पहिले सभामुख चयन गरेर उपसभामुख शिवमायालाई राजीनामा दिन लगाउने नेकपा तयारी
उपसभामुख शिवमाया तुम्बाहाम्फे ।

काठमाडौं– संसद सचिवालयकी महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि सभामुख को बन्ने भन्ने विषयले व्यापक चर्चा पायो । 

संवैधानिक व्यवस्थाअनुसार एउटै पार्टीको सभामुख र उपसभामुख हुन नपाउने भएकाले विपक्षी दल नेपाली कांग्रेसले समेत सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्यो । तर, सभामुख अर्को पार्टीलाई दिने ‘मुड’मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छैन ।

यता, नेपाल कम्युनिस्ट पार्टीभित्र को सभामुख बन्ने भन्ने बहस बारम्बार चर्चामा आउँदै सेलाउँदै गरेको छ । कहिले नयाँ मन्त्रिमन्डल गठनका कारण त कहिले उपनिर्वाचनका कारण यो विषय ओझेलमा परेको जस्तो आभास हुन थालेको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको अपरेसन पछि अस्पतालमा भर्ना भएका छन् । त्यसैले यस विषयमा नेकपाभित्र अहिले बहस चर्किएको छैन । तर, नेकपामा सभामुख बन्ने आकांक्षी कम छैनन् । कतिपय नेताले यसबारे पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गरिरहेका पनि छन् । 

नेकपा स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस विषयमा आइतबारमात्र अस्पतालमा रहेका नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन् । 

‘उहाँहरुबीच आइतबार भेट भएको थियो,’ नेकपाका एक नेताले फरक धारलाई बताए, ‘नयाँ सभामुख चयनको विषयमा पनि उहाँहरुको कुरा भएको छ ।’

नेकपामा पूर्वमाओवादी नेताहरुले यसअघि सभामुख पूर्वमाओवादीबाट भएकाले आफूहरुले पाउनु पर्ने माग गरेका छन् । उनीहरुले देव गुरुङ, अग्नि सापकोटालगायतको नाम अगाडि सारेका छन् । यता, पूर्वएमाले प्यानलमा पार्टी एकता भइसकेकाले अब भागवन्डामा जान नहुने तर्क देखिन थालेको छ । यसअघि स्वास्थ्यमन्त्री भइसकेका खगराज अधिकारी, पहिले पनि सभामुखको अनुभव सँगालिसकेका सुवास नेम्वाङलगायतको नाम नेकपामा नयाँ सभामुखका रुपमा हेर्न थालिएको छ । 



केही अघि मन्त्रिमण्डल पुनर्गठन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई कुनै एक मन्त्रलायको जिम्मेवारी लिन अनुरोध गरेका थिए । तर, शिवमायाले उपसभामुखको पद छोडेर मन्त्री पद नलिने अडान लिइन् । उनले नमानेपछि ओली र नेकपाका शीर्ष नेताहरुबीच उनलाई सभामुखबाट कसरी हटाउने भन्ने विषयको छलफलमा जुटेका छन् । 

गत सोमबार कान्तिपुर टेलिभिजनमा प्रसारित कार्यक्रम फायर साइडमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सभामुख चयन गर्दासम्म उपसभामुखबाट शिवमायाले राजीनामा दिन नपर्ने संकेत गरेका थिए । ‘पहिले नयाँ सभामुख चयन हुन्छ,’ उनले भनेका थिए, ‘त्यसपछि बल्ल उपसभामुखको विषयमा हामी सल्लाह गर्नेछौँ । उहाँले अहिले राजीनामा दिनै पर्दैन ।’



यसको अर्थ पहिले सभामुख चयन गर्ने अनि बल्ल एउटै पार्टी भएकाले उपसभामुखलाई राजीनामा दिन लगाएर नयाँ उपसभामुख चयन गर्ने नेकपाको तयारी रहेको बुझ्न सकिन्छ । 

‘सभामुख पद अहिले नै नेकपाले गुमाउन चाहँदैन, त्यो सम्भव पनि हुँदैन,’ नेकपाका एक शीर्ष नेताले भने, ‘त्यसैले पहिले सभामुखको चयन गरौँ अनि अरु विषयमा छलफल गरौँ भन्नेबारे कुरा चलेको हो । यो स्वाभाविक हो ।’

प्रधानमन्त्री केपी शर्मा ओली चाहिँ उपसभामुख शिवमायाले अटेर गरेकाले उनलाई अब फेरि मन्त्रीको प्रस्ताव गर्ने पक्षमा छैनन् । यसअघि शिवमायालाई कानुन मन्त्रालयको जिम्मेवारी दिने तयारी ओलीले गरेको स्रोत बताउँछ । यसबीचमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पनि कानुनमा ल्याउनु पछाडि यही कारण रहेको बुझिएको छ । 

‘कानुनमा ल्याउँदा उपेन्द्रजीले सरकार छोड्नु हुन्छ होला भन्ने थियो,’ ती नेकपा नेताले भने, ‘उहाँले सरकारका छोडेको खण्डमा त्यो मन्त्रालयको जिम्मेवारी शिवमायालाई दिन सम्भव हुने थियो । तर, यादवजीहरुले सरकार छोड्नु भएन । अब शिवमायालाई मन्त्रालयमा तान्ने सम्भावना पनि कम हुन थालेको छ ।’

  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १५:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया