अभिभावकलाई मेडिकल कजेजको धम्की : छोराछोरीलाई परीक्षा दिन लगाउनू, नत्र फेल गरेर घर पठाइदिन्छौँ

काठमाडौं– पाँचवटा मेडिकल कलेजका विद्यार्थीहरुले एमबिबिएस पहिलो वर्षको परीषा सामूहिक बहिस्कार गरेका छन् । कलेजले आफूहरुबाट अवैधानिक रुपमा लिएको शुल्क फिर्ताको माग गर्दै युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र नेसनल मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन् ।

विद्यार्थीहरुले बिहीबारदेखि हुन लागेको परीक्षाको प्रवेश पत्र पनि लिएनन् । ‘बुधबारसम्म प्रवेश पत्र लिने म्याद थियो, तर हामी कोही पनि प्रवेश पत्र लिनै गएनौँ ।’ नेसनल मेडिकल कलेज वीरगन्जको पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले फरकधारसँगको कुराकानीमा भने । 

शिक्षा मन्त्रालयले मेडिकल कलेज सञ्चालकहरूलाई अवैध रुपमा लिएको पैसा फिर्ता गर्न मंसिर १० गतेसम्मको अन्तिम म्याद दिएको थियो । विद्यार्थीबाट बढी लिइएको शुल्क समायोजन गरेर फिर्ता गर्ने सहमति शिक्षा मन्त्रालय र मेडिकल कलेजसञ्चालक बीच भएको थियो । तर, त्यो सहमति आफूहरुलाई मान्य नहुने भन्दै विद्यार्थीहरुले आवाज उठाउँदै आएका थिए । 

‘सरकार र कलेज सञ्चालकबीच भएको सहमति हामीलाई मान्य छैन,’ उनले भने, ‘हामीबाट बढी लिइएको सम्पूर्ण पैसा फिर्ता हुनुपर्छ । पैसा नपाउँदासम्म हामीहरु परीक्षा बहिस्कार गर्छौं ।’

यो धर्ना त्यसैको उपज भएको उनले बताए । कलेजले आफूहरुको घरमा फोन गरेर अभिभावकलाई डर–त्रास देखाइरहेको उनले बताए । ‘हाम्रो घरमा कलेजले फोन गरेर डर–त्रास देखाइरहेको छ,’ उनले भने, ‘कलेजले फोन गरेर आफ्ना बच्चालाई परीक्षा दिन लगाऊ, नत्र फेल गराएर घर पठाइदिन्छौँ भनिरहेको छ ।’



कलेजले जतिसुकै धम्की, डर–त्रास देखाए पनि आफूहरु नडराउने उनले बताए । ‘हामी विद्यार्थीहरु त सँगै छौँ नै अभिभावकहरुको पनि हामीलाई पूर्ण साथ छ । अब त उहाँहरु पनि पैसा फिर्ता गराएरै छाड्नुपर्छ भन्नेमा हुनुहुन्छ ।’



पहिलो वर्षको परीक्षा आज १० बजेदेखि थियो । नेसनल कलेजका विद्यार्थीहरु बिहान ६ बजे नै होस्टलबाट निस्किएर परीक्षा बहिस्कार गर्न गएका थिए । करिब एक सयजनाको समूहमा उनीहरु बिहान १० बजेदेखि नेसनल मेडिकल कलेजबाहिर धर्नामा बसेका थिए । उनीहरु दिउँसो साढे एक बजेसम्म धर्नामा बसेका थिए ।

जानकी कलेज प्रशासनले विद्यार्थीलाई जबर्जस्ती परीक्षा दिन लगाएको छ भने गण्डकी मेडिकलका विद्यार्थीहरू एक घन्टा परीक्षा हलमा बसेर बाहिरिएका छन् । 
‘हामीले पैसा फिर्ता नहुँदासम्म हलभित्र छिर्दै छिर्दैनौँ भनेका थियौँ,’ गण्डकी मेडिकल कलेजका एक विद्यार्थीले भने, ‘हामीलाई प्रशासनले धेरै ब्याकमेल गरेपछि हामी गयौँ, तर धेरै बेर कोही पनि बसेनौँ । एक घन्टामै सबैले प्रश्नपत्र च्यात्यौँ र बहिस्कार गरेर बाहिर आयौँ ।’

बुधबारदेखि नै सुरु भएको नर्सिङ, फार्मेसी, बिएमआइटीलगायत संकायका विद्यार्थीले पनि परीक्षा बहिस्कार गरेका छन् । 

  • प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार १३:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया