प्रधानमन्त्रीको स्वास्थ्यबारे सामाजिक सन्जालमा अनावश्यक ‘हल्ला’

काठमाडौं– आइतबार नेपालीहरुबीच सामाजिक सन्जालमा दुई विषय सबैभन्दा बढी चर्चामा रहे । पहिलो, शनिबार भएको उपनिर्वाचन पछि मध्यरातबाट नै आउन लागेको परिणामबारे । र, दोस्रो, आइतबार उद्घाटन भएको १३ औं साग खेलकुद । 

आइतबार अबेर साँझ चाहिँ सामाजिक सन्जालमा निकै छिटो अर्को एक विषय पनि फैलिएको छ । त्यो हो– प्रधानमन्त्रीको स्वास्थ्य । 

केही सामाजिक सन्जाल प्रयोगकर्ताहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य निकै बिग्रिएको कुरा सामाजिक सन्जाल ट्विटर र फेसबुकमा लेखिरहेका छन् । 

‘होइन, उहाँको स्वास्थ्य अहिले धेरै स्थिर भइसकेको छ,’ तर, उनका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भनेका छन् । 

नेपाल कम्युनिस्ट पार्टीका अर्का एक नेताले फरक धारसँग आइतबार अबेर राति कुरा गर्दै प्रधानमन्त्रीको स्वास्थ्य यसअघिको भन्दा धेरै सुधार भएको बताए । ‘हल्ला हो,’ उनले भने, ‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । केही दिनपछि उहाँ काममा फर्किनुहुन्छ ।’

ती नेताले यसो भने पनि सामाजिक सन्जालमा चाहिँ प्रधानमन्त्रीको अवस्था क्रिटिकल भएको फैलिइरहेको छ । अधिकांशले सामाजिक सन्जालमा प्रधानमन्त्रीको स्वास्थ्यको कामना गरेका छन् । यसबारे बुझ्न उनको सचिवालयका सदस्यहरुसँग टेलिफोन सम्पर्क हुन सकेको छैन ।



तर, केही अघि मात्र सामाजिक सन्जाल ट्विटरमा नै प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले अस्पतालमा नै आइप्याडमा सागको उद्घाटन हेरेको लेख्दै अस्पताललाई वाइफाइ व्यवस्था गरिदिएको धन्यवादसमेत दिएका छन् । 

प्रधानमन्त्री ओली गत साता एपेन्डिसाइटिसकाे अपरेसनका लागि अस्पतालमा भर्ना भएका थिए । चिकित्सकहरुले उनी अझै कम्तिमा पनि एक साता अस्पतालमा नै बस्ने बताएका छन् ।



 

  • प्रकाशित मिति : मंसिर १५, २०७६ आइतबार २१:२७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया