जलविद्युत् कम्पनीको सेयरमा आकर्षण घट्दाे

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर ओरालो यात्रामा नै छ । विगतमा राम्रो प्रतिफल दिएका कम्पनीको सूचक नै नकारात्मक भइरहेको वेला सेयर बजारमा एकैपटक ठूलो मात्रामा साधारण सेयर आउन लागेका छन् । 

नेपाल धितोपत्र बोर्डको तथ्यांकलाई नै हेर्ने हो भने भने पनि विभिन्न १२ कम्पनीका करिब चार अर्ब ४० करोड ६५ लाख ५९ हजार ६०० बराबरको साधारण सेयर बिक्रीका लागि तयारी हालतमा छन् । त्यसमा सबैभन्दा बढी जलविद्युत् कम्पनी प्राथमिक सेयर बिक्रीको तयारीमा छन् ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कुल ३२ जलविद्युत् कम्पनीमध्ये बिहीबारको कारोबारका आधारमा हेर्ने हो भने १८ वटा जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा आधारभूत मूल्यभन्दा निक्कै तल छ । त्यो भनेको १०० मा खरिद गरेको सेयर त्यो भन्दा निकै तल आइपुगेको अवस्था हो । 

विगतमा राम्रो लाभ दिने भनेर चिनिएको चिलिमे जलविद्युत् कम्पनीको सेयरसमेत घटेर प्रतिकित्ता ३५५ को हाराहारीमा आइपुगेको छ । आधारभूत मूल्यभन्दा माथि रहेका जलविद्युत् कम्पनीमा अपि पावर १०२, अरुण काबेली १२०, बुटवल पावर कम्पनी ३४४, नेपाल हाइड्रो १०४, ङ्यादी १०८, पाँचथर पावर १०४, राधी १३८, सानीमा माई १८० मा दोस्रो बजारमा कारोबार भइरहेको छ । 

निर्माणाधीन अवस्थामा नै रहेका माथिल्लो तामाकोशीको सेयर मूल्य दोस्रो बजारमा २२४ प्रतिकित्तामा कारोबार भइरहेको छ । यस्तै रसुवागढी १६३ र साञ्जेनको १५३ मा कारोबार भइरहेको छ । बजारमा लगातार जलविद्युत् कम्पनीमा लगानी गर्ने लगानीकर्ता डुबिरहेको बेला बजारमा आउन लागेको प्राथमिक सेयरले बजारलाई कुन लय र गतिमा लैजाला भन्ने चासो पनि उत्तिकै छ । 

वित्तीय रुपमा कमजोर अवस्थामा रहेका जलविद्युत् कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७५–७६ को मुनाफासमेत राम्रो दिन सकेका छैनन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्रकाशित विवरणसमेतमा उनीहरुको अवस्था कमजोर देखिन्छ । एकाधबाहेक अधिकांश कम्पनीले सेयरधनीलाई राम्रो प्रतिफल दिन सकेको छैन । यसको प्रभाव दोस्रो बजारसमेतमा परेको छ । 





  • प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार १७:१८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया