महिला भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौ– तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर प्राप्त भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्न सके नेपाल सागमा पहिलोपटक रजत पदकको हकदार बन्ने छ । नेपालले सागमा अहिलेसम्म महिला भलिबलमा कास्य पदक मात्र जित्न सकेको छ । नेपाल समूह ‘ए’को उपविजेता भइ सेमिफाइनल प्रवेश गरेको हो । 

नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट नेपाली महिला टोलीले सेमिफाइनलमा श्रीलंकालाई हराउनेमा ढुक्क छन् । उनले जसरी पनि फाइनल पुग्ने योजना बनाएको बताए । 

नेपालले यसअघि पनि श्रीलंकालाई पराजित गरेकाले महिला टोलीको मनोबल बढेको प्रशिक्षक भट्टले बताए । ६ वर्षअघि काठमाडौंमा सम्पन्न दक्षिण एसियाली च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई पराजित गरेको थियो । 

यस्तै समूह ‘बी’को विजेता भएर श्रीलंकाले नेपालसँगको सेमिफाइनल पक्का गरेको छ । नेपालले समूह चरणको खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो भने भारतसँग ३–० ले पराजित भएको थियो । भारतले बंगलादेशलाई पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा तय भएको हो । बंगलादेश महिला भलिबलको समूह चरणबाटै बाहिरिएको छ ।  

शनिबारै महिला भलिबलको अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता भारत तथा समूह ‘बी’को उपविजेता माल्दिभ्सबीच खेल हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई २५–८, २५–११ र २५–९ तथा श्रीलंकाले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ अंकले पराजित गरी सेमिफाइनल प्रवेश गरेका हुन् । 



यसैगरी पुरुष भलिबलमा शुक्रबार भारतले नेपाललाई २५–१५, २५–१३ र २५–१६ ले हराउँदै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्यो । पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए बाटै उपविजेता भइ बंगलादेशसमेत सेमिफाइनलमा प्रवेश गरेको छ । 

पुरुष भलिबलकै अर्को खेलमा श्रीलंकाले माल्दिभ्सलाई २५–१८, २५–२३ र २५–१७ अंकले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको दुवै खेलमा हारेपछि माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ को अन्तिम खेल शनिबार श्रीलंका र पाकिस्तानबीच हुने छ । उक्त खेलबाट समूह विजेता र उपविजेताको टुंगाे लाग्नेछ । 



  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १७:७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया