नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई बढी शुल्क फिर्ता गर्न शिक्षामन्त्रीकाे निर्देशन

काठमाडौं– चिकित्सा शिक्षामा तोकिएको शुल्क लागू गराउने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सेनाले सञ्चालन गरिरहेको मेडिकल कलेजलाई शुल्क समायोजनका लागि निर्देशन दिएका छन् । मन्त्री पोखरेलले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई सिंहदरबारस्थित कार्यकक्षमा आमन्त्रण गरी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा सरकारले निर्धारण गरेभन्दा बढी शुल्क फिर्ता गर्न निर्देशन दिएका हुन् । सो संस्थानसमेतले बढी शुल्क लिएको आवाज उठेको थियो ।

सैनिक मेडिकल कलेजको शिक्षण शुल्क र शैक्षिक अवस्थाबारे चासो लिँदै मन्त्री पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिइएको भए तत्काल समायोजन गर्न निर्देशन दिएको र प्रधानसेनापति थापाले सरकारले निर्देशनलाई आफूहरुले पालना गर्दै आएको जवाफ दिएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए । नेपाली सेनाले सानाे भर्याङस्थित सो संस्थानमार्फत आठ वर्षदेखि प्रत्येक शैक्षिक सत्रमा एक सय विद्यार्थीलाई एमबिबिएस पढाउँदै आएको छ । सो संस्थानले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालसमेत सञ्चालन गरिरहेको छ ।

भेटमा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरिलगायत सहभागी रहेका थिए । सरकारले तोकिएभन्दा बढी शुल्क नलिन सरकारी र निजी क्षेत्रका मेडिकल कलेजलाई पटक–पटक आग्रह गर्दै विद्यार्थीसँग जर्बजस्ती लिइएको शुल्क फिर्ता नगरे ठगी मुद्दामा कारबाही गर्ने चेतावनी दिँदै आएको छ । यसबारे नेपाल सरकार र मेडिकल कलेजका प्रतिनिधिबीच यही मंसिर ११ गते भएको सहमतिमा बढी शुल्क समायोजन गर्ने उल्लेख थियो । विद्यार्थी संगठनले चिकित्सा शिक्षा महँगाे भएको र कलेजहरुले मनोमानी शुल्क लिएको भनी आन्दोलन गर्दै आएका छन् ।





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १६:२१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया