काठमाडौं– नेपाल टेलिकमले ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ योजना ल्याएको छ । जसअन्तर्गत चाहेको व्यक्तिलाई भ्वाइस तथा डाटा सेवा उपहारस्वरूप प्रदान गर्न सकिने बताइएको छ ।
सो योजनामा सहभागी हुन एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्नुपर्नेछ ।
एप डाउनलोड गरेपछि ‘रजिस्टर’मा क्लिक गरी एपमा माग गरेअनुसार विवरण राखेपछि लगइन हुन्छ । लगइन गरेपछि मोबाइलमा आएको कोड राखेपछि मात्रै कम्पनीको एप प्रयोग गर्न सकिनेछ ।
डाटा सेवा उपहारस्वरूप दिन चाहनेले एप खोली गिफ्ट प्याकेज्समा गएर आफूले चाहेको प्याक खरिद गरी पठाउन सकिनेछ । कम्पनीले दिएको प्याकेजअन्तर्गत १२ रुपैयाँमा २४ घन्टासम्म २८ एमबी डाटा, ३० रुपैयाँमा ३ दिन चलाउन मिल्ने ९० एमबी, ६० रुपैयाँमा ७ दिनको १९० एमबी र १०० रुपैयाँको ५०० एमबी तथा २४० रुपैयाँको २८ दिन चलाउन सकिने १५०० एमबी डाटा उपहार दिन सकिनेछ ।
उपहार दिनका लागि क्लिक टु सब्सक्राइब गरेपछि दिन चाहेको मोबाइल नम्बर लेखी पठाउनुपर्ने बताइएको छ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, एपको गिफ्ट प्याकेज्समा गई भ्वाइस क्लिक गरी २५ रुपैयाँमा एक दिनका लागि ४० मिनेट, १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी १९० मिनेट तथा २ सय ४० रुपैयाँमा २८ दिनको लागि ४९० मिनेट एवं ५ सय रुपैयाँमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट उपहारसमेत दिन सकिनेछ ।
योजनामा लाग्ने शुल्क भने उपहार दिनेको मोबाइलबाट काटिने कम्पनीले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।