वडाध्यक्षले खोसे सञ्चारकर्मीको क्यामेरादेखि पर्ससम्म, प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

काठमाडौं– समाचार संकलनका लागि काठमाडौंबाट काभ्रेको बनेपा नगरपालिका ६ स्थित बुडवल पुगेका आधा दर्जन सञ्चारकर्मीमाथि वडाध्यक्ष सचिदानन्द केसीले आक्रमण गरेका छन् । 

वडाध्यक्ष केसीले मंसिर १९ गते दिउँसो समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीको माइक, क्यामेर, पर्स र औँठीसमेत लुटेको पीडितको आरोप छ ।

सञ्चारकर्मीमाथि भएको यस्तो अभद्र व्यवहारप्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ । शुक्रबार युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने जनप्रतिनिधि केसीले समाचार संकलन गर्न गएका सञ्चारकर्मीमाथि आक्रमण गर्नु आफैँमा दुर्भाग्य हो ।’

वडाअध्यक्ष केसी र उनको समूहले नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद तथा नेपाल पुकार अनलाइन टिभीका पत्रकार प्रकाशचन्द्र दाहालमाथि हातपात गर्दै माइक खोस्ने, भिडियो खिच्न अवरोध सिर्जना गरी क्यामेरापर्सन रमेश कुमारमाथि आक्रमण गरी घाइते बनाएको युनियनको आरोप छ । 

त्यसैगरी, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कार्यसमिति सदस्य रामचन्द्र दुलालको क्यामेरासमेत निज वडा अध्यक्ष केसीले खोसेर राखेको युनियनको दाबी छ । वडाध्यक्ष केसीले संकल्प खबर डटकमका सञ्चालक सिबी खड्काको पर्स र औँठीसमेत खोसी लगेको युनियनको आरोप छ । 
 
समाचार संकलनमा अवरोध पुर्याउने निज वडा अध्यक्षलाई कानुनबमोजिम कारबाही गरी प्रेस स्वतन्त्राको रक्षा गर्न तथा भयरहित वातावरणमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरणका लागि युनियनले स्थानीय प्रसाशनसँग जोडदार माग गरेको छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार १३:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया