कास्की २ मा विद्या भट्टराई विजयी, भनिन्– यो जित रवीन्द्रप्रतिको सम्मान हो

काठमाडौं– कास्की २ बाट प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छिन् । शनिबार भएको निर्वाचनको परिणाम आइतबार साँझ आएको छ ।

निर्वाचित भएपछि भट्टराईले आफूले पूर्वाधार विकास र सामाजिक विकासका लागि काम गर्ने प्रतिक्रिया दिएकी छिन् । ‘यो मेरो मात्र जित होइन,’ उनले भनेकी छिन्, ‘यो कास्केली जनताको जित हो, रवीन्द्र अधिकारीप्रतिको सम्मान हो ।’

गत फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा कास्की २ बाट निर्वाचित रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान खाली भएको थियो । नेपाल कम्युनिस्ट पार्टीले अधिकारीको यही स्थानमा भट्टराईलाई उम्मेदवार बनाएको हो । 

त्यसो त भट्टराई पहिले पनि सक्रिय राजनीतिमा थिइन् । विवाहपछि रवीन्द्र सक्रिय राजनीतिमा लागे भने भट्टराई प्राध्यापनमा । 

‘म अब फेरि जनतासामू जान्छु,’ भट्टराईले सन्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भनिन्, ‘पोखराको विकासमा म आजैदेखि लाग्नेछु ।’

उनले निर्वाचन शान्तिपूर्ण ढंगमा सम्पन्न गरेकोमा सम्बन्धित सबैलाई धन्यवाद पनि दिइन् । 



कास्कीमा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेल रहेका थिए । दलीय र स्वतन्त्र गरि २१ जनाले यो निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

मत परिणामअनुसार विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन् । विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन्, खेमराजले १५ हजार ९ सय ९१ मत  । 



त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरे। राप्रपाका रमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाउँदा साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गरिन् । विवेकशीलकी जमुना शर्माले मात्र ७७ मत प्राप्त गरिन् ।

  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार १९:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया