[विचार] रवीन्द्र मिश्र, मिलन पाण्डेः राजनीति छोड, राजीनामा देउ

७ मे २०१५ मा भएको निर्वाचनमा बेलायतमा डेभिड क्यामरुनले फेरि एकपटक प्रधानमन्त्रीका लागि निर्वाचित भए । त्यति बेला बेलायतको पत्रिका ‘द सन’ले पहिलो पानमा ठूला अक्षरमा डेभिड क्यामरुनलाई बेलायती महारानी एलिजावेथसँग उभिएको फोटो राख्दै समाचार बनाएको थियो– आइ एम ब्याक योर मेजेस्टी । 

क्यामरुनले यो दोस्रो कार्यकाल एक सर्तमा जितेका थिए । उनले यो कार्यकालमा जनमतसंग्रह गराउने वाचा बेलायती जनतासामु गरेका थिए–युरोपेली युनियनबाट बेलायत छुट्टिने कि नछुट्टिने भन्ने विषयमा । 

यो जनमतसंग्रहमा उनले लिएको अडान थियो– बेलायत युरोपेली युनियनबाट छुट्टिनु हुँदैन । तर, निर्वाचनमा बेलायतमा उनको प्रस्ताव, योजना र सपनालाई जनताले अस्वीकार गरिदिए । ५२ प्रतिशत मत बेलायत युरोपेली युनियनबाट छुट्टिनु पर्छ प्रस्तावमा पर्यो । 

निर्वाचनको नतिजा आएको दिन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन महारानी एलिजावेथकहाँ पुगे । त्यो शुक्रबारको दिन थियो, २४ जुन २०१६ । अनि राजीनामा दिए । 

६ वर्ष बेलायतको प्रधानमन्त्री भएका क्यामरुनले प्रधानमन्त्री पदबाट मात्र राजीनामा दिएका थिएनन्, पार्टी नेताबाट पनि राजीनामा दिएका थिए । उनले त्यति बेला भनेका थिए– बेलायती जनताको चाहना त्यस्तो निर्देशन हो जसलाई हामीले डेलिभर गर्नैपर्छ । 

केही महिनाअघि भारतमा लोकसभा निर्वाचन भयो । निर्वाचनमा भारतीय जनता पार्टीले ३ सय सिटमा जित दर्ज गरेको थियो । गान्धी स्वयंले उत्तर प्रदेशमा गान्धी परिवारको किल्ला मानिएको अमेठीबाट आफूलाई निर्वाचित गर्न सकेनन् । 



क्यामरुनको सिको भारतीय कांग्रेसका नेता राहुल गान्धीले गरे या गरेनन्, उनले पनि भारतमा यही वर्ष भएको निर्वाचनमा पार्टीले व्यहोरेको हारपछि राजीनामा दिने मुड बनाए । पार्टीमा उनले आफू अब अध्यक्ष नरहने भएकाले नयाँ अध्यक्ष चयन गर्नमात्र भनेनन्, सामाजिक सन्जाल ट्विटरमा चार पाने लामो राजीनामा पत्र पनि राखे ।

नेपालमा जब जब विदेशी नेताहरुले यसरी नैतिकताको आधारमा राजीनामा दिन्छन्, सामाजिक सन्जालमा यसलाई निकै ठूलो बहस बनाइन्छ । नेपाली नेताहरुको नाम जोडिन्छ र राजीनामा माग गरिन्छ ।



नामै नसुनिएको देश सेन्ट किट्स एन्ड नेभिसका मन्त्रीले साइकल चढेको विषयमा होस् या कुनै कुरामा असफल भएपछि राजीनामा दिएको विषय नै किन नहोस्, नेपालका सामाजिक सन्जालका प्रयोगकर्ता यस्ता समाचार तात्तातै सेयर गर्छन् । न्युज सेयरले एउटा राम्रो मार्केट यहाँ स्थापित हुन्छ ।

उदाहरणमा विश्वको कुनै एउटा कुनामा एउटा नेताले गरेको कुनै एउटा कामको चर्चा यहाँ सुरु भइहाल्छ । त्यसलाई अझ प्रश्रय आफूलाई वैकल्पिक राजनीतिको सुरुवाती खम्बा मान्नेहरुले दिइरहेका हुन्छन्, सेयर गरौँ भन्ने अनुरोधका साथ आफ्ना सामाजिक सन्जालमा त्यस विषयमा लेखिरहेका हुन्छन् । 

तर, नैतिकताको विषयमा अरुलाई पाठ पढाउने वैकल्पिक राजनीतिको वकालत गरिरहेका उनीहरु आफैं कति नैतिक धरातलमा छन् त ? यो प्रश्न उनीहरुलाई कसले सोध्ने ? यो प्रश्नको उत्तर उनीहरुबाट कहिले र कसरी अपेक्षा गर्ने ? 

गत शनिबार ५२ विभिन्न पदका लागि उपनिर्वाचन भयो । लगभग सबै पदको नतिजा आइसकेको छ । एक दुई ठाउँबाहेक अधिकांश ठाउँमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसबीच नै प्रतिस्पर्धा देखियो । राजनीतिमा नयाँ संस्कार बसाउन हामी आएका हौँ भन्ने दलहरुले उनीहरुको संस्कार बुझेनन् वा उनीहरुले त्यो नयाँ संस्कार भनेको के हो भन्ने बुझाउन सकेनन्, जनताले उनीहरुलाई अनुमोदन गरेनन् । पछिल्लो समय सुसँस्कृत राजनीतिको उद्घोष गरिरहेका दुई दल हुन्, साझा पार्टी र विवेकशील नेपाली दल । यी दुई दलले यो उपनिर्वाचनमा जहाँजहाँ उम्मेदवारी दिएका थिए, ती ठाउँमा सदर भएका मतको एक प्रतिशत पनि मत ल्याउन सकेका छैनन् ।

प्रतिनिधि सभाका लागि निर्वाचन भएको एक मात्र स्थान कास्की २ मा दुवै साझा पार्टी र विवेकशील नेपाली दलका उम्मेदवारले ल्याएको मत जोड्दा ११ सय पनि पुग्दैन । अरु ठाउँमा पनि उनीहरुले पाएको संयुक्त मत जोड्ने हो भने एक हजार पनि पुग्दैन । 

यसले प्रष्ट देखाउँछ, विवेकशील नेपाली र साझा पार्टीले आफूलाई जसरी प्रस्तुत गरिरहेका छन्, त्यसलाई जनताले विश्वास गरेका छैनन् । उनीहरुले आफूहरुलाई वैकल्पिक राजनीतिक शक्ति भनिरहेका छन्, तर उनीहरु वैकल्पिक राजनीतिक शक्ति हुन् भन्ने विश्वास जनताले गर्न सकेका छैनन् । केही ठाउँमा मात्र भएको यो निर्वाचन त्यसको छनक हो ।

यो निर्वाचनको परिणामले पक्कै पनि अब यी दुई पार्टीलाई आन्तरिक छलफलमा केन्द्रित गराउने छ, उनीहरुका समीक्षा र नयाँ अभियानका विषयले अब विस्तारै चर्चा पाउन थाल्छ । 

तर, के यी नैतिकताको पाठ पढाइरहेका यी दुई पार्टीका नेता, कार्यकर्ता तथा अभियन्ताले आफ्नो नेतृत्व परिवर्तन गर्नु पर्ने रहेछ भन्ने पाठ सिक्ला ? कि औपचारिक तथा अनौपचारिक कार्यक्रममा उनीहरुले अरु नेपाली दलको नेतृत्वमाथि उठाइरहेको प्रश्न अब सेलाउनु पर्ला ? 

विदेशबाट नेपाल फर्काएर आफ्नो राजनीतिक अभियानमा जोडिए भन्दै गर्व गर्न मन पराउने साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले के यो निर्वाचनको हार आफ्नो कमजोरी हो भने स्वीकार गर्न सक्ने नैतिकता राख्छन् ? राख्दैनन्, किनकि उनले हिजो कास्कीको परिणाम आएलगत्तै सामाजिक सन्जालमा त्यहाँका मतदातामाथि प्रश्न उठाए, त्यहाँका मतदाताको कमजोरीका कारण आफ्नो पार्टीकी उम्मेदवारले कम भोट ल्याएको तर्क गरे । 

तिनै रवीन्द्र मिश्र हुन्, जो केही महिना पहिले उनको पार्टीमा नेपाली कांग्रेसबाट प्रवेश गरेकी रजनी केसीलाई स्वागत गर्दै पुलकित भएको स्टाटस लेखिरहेका थिए । तिनै रवीन्द्र मिश्र हुन्, जो बारम्बार कुनै नेताको गल्तीलाई उद्धृत गर्दै उनीहरुको राजीनामा माग गरिरहेका हुन्छन् । र, त्यसमा उनले जोडेका पनि हुन्छन्– नैतिकताको आधारमा राजीनामा किन नदिने ? 

केहीअघि मात्र विवेकशील नेपाली दलको अध्यक्षमा निर्वाचित भएका मिलन पाण्डे नै हुन्, जो बारम्बार सामाजिक सन्जालमा लेखिरहेको हुन्छन्– नेपाली राजनीतिक दलका नेताले किन राजीनामा दिँदैनन् ? उनी तर्क गरिरहेका हुन्छन्– राजनीतिबाट सजिलै छुट्टिने संस्कार बनाउन नसकेसम्म राजनीति सुसँस्कृत हुन सक्दैन, नेता परिणाममुखी हुन सक्दैनन् ।

यी दुवैले कहिल्यै आफूहरु पनि राजनीतिको त्यही गोरेटोमा छु भन्ने सोचेनन् जब उनीहरुले यसअघि अरु पार्टीका नेतामाथि गाली गर्न असभ्य शब्दहरुको प्रयोगलाई समेत प्रोत्साहन गरिरहे ।

तर, अब यी दुवै दलले ल्याएको निर्वाचनको परिणामले देखाएको छ, यी दुवैको नेतृत्व खासमा सफल रहेनछ । यी दलले यही चुनावमा उठाएका उम्मेदवारले जित्नु पर्छ भन्ने होइन, तर उनीहरुले जुन सन्देश जनतालाई दिन खोजिरहेका छन्, त्यसबाट एउटा सम्मानजनक मत उनीहरुले ल्याउनु पथ्र्यो ।

तर, आशा गरेअनुरुप नतिजा आउन सकेन । उनीहरु डेलिभरीमा चुके, उनीहरुको नेतृत्व असफल भयो । यसले प्रश्न उठाएको छ– के उनीहरुले आफ्ना कार्यकर्ता, आफ्ना नेता तथा आशा बाँडेका जनतासामु आफू फेलियर भएको भन्दै राजीनामा दिनु पर्दैन ?

के उनीहरुले पढाइरहेको नैतिकताको पाठ आफूमा देखाउनु पर्दैन ? कि यी दलमा उनीहरुबाहेक अरु नेतृत्व गर्न सक्षम छैनन् ? 

साझा र विवेकशीलका कार्यकर्ताले कहिले प्रश्न गर्नेछन्, आफ्ना अध्यक्षहरुलाई ? कहिले भन्नेछन्– रवीन्द्र मिश्र, राजीनामा देउ, मिलन पाण्डे, राजीनामा देउ ? 

  • प्रकाशित मिति : मंसिर १६, २०७६ साेमबार १८:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया