काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष दिइए पछिको यो पहिलो बैठक हो ।
बैठकले उपनिर्वाचन भएका ५२ वटा क्षेत्रको परिणामको समीक्षा गरेर रिपोर्ट पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा चुनावी रिपोर्ट पेश गर्ने निर्देशन दिनमा सबैको सहमति भएको हो । उनले अर्को सचिवालय बैठक २३ मंसिरमा बस्ने पनि जनाएका छन् ।
उपनिर्वाचनमा नेकपाको लालकिल्ला मानिएको धरानमा भएको पार्टीको पराजयको विषयमा सचिवालय सदस्यहरुले विशेष चासो राखेका थिए । त्यस्तै, भक्तपुरमा नेकपा पराजित हुनुको कारणबारे पनि सचिवालय बैठकमा कुरा उठेको एक सविचालय सदस्यले फरक धारलाई जानकारी दिए । ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले प्रतिनिधिसभा सहित ३० ठाउँमा जित हासिल गरेको छ । तर, यसपटक नेकपाले यी ठाउँहरुमा यसअघि ल्याएको मतभन्दा कम ल्याएको छ । यो विषयमा पनि गम्भीर हुनु पर्ने नेकपा बैठकले निष्कर्ष निकालेको छ ।
बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।