राजपासँग एकता भएपछि समाजवादीले सरकार छाड्ने

काठमाडौं– समाजवादी पार्टीले राजपासँगको एकता टुङ्ग्याउनका लागि गृहकार्यलाई अझ रफ्तारमा अगाडि बढाएको छ । राजपाले समाजवादीसँग एकता गर्न राखेको सरकार छाड्नु पर्ने सर्तलाई समेत सम्बोधन गर्दै समाजवादी पार्टीका नेताहरु अगाडि बढ्न थालेका छन् । समाजवादी पार्टीका एक नेताका अनुसार राजपासँग सैद्धान्तिक सहमति भइसकेको छ । 

‘राजपासँग एकीकरण गर्न अध्यक्ष उपेन्द्र यादवले राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भइसकेको छ,’ समाजवादी पार्टीका एक नेताले भने, ‘त्यसैले अब ढिलो चाँडो यो एकताको घोषणा हुन्छ ।’ उनले राजपासँग समाजवादी पार्टीका अधिकांश कुराहरु मिलिसकेको पनि बताए । 

तर, अहिलेसम्म समाजवादी पार्टीलाई राजपा एकतामा उसले सरकार छाड्नु पर्ने सर्त वाधा बनिरहेको छ । समाजवादी पार्टी अहिले सरकार छाड्ने पक्षमा नभएकाले पनि यी दुई पार्टीबीच एकता सुस्त बनेको हो । 

उता, राजपाका ६ अध्यक्षमध्ये अधिकांश एकताका लागि तयार भएका छन् । राजपाले समाजवादीले सरकार छोडेको भोलिपल्टै एकता घोषणाका लागि आफूहरु तयार रहेको सन्देश समाजवादी पार्टीमा पठाएका छन् । समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच भने केही बुँदामा यो एकताबारे कुरा मिलेको छैन । समाजवादी पार्टीका एक नेताका अनुसार यो एकता धेरै पछाडि धकेल्न नहुनेमा डा. भट्टराई छन् । यादव भने पार्टी एकतापछि आफ्नो भूमिकालाई लिएर सशंकित छन् । 

‘राजपामा ६ अध्यक्ष भएकाले त्यसलाई कसरी म्यानेज गर्ने भन्नेमा पनि द्विविधा छ,’ समाजवादी पार्टीका ती नेताले भने, ‘एकता लगत्तै महाधिवेशनसम्म यसलाई म्याजेन गर्ने कुरा पनि चुनौतिका रुपमा रहेको छ ।’

त्यस्तै, संविधान संशोधनको विषयमा पनि राजपा र समाजवादी पार्टीबीच एकमत भइसकेको छैन । तर, पार्टीको सिद्धान्त समाजवादी लोकतन्त्र भन्ने राजपाले स्वीकार गरिसकेको छ । 



पार्टीको नाम र झन्डाबारे समेत टुङ्गो लागिसकेको ती नेताले दाबी गरे । ‘खासमा अड्किएको चाहिँ नेतृत्वबारे टुङ्गो नलागेकाले हो,’ उनले भने, ‘समाजवादी पार्टीले पहिले राजपालाई नेतृत्व टुङ्ग्याएर आउन भनिसकेको छ ।’

समाजवादी पार्टी र राजपाका नेताबीच पछिल्लो समय भएका भेटघाटमा एकता पछि समाजवादी पार्टीले सरकार छाड्ने समझदारी पनि भइसकेको छ । ‘एकता भएपछि पार्टीले नै निर्णय गरेर सरकार छाड्ने विषयमा अगाडि बढ्ने सहमती भइसकेको छ,’ ती नेताले भने । 



  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार १०:१२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया