग्न चिकित्सकहरुले यो जानकारी दिएका हुन् । उनीहरुले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएको पनि बताएका छन् ।
मंगलबार विहान अचानक पेट दुखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको थियो । उनको आकस्मिक अपरेसन गरिएको थियो । चिकित्सकहरुका अनुसार उनको पेटमा संक्रमण भएको थियो । ‘उहाँको एपेन्डिक्स फुटेको थियो,’ प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेसन गरेका डाक्टर रमेशसिंह भण्डारीले पत्रकार सम्मेलनमा भने, ‘उहाँको घाउ निको हुँदै छ, अझै एक साता लाग्ला । घाउ सन्चो भएपछि उहाँ काममा फर्किन सक्नुहुन्छ ।’
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीलाई अहिले पनि अस्पतालको सघन उपचार कक्षमा राखिएको छ । उनलाई अझै एक साता त्यहाँ नै राख्ने चिकित्सहरुले तयारी गरेका छन् ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले प्रधानमन्त्रीलाई अहिले अन्य समस्या नभएको पनि जानकारी दिएकी थिइन् । ‘एपेन्डिसाइटिसको अपरेसन भयो,’ उनले भनिन्, ‘मिर्गौलाको समस्या अर्को भयो । त्योबाहेक अरु कुनै समस्या प्रधानमन्त्रीलाई छैन ।’
यतिमात्र होइन, उनले प्रधानमन्त्रीको नयाँ मिर्गौला प्रत्यारोपण गर्ने वा नगर्नेबारे अहिले नै निर्णय भइनसकेको पनि बताइन् । बरु उनले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण नेपालमा नै हुनसक्ने संकेत गरेकी छिन् । ‘नेपालमा पनि मिर्गौला प्रत्यारोपण भएका छन्,’ उनले भनिन्, ‘प्रधानमन्त्रीको पनि यहाँ नै हुनसक्छ ।’
उनले अहिले गरिएको अपरेसनले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा कुनै समस्या नहुने पनि बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।